+
+

चीन र अरब देशबीच भएको सम्झौताप्रति इरानको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १२:०६

२५ मंसिर, काठमाडौं । चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती जनाएको छ । यसबारे आफ्नो औपचारिक प्रतिक्रिया दिन इरानको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता गल्फ कोअपरेसन काउन्सिल र अरब देशका राष्ट्राध्यक्षहरुसँग भेटवार्ता गर्न साउदी अरबको राजधानी रियाद गएका थिए । त्यहाँ उनले यूएई, बहराइन, ओमान, कतार र कुवेतका राष्ट्राध्यक्षहसँग भेटवार्ता गरेका थिए । साउदी अरब भ्रमणको अन्तिम दिन १८ बुँदे संयुक्त विज्ञप्ति सार्वजनिक भएको थियो । त्यसमा अरब देशहरुप्रति अझ राम्रो साझेदारी र विवादलाई शान्तिपूर्ण रुपमा समाधानमा जोड दिइएको छ ।

चीन र साउदी अरबबीच भएको सहमति सम्झौताबारे जानकारी दिन सार्वजनिक भएको संयुक्त विज्ञप्तिमा अबु मुसा, ग्रेटर तुम्ब र लेसर तुम्बबीचसँग सम्बन्धित विवादको शान्तिपूर्ण समाधानका लागि अन्तर्राष्ट्रिय कानुनमार्फत् द्विपक्षीय वार्ताका लागि यूएईले गरेको कोसिसमा सबै देशले समर्थन गर्ने उल्लेख छ ।

अबु मुसा, ग्रेटर तुम्ब र लेसर तुम्ब तीनवटा साना द्वीपहरु हुन् । ती द्वीपहरु आफ्नो भएको दाबी इरान र यूएई दुवैले गर्दै आएका छन् ।

संयुक्त विज्ञप्ति सार्वजनिक भएपछि इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले ट्वीट गर्दै फारको खाडीमा अवस्थित ती भूभागहरु इरानकै रहेको र सधैं इरानकै रहने बताएका छन् । इरानको क्षेत्रीय अखण्डताको अरु देशहरुले सम्मान गर्नुपर्ने उनको जोड छ ।

तर यूएईले इतिहास र अन्तर्राष्ट्रिय कानुन अनुसार ती तीनवटै द्वीपमा आफ्नो हक लाग्ने दाबी गर्दै आएको छ । इरानले भने यूएईको दावीलाई विना आधारको भनेर टिप्पणी गर्दै आएको छ ।

अबु मुसा करिब १३ वर्ग किलोमिटर, ग्रेटर तुम्ब १० वर्ग किलोमिटर र लेसर तुम्ब करिब २ वर्ग किलोमिटरका द्वीपहरु हुन् । यहाँ बसोबास कम छ । तर इरानले आफ्ना सेना तैनाथ गरेको छ ।

यी तीनवटै द्वीप होर्मुजको खाडी नजिक पर्दछन् । रणनीतिक हिसाबले यी विश्वकै महत्वपूर्ण जलमार्गमध्येमा पर्दछन् । होर्मुजको खाडी हुँदै जाने सबै जहाजहरु यिनै तीन द्वीप हुँदै जाने गर्दछन् । खाडी देशहरुमा जहाजहरुको आउ-जाउ रोक्न यिनै तीनवटा द्वीपमा नियन्त्रण जरुरी हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?