+
+

पोर्चुगलको हारपछि के होला रोनाल्डोको भविष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १४:४६

२५ मंसिर, काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनलमा शनिबार अफ्रिकी टिम मोरक्कोसँग पोर्चुगलले १–० को पराजय भोग्यो ।

टिमको हारपछि पोर्चुगिज स्टार रोनाल्डो करिअरले कुन मोड लिन्छ भन्ने प्रश्न उठ्न थालेको छ ।

३७ वर्षीय रोनाल्डोको टिमले हालसम्म विश्वकप जितेको छैन । अल थुमामा रंगशालामा मोरक्कोको उत्कृष्ट प्रदर्शनसँगै यसपटकका लागि पोर्चुगलको विश्वकप यात्रा सकिएको छ ।

मोरक्कोको जीलाई मोरक्कको खेलाडी र अल थुमामा रंगशालमा मात्र होइन, पूरै अफ्रिका र अरबी राष्ट्रहरुमा उत्सवका रुपमा मनाइयो ।

यो उत्सवकोबीचमा पोर्चुगिज कप्तान रोनाल्डो आफ्नो अनुहारमा हात राखेर रोए । रंगशालाका दर्शकमा आफ्नो नजर घुमाएर एक्लै मैदान बाहिर निस्किए ।

मैदानमा मोरक्कोको खुसी खिच्ने फोटोपत्रकार त थिए नै त्यो भन्दा धेरै रोनाल्डोको भाव खिच्न फोटो पत्रकार दगुरे । रोनाल्डो भने हत्तपत्त मैदान छोडेर ड्रेसिङ रुमतिर पसे । क्यामरा, पत्रकार र फिफा कर्मचारीबाट उनी भागे ।

रोनाल्डोको लागि यो विश्वकप जित्ने सपना अधुरो रहे पनि उनको नाममा बनेको एउटा राम्रो विश्व कीर्तिमान सहित अन्त्य भएको छ । उनी विश्वकपका पाँच अलग संस्करणमा गोल गर्ने एक मात्र खेलाडी बनेका छन् । उनका लागि यस अर्थमा यो विश्वकप तितो मिठो दुवै खालको अनुभव रहनेछ ।

१९६ अन्तर्राष्ट्रिय खेलमा ११८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचीमा रहेका छन् रोनाल्डो । उनले पाँच पटक बालोन डी’ओर जितेका छन् । उनले चार पटक युरोपियन गोल्डेन बुट र सात पटक लिग टाइटल जितेका छन् ।

गत अक्टोबरमा उनले म्यानचेस्टर युनाइटेडमा रहँदै करिअरको ७०० गोल पूरा गरे । २००३ मा रियल मड्रिडबाट खेल करिअर सुरु गरेका उनका लागि उत्कृष्ट उपलब्धि हो ।

२०२२ को विश्वकप जायन्ट राष्ट्रका लागि विपरीत र अनपेक्षित नतिजाहरुको संस्करण रह्यो ।

पोर्चुगललाई हराउने मोरक्कोको टिम ।

पोर्चुगलको कुरा गर्ने हो भने कप्तान रोनाल्डोले दक्षिण कोरियासँगको हारपछि दिएको प्रतिक्रियाका कारण उनलाई अन्तिम १६ को खेलमा बेन्चमा राखियो । त्यसपछि उनले पोर्चुगललाई विश्वकपको दौडबाट बाहिर निकाल्ने धम्की दिएको समाचार पनि बाहिर आए । तर त्यसपछि भने पोर्चुगिज प्रशिक्षक र टिमले यसको बारेमा प्रष्ट पार्दै त्यस्तो केही नभएको बताएका थिए ।

शनिबार भएको मोरक्कोसँगको खेलमा पनि उनी पहिलो रोजाइमा परेनन् । पोर्चुगलका प्रशिक्षक फर्नान्डेज सान्तोष्ले उनलाई रणनीतिक कारण देखाइ बेन्चमा नै राखे ।

सान्तोषले कप्तान रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताए । ‘रोनाल्डो एक उत्कृष्ट खेलाडी हुन् । उनलाई हामीले तब मैदान छिरायौं जब हामीलाई जरुरत थियो’, सान्तोषले भने ।

रोनाल्डोले ५१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । खेलको सुरुमा कप्तानी सम्हालेका अनुभवी डिफेन्डर पेपेले उनलाई आर्म ब्यान्ड दिए । त्यसपछि खेल निकै रोमाञ्चक बन्यो । रोनाल्डोले खेलमा एक गोल पनि गर्न नसकी बाहिरिँदा कम संख्यामा रहेका पोर्चुगिज समर्थकलाई हात हल्लाएर मैदानबाट बाहिर निस्किए ।

४२ औं मिनेटमा मोरक्कोका युसुफ एन नेसरीले गरेको हेडर गोल नै मोरक्कोको जितको आधार बन्यो ।

एटलस लायन्ससँग पराजित भएपछि रोनाल्डो सिधै ड्रेसिङ रुमतिर लागे । उनका टिममेट भने समर्थकलाई धन्यवाद दिन हारको सामना गरेरै मैदानमा नै डटेर उभिइरहे ।

पोर्चुगलले घानालाई पराजित ग¥यो । समूह चरणमा उरुग्वेलाई हरायो र दक्षिण कोरियासँग २–१ ले हार्‍यो । जर्मनीमा भएको २००६ को विश्वकपमा चौथो स्थानमा रहेको पोर्चुगल त्यसपछि अन्तिम १६ बाट अघि बढ्न सकेको थिएन ।

कतार विश्वकपबाट बाहिरिएसँगै रोनाल्डोको क्लब फुटबलको भविष्य पनि अन्योलमा छ ।

प्रतियोगिताको सुरु हुने केही दिनअघि उनले म्यानचेस्टर युनाइटेड छोडेका थिए । उनले क्लबमा प्रशिक्षक एनरिक टेन हागको आलोचना गरेका थिए । पछिल्लो दश वर्षमा रोनाल्डोले मैदान बाहिर र मैदान भित्र धेरै आलोचनाको शिकार भइसकेका छन् । अब भने उनले करिअरको केही कठिन चरणहरु पार गर्नुपर्ने हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?