+
+

वर्ष २०२२ मा विदेशमा नेपाली पप-कल्चर : ‘कबड्डी ४’को रेकर्डदेखि कान्सको जितसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १२:५५
कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त

काठमाडौं । अंग्रेजी वर्ष २०२२ बिदाइको संघारमा छ ।  यस वर्षलाई कोरोना महामारीको त्रासदीलाई भुल्दै लयमा फर्किन लागेको वर्षको रुपमा लिन सकिन्छ ।

दुई वर्ष आइसोलेसन र क्वारेन्टिनमा बसेको नेपाली पप-कल्चर (फिल्म, संगीत, नाटक) विस्तारै लयमा फर्कंदैछ । नेपाली मात्र होइन, विश्व पप-कल्चरले नै यस वर्ष ठूलै राहत महसुस गर्‍यो ।

वर्ष २०२२ लाई जीवनलाई लयमा फर्काउने वर्षको रुपमा लिन सकिन्छ । अर्को अर्थमा भर्चुअलबाट भौतिक दुनियाँतर्फ फर्किएको मीठो समय । विश्वकप फुटबल, ओस्कार समारोह, कान्सजस्ता ठूला फेस्टिभल भौतिक रुपमै भए ।

तर यहाँ हामीले वर्ष २०२२ मा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फिल्म, संगीत, नाटक र पप-कल्चरका गतिविधि कस्ता रहे भन्ने कुराको संक्षिप्त चर्चा गर्नेछौं । यस वर्ष नेपाली फिल्म र संगीतको लागि ठूलै राहत महसुस भएको छ ।

कबड्डी ४’ले राख्यो विदेशमा कीर्तिमान

नेपाली फिल्म कबड्डीको चौथो श्रृंखला घरमा मात्र नभएर विदेशमा समेत उत्तिकै चर्चित रह्यो । दयाहाङ राई स्टारर फिल्मले विदेशबाट मात्र १० करोडभन्दा बढी कमाइ गरेको छ । कुनै नेपाली फिल्मले विदेशमा कमाएको यो सर्वाधिक रकम हो । कबड्डीलाई पछ्याउँदै प्रेमगीत ३ र महापुरुषले पनि विदेशमा राम्रै कमाइ गरे । डायस्पोरा नेपाली फिल्मको ठूलो बजार बन्न सक्छ भन्ने पुष्टि यसले गर्‍यो ।

प्रेमगीत ३’ले राख्यो एकैदिन विश्वभर रिलिज हुने रेकर्ड

‘प्रेमगीत ३’को हिन्दी संस्करणले एकै दिन विश्व बजारमा प्रदर्शन हुने फिल्मको रेकर्ड राख्यो । यसको मौलिक फिल्म नेपालको प्रेमगीत नै हो । हिन्दीमा डब भएको फिल्म विदेशका हलमा नियमित शोकै रुपमा रिलिज भयो । नेपाली फिल्मको बजारको खोजी र संयुक्त निर्माणको क्षेत्रमा यो ठूलै फड्को हो ।

कान्समा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बन्यो ‘लोरी’

अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘लोरी’ यस वर्षको कान्समा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बन्यो । यसले ग्राण्ड जुरी प्राइज जित्यो । यो फिल्मले यस वर्षको ओस्कार अवार्डमा पनि प्रतिस्पर्धा गरिरहेको छ ।

कान्स रेडकार्पेटमा सुरक्षा पन्त

नेपाली अभिनेत्री सुरक्षा पन्त विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा हिंड्ने पहिलो नेपाली कलाकार बनिन् । इटालीको फिल्म ‘द एइट माउन्टेन्स’को कलाकारको रुपमा उनले भाग लिने मौका पाएकी थिइन् । मे १९ मा कान्सका यो फिल्मको प्रिमियर भएको थियो ।

विदेशमा नेपाली कलाकारको भौतिक कन्सर्ट

कोरोना महामारीले रोकिएको नेपाली गायक र ब्याण्डको दौडाहा सन् २०२२ मा उत्कर्षमा रह्यो । लगभग सबैजसो नेपाली गायक-गायिका र ब्याण्डले विदेशमा कन्सर्ट गरे । सन् १९७४ एडीसहितका केही ब्याण्ड र चलेका कलाकारले टुर नै गरे ।

भिटेनले झण्डै दर्जन मुलुकमा टुर गरे । विवादका कारण उनको जापान टुर चर्चामा रह्यो । दशैंतिहारजस्ता पर्व र कोरोनाले रोकिएका तालिका धमाधम हुँदा कलाकारलाई विदेश दौडाहमा भ्याइनभ्याइ भयो । आर्थिक रुपमा पनि कलाकारलाई विदेश टुरले फाइदा दिलायो ।

सगुन र सज्जनराज वैद्य बने विदेशमा धेरै सुनिने नेपाली गायक

संगीत प्लेटफर्म स्पटीफाइ पछिल्लो समय नेपाली श्रोतामाझ पनि व्यापक बनिरहेको छ । सन् २०२१ मा नेपालमा लन्च भएयता यो प्लेटफर्ममा जोडिने कलाकारको संख्या बाक्लै छ । अहिले स्पटीफाइमार्फत गीत पनि लन्च हुन थालेका छन् । वर्ष २०२२ नेपालबाहिर यो प्लेटफर्ममा धेरै सुनिने नेपाली गायक बनेका छन् सगुन र सज्जनराज वैद्य । योवेश थापा, ट्राइबल रेन, भिटेन, समीर श्रेष्ठ पनि सुनिएका कलाकार हुन् ।

किम्फ र नाटक फेस्टिभलमा आए धेरै विदेशी

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) र दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय नाट्य महोत्सव सफलतापूर्वक सम्पन्न भए । किम्फमा दुई दर्जनभन्दा बढी विदेशी फिल्ममेकरले भाग लिए । निटफेस्टमा चाहिं एक दर्जन विदेशी कलाकार नेपाल आए । विदेशीको भौतिक उपस्थितिले पनि यस वर्ष फिल्म र नाटक महोत्सव खचाखच बने । किम्फमा मात्र दर्जनौं अन्तर्राष्ट्रिय फिल्म प्रिमियर भए ।

उचाइको सुटिङ र चीनसँग संयुक्त फिल्म निर्माणमा सहमति

बलिउड फिल्म उचाइको अधिकांश छायांकन नेपालका पर्यटकीय थलोमा भयो । सगरमाथा क्षेत्र र मनाङमा भएको छायांकनमा मात्र फिल्म क्रिउले २० करोड खर्च गरेको अनुमान छ । यो फिल्मले नेपालको पर्यटनमा प्रवर्द्धन गर्ने आशा छ ।

अर्कोतर्फ धेरैपछि नेपाली फिल्म ‘राधा’ चीनमा प्रिमियर भयो । चीनमा फिल्म प्रिमियर दुर्लभ कुरा हो । सोही अवसरमा चिनियाँ र नेपाली निर्माताबीच दुई फिल्म निर्माण गर्ने सहमति पनि जुट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?