+
फिफा विश्वकप २०२६ :

मेस्सी र रोनाल्डोको ‘लास्ट डान्स’

२०८३ जेठ  २५ गते १५:०५ २०८३ जेठ २५ गते १५:०५

मेस्सीले २०२२ मा पाँचौ पटक विश्वकप खेल्दा ट्रफी जितिसकेका छन् । मेस्सीलाई कुनै दबाब छैन । अर्कोतर्फ रोनाल्डो यही विश्वकप ट्रफीको खोजीमा छन् । अहिलेसम्म रोनाल्डोले नजितेकै त्यही एउटा ट्रफी हो ।

मेस्सी र रोनाल्डोको ‘लास्ट डान्स’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सन् २०२६ को फिफा विश्वकपमा छैटौं पटक खेल्दै नयाँ कीर्तिमान राख्ने तयारीमा छन् ।
  • साविक विजेता अर्जेन्टिनाका मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमानभन्दा तीन गोलले मात्र पछि छन् ।
  • ४१ वर्षका पोर्चुगिज स्टार रोनाल्डो आफ्नो खेल जीवनमा पहिलो पटक फिफा विश्वकपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछन् ।

२५ जेठ, काठमाडौं । दुई दशकसम्म विश्व फुटबलमा एकछत्र राज । क्लब फुटबलदेखि राष्ट्रिय फुटबलसम्म व्यक्तिगत अवार्ड देखि गोलको कीर्तिमानसम्म ।

अर्जेन्टाइन सुपर स्टार लियोनल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले दुई दशक विश्व फुटबलमा राज नै गरे भन्दा कुनै अन्यथा नहोला । मैदानमा यी दुई खेलाडीको जादु हेर्न पाउनु वर्तमान पुस्ताका फुटबल समर्थकहरू पनि निकै भाग्यमानी रहे ।

यी दुई स्टारले युरोपको लिगमा सम्भव भएसम्म सबै जिते । अनि दुवै खेलाडी हाल युरोप छाडेर अन्यत्रै लिग खेलिरहेका छन् । मेस्सी सन् २०२३ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर अमेरिकाको मेजर लिग सकर टिम इन्टर मायमीमा अनुबन्ध भएका थिए र हाल त्यही खेलिरहेका छन् । रोनाल्डो भने म्यानचेस्टर युनाइटेड छाडेर साउदी प्रो लिग खेलिरहेका छन् ।

दुई दशक देखि नै मेस्सी र रोनाल्डोमा को सर्वोत्कृष्ट भन्ने बहस चलिरह्यो । कसैले मेस्सी त कसैले रोनाल्डोको पक्ष लिए । करियर अघि बढ्दै जादा उनीहरूले गोलको कीर्तिमान राख्दै गए । पुराना कीर्तिमान भंग हुँदै गयो । व्यक्तिगत उपलब्धि देखि क्लबमा अनि राष्ट्रिय टिमबाट समेत उपाधिहरू जिते ।

सन् २००६ मा पहिलो पटक फिफा विश्वकप खेल्दा मेस्सी र रोनाल्डो नयाँ स्टारको रुपमा उदाएका थिए । अहिले सन् २०२६ मा फिफा विश्वकप सुरु हुन लाग्दा पनि यी दुई सुपरस्टार खेलाडीको चर्चा नगरी अपुरो हुन्छ ।

यी दुवैले लगातार पाँच विश्वकप खेलिसकेका छन् । मेस्सीले पाँचै विश्वकपमा असिस्ट गर्ने कीर्तिमान बनाउँदा रोनाल्डोले पाँचै विश्वकपमा गोल गर्ने कीर्तिमान बनाइसकेका छन् ।

मेस्सी र रोनाल्डोको लागि यो अन्तिम विश्वकप हो । दुवै स्टार अर्को नयाँ कीर्तिमान नजिक छन् छैटौं पटक विश्वकप खेल्ने । यसअघि कुनै पनि खेलाडीले यो उपलब्धि हासिल गर्न सकेका छैनन् ।

यस पटक मेस्सी साविक विजेताको रुपमा हुनेछन् । मेस्सीले २०२२ मा पाँचौ पटक विश्वकप खेल्दा ट्रफी जितिसकेका छन् । मेस्सीलाई कुनै दबाब छैन ।

अर्कोतर्फ रोनाल्डो यही विश्वकप ट्रफीको खोजीमा छन् । अहिलेसम्म रोनाल्डोले नजितेकै त्यही एउटा ट्रफी हो ।

करियरको ४१ वर्षमा पनि उस्तै लयमा रहेका रोनाल्डोको टिम पोर्चुगल पनि विश्वकप जित्ने दाबेदार टोलीको रुपमा चर्चा भइरहेको छ ।

अघिल्लो पटक मेस्सीले जितेजस्तै यस पटक रोनाल्डोले नै विश्वकप जितून् भन्ने धेरैको कामना पनि छ ।

उपाधि रक्षाको अभियानमा मेस्सी ?

विश्वकपकै दौरान ३९ वर्ष लाग्ने मेस्सी यस पटक विश्वकपमा कुनै पनि दबाब बिना उत्रँदैछन् । चार वर्षअघि कतारमा विश्वकपको उपाधि जितेपछि मेस्सीले आफ्नो करियरलाई नै पूर्ण बनाइसकेका छन् । तर मेस्सीले त्यो उपलब्धिलाई फेरि रक्षा गर्दै लगातार दोस्रो पटक विश्वकप ट्रफी जित्न चाहन्छन् ।

अर्जेन्टिनाले अहिले एक मात्र लक्ष्य ने उपाधि रक्षा गर्नु हो र ६४ वर्षपछि लगातार दोस्रो पटक विश्वकप जित्ने टिम बन्ने अभियानमा छ अर्जेन्टिना ।

यसअघि इटाली र ब्राजिलले मात्र लगातार दुई पटक विश्वकप जित्ने उपलब्धि बनाएका छन् । इटालीले सन् १९३४ र १९३८ तथा ब्राजिलले सन् १९५८ र १९६२ को विश्वकप लगातार जितेका थिए ।

यस पटक मेस्सीका लागि धेरै दबाब नभएपछि उपाधि रक्षा गर्ने लक्ष्यसहित मेस्सी विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने लाइनमा छन् । विश्वकपमा सर्वाधिक २६ खेल खेलेर कीर्तिमान बनाइसकेका मेस्सी सर्वाधिक गोल गर्नेमा जर्मनीका मिरोस्लाभ क्लोज भन्दा ३ गोलले मात्र पछि छन् ।

मेस्सीले १३ गोल गरिसकेका छन् र २०२६ को विश्वकपमा थप ३ गोल गरेमा बराबरी हुनेछ । यदि मसीले ४ गोल गरेमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नो नाममा लेखाउनेछन् ।

उनले अर्जेन्टिनाका लागि सर्वाधिक १९८ खेल खेल्दै ११६ गोल गरिसकेका छन् । मेस्सी २०० खेल नजिक छन् भने सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् ।

मेस्सीले सन् २००६ मा विश्वकपमा डेब्यू गर्दै लगातार पाँच पटक विश्वकप खेलेका छन् । मेस्सीले ५ विश्वकपमा कुल २६ खेल खेलेका छन् र फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान नै आफ्नो नाममा लेखाउने छन् ।

साथै मेस्सीले सन् २०२२ मा कतारमा भएको विश्वकप जित्दै आफ्नो करियरलाई पूर्ण बनाएका छन् भने उनले दुई पटक उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल समेत जितेका छन् ।

२०२२ मा उनले विश्वकप सहित उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । यस्तै ७ गोल गरेका मेस्सीले शिल्भर बल जितेका थिए । फ्रान्सका केलिएन एमबाप्पे (८) भन्दा मेस्सीले एक गोलले मात्र पछि परका थिए ।

यस्तै मेस्सीले विश्वकपमा अहिलेसम्म १३ गोल गरिसकेका छन् र उनी सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजभन्दा ३ गोलले मात्र पछि छन् । २०२६ को विश्वकपमा उनले थप ४ गोल गरेमा उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।

मेस्सीले सन् २००६ को विश्वकपमा ३ खेल खेल्दै १ गोल गरेका थिए भने २०१० मा ५ खेल खेल्दा कुनै गोल गर्न सकेनन् । यस्तै सन् २०१४ मा ब्राजिलमा अर्जेन्टिनालाई फाइनल पुर्‍याएका उनले ७ खेलमा ४ गोल गर्दै गोल्डेन बल समेत जिते ।

सन् २०१८ मा रुसमा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्दा ४ खेल खेल्दै १ गोल गरे । सन् २०२२ को कतार विश्वकप भने मेस्सीको लागि सबैभन्दा सम्झनलायक विश्वकप बन्यो । उनले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि जिताउने क्रममा ७ खेल खेल्दै ७ गोल नै गरे भने विश्वकप ट्रफी र गोल्डेन बल अवार्ड दुवै जिते ।

मेस्सीको अर्जेन्टिनाले जुन १६ मा कान्सास सिटीमा अल्जेरिया विरुद्ध खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

तर पछिल्लो समय चोटसँग पनि जुध्दै आएका मेस्सी विश्वकपका लागि पुर्ण रुपमा फिट हुन संघर्षरत छन् । उनले बायाँ खुट्टाको ह्याम्ट्रिङको मांशपेशीमा समस्या भएपछि होन्डुरस विरुद्ध पछिल्लो मैत्रीपुर्ण खेल खेलेनन् । अब अर्जेन्टिनाले विश्वकपअघि अन्तिम तयारी खेल जुन १० मा अइसल्यान्डसँग खेल्नेछ ।

विश्वकपका लागि रोनाल्डोको अन्तिम प्रयास

क्रिस्टियानो रोनाल्डो अर्थात ‘सीआर सेभेन’ नाम नै काफी छ । ४१ वर्षको उमेरमा पनि उस्तै जोश, उस्तै मिहिनेत अनि गोल गर्ने उस्तै शक्ति । प्रोफेसनल फुटबलमा दुई दशक भन्दा लामो समय लगातार उस्तै लयमा रहनु चानचुने कुरा होइन । अझ रोनाल्डोको त्यो सेलेब्रेसन । विश्वभरका कुना कुनामा चर्चामा छ ।

रोनाल्डोले युरोपमा पोर्चुगललाई युरोकप र नेसन्स लिगमा च्याम्पियन बनाइसकेका छन् । उनले क्लब फुटबलमा इंग्ल्यान्ड, स्पेन र इटलीको लिग जितिसकेका छन् । एसियाको लिगमा जमिरहेका रोनाल्डोले भर्खरै साउदी प्रो लिगमा अल नासरबाट पहिलो लिग उपाधि पनि जिते ।

रोनाल्डो प्रोफेसनल करियरमा १ हजार गोलको नजिक पनि छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ ।

अनि एउटा मात्र मिसिङ अर्थात जित्न बाँकी ट्रफी भनेको फिफा विश्वकप उपाधि हो । रोनाल्डोले आफ्नो ट्रफी क्याबिनेटमा हेर्दा पनि त्यो नहुँदा अपुरो देखिन्छ । त्यही पुरा गर्ने लक्ष्यका साथ उमेरले चार दशक पार गर्दा पनि रोनाल्डो उस्तै जोशका साथ विश्वकप खेल्न तयार छन्। मेस्सी जस्तै उनी पनि छैटौं पटक विश्वकप खेल्दैछन् । चार दशक पार भइसकेकोले रोनाल्डोको लगभग यही विश्वकप अन्तिम हुनेछ र यस पटक जसरी पनि च्याम्पियन बनेर उनी करियरलाई पुर्ण बनाउन चाहन्छन् ।

रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगलको लागि २२६ खेल खेल्दै सर्वाधिक १४३ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय खेलम पनि १५० गोल नजिक छन् ।

उनले लगातार पाँच विश्वकपमा गोल गर्दे युनिक रेकर्ड पनि बनाएका छन् । सन् २००६ मा डेब्यू विश्वकपमै चौथो हुनु विश्वकपमा रोनाल्डोको लागि उत्कृष्ट नतिजा हो ।

यस्तै म्यानेजर रोबर्टो मार्टिनेजको प्रशिक्षण अवधिमा पनि रोनाल्डो लयमा छन् र उनको प्रशिक्षणमा २५ गोल गरिसकेका छन् । उत्तर अमेरिकामा विश्वकप खेल्नुअघि रोनाल्डो उस्तै लयमा छन् । चिली विरुद्ध २-१ को जितसहित पोर्चुगलले विश्वकपमा आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ ।

समुह के मा रहेको पोर्चुगलले १७ जुनमा ह्युस्ट टेक्सासमा डीआर कंगोसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।

रोनाल्डोले विश्वकपमा अहिलेसम्म २२ खेल खेलिसकेका छन् भने ८ गोल गरेका छन् ।

सन् २००६ को डेब्यु विश्वकपमै उनले ६ खेल खेल्दै १ गोल गरेका थिए । यस्तै सन् २०१० मा दक्षिण अफ्रिकामा उनले ४ खेल खेल्दा १ गोल गरे । २०१४ मा पोर्चुगल समुह चरणबाटै बाहिरिँदा रोनाल्डोले ३ खेल खेल्दै १ गोल मात्र गरे ।

सन् २०१८ मा रूसमा भएको विश्वकपमा भने रोनाल्डोले ४ खेल भने । उनले स्पेन विरुद्ध ह्याट्रिकसहित यस संस्करणमा ४ गोल गरे । यस्तै सन् २०२२ मा कतारमा भएको विश्वकपमा रोनाल्डोले ५ खेल खेल्दा १ गोल मात्र गरे ।

सन् २००६ मा पहिलो पटक विश्वकप खेल्दा नै पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । तर त्यसपछि भने पवर्चुगल क्वाटरफाइनल भन्दा अघि बढ्न सकेको छैन । यस पटक रोनाल्डो अन्तिम पटक विश्वकप खेल्ने क्रममा छन् र रोनाल्डोका समर्थक देखि फुटबल फ्यानहरू पनि रोनाल्डोले विश्वकप जितून् भन्ने कामना गरिरहेका छन् । त्यो चाहना पुरा हुन्छ कि हुँदैन त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

रोनाल्डो यस पटक विश्वकप खेल्ने बुढा खेलाडीको सूचीमा छन् । उनले पनि मेस्सीले जस्तै सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यू गरेका थिए । । तर वर्तमान युगमा मेस्सी र रोनाल्डो दुई स्टार फुटबलरको रुपमा रहेपनि उनले विश्वकप उपाधि भने जित्न सकेका छैनन् ।

अन्तिम स्क्रिप्ट : के मेस्सी र रोनाल्डो विश्वकपमा आमने सामने होलान् ?

अहिलेसम्म दुवैले पाँच पटक विश्वकप खेलिसकेका छन् । तर विश्व फुटबलका यी दुई स्टार अहिलेसम्म विश्वकपमा भेट भएका छैनन् । के अन्तिम पटक विश्वकपमा यी दुई खेलाडी आमने सामने होलान् त ? समर्थकहरूका लागि यो अर्को कौतुहलताको विषय बनेको छ ।

यस पटक टिम संख्या बढेर ४८ पुग्नु र नकआउट राउण्डको फर्म्याटले गर्दा यी दुई स्टारको भेट कतै हुने गणितिय सम्भावना भने कायम छ । यदि दुवैले आफ्नो समूहको विजेता बनेर नकआउट चरण प्रवेश गरेमा भने यी दुई खेलाडी आमनेसामने हुने सम्भावना छ ।

यदि विश्वकपमा मेस्सीको अर्जेन्टिना र पोर्चुगलको भेट भए विश्वभरका फुटबल समर्थकका लागि त्यो ऐतिहासिक र प्रतिक्षित खेल समेत हुनेछ ।

क्रिस्टियानो रोनाल्डो लियोनल मेस्सी
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय