+
+

शोधनान्तर स्थिति २० अर्ब बचतमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १५:४०

२९ मंसिर, काठमाडौं । नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आव २०७८/७९ को तुलनामा यस चौमासिकमा शोधनान्तर स्थितिमा ठूलो सुधार देखिएको छ । सो आवको समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा समेत यस अवधिमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा छ । समीक्षा अवधिमा गत आवमा १ अर्ब २७ करोडले घाटामा थियो । निश्चित समय भित्र व्यक्ति र संस्थाबीच मुलुक भित्र र बाहिर भएका आर्थिक/वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । बाह्य क्षेत्रबाट बढी तरलता प्राप्त हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना शोधनान्तर स्थिति घाटामै थियो । त्यसयता भने निरन्तर सुधार देखिएको छ ।

यस अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा छ । अघिल्लो आवको समीक्षा अवधिमा चालु खाता २ खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो । अमेरिकी डलरमा चालु खाता २८ करोडले घाटामा छ । समीक्षा अवधिमा अघिल्लो वर्ष अमेरिकी डलरमा १ खर्ब ८६ अर्ब घाटामा थियो ।

पहिलो चौमासिकमा पूँजीगत ट्रान्सफर १८.१ प्रतिशतले बढेर २ अर्ब ९७ करोड कायम भएको छ । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ । गत आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?