+
+

राजश्व चुहावट नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीले थाले संयुक्त पहल

सुरेश बिडारी सुरेश बिडारी
२०७९ मंसिर २८ गते १०:३४

२८ मंसिर, वीरगञ्ज । सशस्त्र र नेपाल प्रहरीले भन्सार राजश्व चुहावट नियन्त्रणका लागि संयुक्त रुपमा पहल थालेका छन् । यसैक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पर्साको वीरगञ्ज नाका निरीक्षण गरे ।

त्यसपछि पर्सा, बारा, रौतहटका दुवै सुरक्षा निकायका प्रमुख तथा अधिकृतहरुको सहभागितामा आयोजित एक कार्यक्रममा उनीहरुले राजश्व चुहावट रोक्न निर्देशन दिए ।

राजश्व चुहावटमा सुरक्षा निकायको संलग्नता रहने गरेको आरोप लाग्ने गरेको छ । तसर्थ सुरक्षा निकायको कमी कमजोरीले राजश्व चुहावट नहोस् भनेर मातहतका निकायलाई संयुक्त रुपमा बि्रफिङ गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । ‘भन्सार राजश्व घटेको भनेका छन्, कतै सुरक्षा निकायको कारणले हो कि ? कसको कारणले हो ? दुवै सुरक्षा निकायबीच आपसमा समन्वय नगरेर पो हो कि ? भनेर संयुक्त बि्रफिङ गरेका छौं’ उनले भने ‘हाम्रा साथीहरु सहित गएर भन्सार प्रशासकलाई समेत भेटेर के कमजोरी हो, कसको कारणले हो ? कसैको कारणले पनि भन्सार राजश्व चुहावट नहोस् । हाम्रो कारणले अझ कमीकमजोरी हुँदै नहोस्, देशलाई घाटा नहोस् भनेर संयुक्त प्रयास थालेका हौं ।’

देशभरी नै संयुक्त रुपमा भन्सार राजश्व चुहावट नियन्त्रणका लागि प्रयास थाल्ने उद्देश्यले प्रमुख भन्सार नाका वीरगञ्जबाट पहल थालेको उनले बताए । ‘उद्योगी व्यवसायीको सुरक्षा निकायसँग जोडिएका समस्या पनि के छ ? भनेर बुझेका छौं,’ उनले भने ।

संयुक्त बि्रफिङका क्रममा महानिरीक्षकद्वयले सुरक्षा निकायबाट राजश्व चुहावटलाई लिएर कुनै कमजोरी नछोड्न निर्देशन दिएको एक प्रहरी अधिकृतले बताए । ‘राजश्व के कति कारणले कमी भइरहेको छ ? हाम्रो कमजोरी छ भने सुधार्नु, कुनै कमी कमजोरी नछोड्नु भनेर चिफ साहेबहरुले भन्नुभएको छ,’ ती अधिकृतले भने ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुंगानाले पनि चोरी निकासी नियन्त्रणमा आपसमा सहकार्य गर्नेबारे छलफल भएको बताए । ‘चोरी निकासी नियन्त्रणका लागि समन्वयात्मक प्रयास गर्ने, सूचना आदान प्रदान गर्ने, संयुक्त रुपमा परिचालित भएर चोरी निकासी पैठारी नियन्त्रण गरेर राजश्वको लक्ष्य पूरा गर्नेबारे छलफल गरेका छौं,’ उनले भने, ‘के कति चोरी निकासी भइरहेको छ, त्यसमा कसको कमजोरी कति छ ? भनेर अध्ययन नै त भएको छैन तर चोरी निकासीका सम्भावित प्रयासलाई निस्तेज पार्ने र व्यापारलाई वैध बनाउने विषयमा हामी एकमत छौं ।’

वीरगञ्जका उद्योगी व्यवसायीसँग भेटघाट

प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी महानिरीक्षकद्वयले वीरगञ्ज वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुसँग पनि छलफल गरेका छन् ।

छलफलमा वीरगञ्जका उद्योगी व्यावसायीहरुले वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्न माग गरेका छन् । संघका उपाध्यक्ष हरि गौतमले औद्योगिक सुरक्षा बलको पुनर्स्थापना आवश्यक रहेको बताएका हुन् ।

संघका अध्यक्ष सुबोधकुमार गुप्ताले पर्सा बारा क्षेत्रमा कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सीमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने, वीरगञ्जमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, वीरगञ्जमा सञ्चालित सीसीटीभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कार्यसम्पादनमा समन्वय हुनुपर्ने बताए ।

उनलेे सीमा क्षेत्रमा अवैध ओसारपसारमा संलग्नहरुलाई निरुत्साहित गरी वैकल्पिक आयआर्जनमा संलग्न गराउन आवश्यक पहल गर्न आग्रह गरे । सीमा क्षेत्रका नेपाल तथा सिमावर्ती भारतका सुरक्षा समितिको बैठक प्रभावकारी हुनुपर्ने र दुवैतर्फको अभिलेख राख्नुपर्ने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल केडियाले सीमा क्षेत्रमा परिचालित पर्यटक प्रहरीलाई स्रोत साधन अभावले प्रभावकारी काम गर्न नसक्दा नेपालमा आउने भारतीय पर्यटकहरुसँग सीमामा गरिने व्यवहारले गलत सन्देश गएको बताए ।

कार्य समिति सदस्य हरि पन्तले सीसीटीभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउन माग गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवं होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज पर्साका अध्यक्ष हरि पन्तले वीरगञ्जको ८० प्रतिशत होटलहरु भारतीय पाहुनामा नै निर्भर रहेको बताउँदै भारतबाट सवारी साधन लिएर आउने पर्यटकलाई सीमा क्षेत्रमा दुःख दिने गरिएकाले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महानिरीक्षकद्वयले देशको आर्थिक समृद्धिका लागि देशमा शान्ति सुरक्षा आवश्यक रहेको र त्यसका लागि सुरक्षा निकाय सदैव तत्पर रहेको बताए । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले व्यवसायीको सुरक्षामा प्रहरीको ध्यान केन्दि्रत रहेको बताए । राजस्व घटेकोप्रति सबै निकाय चिन्तित रहेको बताउँदै उनले करतादाहरुलाई प्रोत्साहन गरे मात्रै राजस्व बढ्ने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमाक्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा अझै कडाइ गर्ने र समस्या परेको ठाउँमा समाधानको पहल पनि गर्ने बताए । उनले सीमा क्षेत्रमा सीसीटीभी जडान कार्यका लागि साढे ४ अर्बको योजना सहितको प्रस्ताव अर्थमन्त्रालयमा गइसकेको बताउँदै अर्थमन्त्रालयबाट स्वीकृत भएपछि मधेस प्रदेशबाट नै काम शुरु गर्ने बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?