+
+
काठमाडौं महानगरको २७ वर्ष :

सांस्कृतिक शहरको मौलिकता जोगाउन अक्षम महानगर

मेटिंदैछ शहरको जीवन्तता

काठमाडौं शहरको जनजीवनलाई सहज र यथावत राख्ने, पुराना घरहरु जोगाउने र नयाँ पनि परम्परागत शैलीमा बनाउन प्रोत्साहित गर्नेमा महानगर चुकेको देखिन्छ । प्राचीन संस्कृति, कलाकौशलको संरक्षण गर्न अक्षम देखिएको महानगर जनताले जोगाएर राखेको खुलामञ्चभित्र आधुनिक पार्किङ बनाउने पछिल्लो योजनाले शहरको मौलिकता संरक्षणमा कति बेपरवाह छ भन्ने प्रष्ट्याउँछ ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ पुष १ गते १९:५३

१ पुस, काठमाडौं । शुक्रबारदेखि काठमाडौं महानगरपालिका २८औं वर्षमा प्रवेश गरेको छ । बिहीबार महानगर स्थापना दिवसको कार्यक्रममा काठमाडौं-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले २७ वर्षको महानगरको गतिविधिको निचोड निकालेर भनिन्– ‘हामीले सम्पदाको रुपमा रहेको हाम्रा मौलिकताहरु गुमाउँदै गएका छौं । यसलाई पुनर्जीवन दिन महानगरपालिकासहित सबैले भूमिका खेलौं ।’

काठमाडौंको मौलिकता जोगाउने सवालमा सबभन्दा बढी जिम्मेवार स्वयम् महानगरपालिका हो । ‘सफाइ अड्डा’को रुपमा २ पुस १९७६ मा स्थापना भएर नगरपञ्चायत, नगरपालिका हुँदै २९ मंसिर २०५२ मा महानगरपालिका बनेको काठमाडौंले ‘सांस्कृतिक शहर’को नारा नदिएको हैन । शहरको सांस्कृतिक साख जोगाउने काममा भने पछाडि नै परेको देखिन्छ, काठमाडौं महानगरपालिका ।

महानगरले सम्पदामैत्री भवन निर्माण मापदण्ड बनाएर लागु गर्न नसक्दा शहरमा मौलिक स्वरुपका घरहरु हराउने क्रम तीव्र छ । महानगरले गर्नैपर्ने तर, नगरेका कामको सूची बनाउन बस्ने हो भने लामै हुने वास्तुविज्ञ र सम्पदाका जानकारहरु बताउँछन् ।

उनीहरुका अनुसार, महानगरका कदमहरु त उल्टै जनताले जोगाएका प्राकृतिकदेखि सांस्कृतिकसम्मका सम्पदामाथि अतिक्रमण गर्नेमा अग्रसर हुँदा मौलिकताको संरक्षण र प्रबर्द्धन गर्न नसकेको हो । काठमाडौं महानगर यो सिलसिला रोक्नेतर्फ अझै अग्रसर नभएकोमा सरोकारवाला चिन्तित छन् ।

महानगर र आम नागरिकदेखि संघीय सरकारसम्म मौलिकता जोगाउने मामिलामा सचेत र जिम्मेवार नहुँदा आधुनिकता र विकासको नाममा काठमाडौं शहरका ऐतिहासिक वास्तुशैली, सम्पदा र जीवनपद्धति मासिंदै गाएको उनीहरुको अनुभव छ ।

पछिल्लो समय शहरवासीमा साँस्कृतिक जागरण आएपनि सम्पदा संरक्षण र प्रबर्द्धन गर्ने आधिकारिक निकाय काठमाडौं महानगरपालिका भने उल्टो बाटोमा लागेको देखिन्छ । टुकुचा खोलालाई भूमिगत बनाएको पुरातात्विक महत्वको सुरुङ भत्काउनेदेखि आम नागरिकको आकांक्षा अभिव्यक्त हुने जनमञ्चको रुपमा स्थापित खुलामञ्च खोतल्नेसम्मका महानगरका काम र कार्ययोजना त्यसका उदाहरण हुन् ।

काठमाडौं शहरको इतिहास २ हजार वर्षभन्दा पुरानो मानिन्छ । बौद्ध र हिन्दु धर्म–संस्कृतिको यति पुरानो अभ्यास रहेको यो शहरको वास्तुकला तथा धातु र काठको मूर्तिकला अद्धितीय मानिन्छ ।

प्राचीन संस्कृति र कलाकौशलले काठमाडौंलाई विश्वकै उत्कृष्ट दर्शनीय स्थलमध्ये एक बनाएको छ । काठमाडौंका स्वयम्भू, खास्ती चैत्य (बौद्ध), पशुपतिनाथ, हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्र विश्व सम्पदा सूचीमा छन् । काठमाडौं महानगरले गरिरहेको पार्क र सार्वजनिक क्षेत्र सुधारको काम भने सम्पदा सरंक्षणमैत्री देखिंदैन ।

भित्री शहरको जनजीवनलाई सहज र यथावत राख्ने, पुराना घरहरु जोगाउने र नयाँ पनि परम्परागत शैलीमा बनाउन प्रोत्साहित गर्नेमा महानगर चुकेको देखिन्छ । जनताले जोगाएर राखेको खुलामञ्चभित्र आधुनिक पार्किङ बनाउने पछिल्लो योजनाले शहरको मौलिकता संरक्षणमा महानगर कति बेपरवाह छ भन्ने देखाएको विज्ञहरु बताउँछन् ।

पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की काठमाडौं शहरले आफ्नो पहिचान गुमाउँँदै गएकोमा चिन्ता व्यक्त गर्छन् । ‘समय सापेक्ष हुन खोज्दा शहरको मौलिकतामा केही असर पर्नु एउटा कुरा हो,’ उनी भन्छन्, ‘काठमाडौं महानगरले शहरको मौलिकता जोगाउन प्रभावकारी भूमिका नै नदेखाउनु चाहिं चिन्ताको विषय हो ।’

२०७२ सालको महाभूकम्पपछि सम्पदा पुनर्निमाणका क्रममा महानगरले गरेका अनेकन त्रुटि र त्यसमा उठेको विरोधको आवाजले पनि यस्ता विषयमा महानगरको असम्वेदनशीलता प्रष्ट्याउने उनले बताए ।

रानीपोखरीलाई स्वीमिङ पुल बनाउने, काष्ठमण्डपको मूर्ति फेर्ने, डबली र पोखरीहरुमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गर्ने, बागदरबार र शिलखाना भत्काउने लगायत महानगरका निर्णयहरु चर्को विवादमा परेका थिए ।

महानगरको विगतदेखिकै नेतृत्वहरु शहरको मौलिकता जीवन्त राख्नेगरी योजना बनाएर कार्यान्वयन गर्न चुक्दै आएका छन् । परिणामत, १०० वर्षभन्दा पुराना निजी घर र सरकारी भवन जोगाउन महानगर अक्षम साबित हुँदै आएको छ ।

महानगरले १०० वर्षभन्दा पुरानो त्रि–चन्द्र मिलिटरी अस्पताल भवन भत्काउन नेपाली सेनालाई रोक्न सकेन । त्यस्तै, विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुप क्षेत्रको पुरानो शैलीको घर पनि जोगाउन सकेन । त्यहाँ स्वयम्मा सम्पदा बनिसकेका सयवर्ष भन्दा पुराना निजी घरहरुको ठाउँमा कंक्रिटका नयाँ संरचना बने ।

त्यसपछि छेउछाउमा पनि मापदण्ड विपरीतका ठूल्ठूला संरचना बाक्लिंदै गए । यसमा महानगर सहयोगी मात्रै बन्यो । बौद्धनाथ स्तुप कंक्रिटको जंगलले घेरिएकोमा सम्पदाविदहरु चिन्ता व्यक्त गर्छन् ।

पहिले स्तुपको ५०० मिटर वरिपरि र दक्षिण–पश्चिममा हालको ह्यात रिजेन्सि होटलसम्मको भागलाई संरक्षित स्मारक क्षेत्रको रूपमा राखिएको थियो । सन् २००६ मा सो क्षेत्र खुम्च्याएर चैत्य परिक्रमा मार्गमा सीमित गरियो ।

महानगरले सम्पदा संरक्षण गर्न नसकेका उदाहरण धेरै छन् । शहरीकरणको क्रममा क्रमशः असुरक्षित बन्दै गएको ऐतिहासिकता र मौलिकता जोगाउन महानगरले हस्तक्षेपकारी भूमिका खेल्नपर्नेमा लत्तो छाडेर उल्टै मास्नतिर लागेको विज्ञहरु बताउँछन् ।

‘जोगाउने त कुरै छाड्दिनुस्, कतिपय चिजलाई सर्वनासै गरियो,’ पुरातत्व विभागका पूर्वमहानिर्देशक कार्की भन्छन्, ‘नयाँ पूर्वाधार निर्माणको क्रममा संरक्षण गर्नैपर्ने पुराना पाटी, घर, भवन लगायत थुप्रै पुरातात्विक सम्पदा ध्वस्त पारियो ।’

काठमाडौं महानगरपालिकाले महानगरभित्र पुरानो शैलीको घर बनाउनेलाई ८ लाखदेखि ३२ लाख रुपैयाँसम्म अनुदान दिने नीति २०७८ साउनमा ल्याएपनि प्रचारप्रसार गरेर घरधनीहरुलाई विश्वस्त पार्न नसक्दा अपेक्षित परिणाम आएन ।

आधुनिक न मौलिक

आधुनिक शहरीकरण गर्ने ध्याउन्नमा मौलिकता निमिट्यान्न बन्दै गएको देख्नेहरु अझै पनि धेरै छन् । पुरातत्वविद् सुदर्शनराज तिवारी आधुनिक विकासको नाममा सडक लगायत भौतिक संरचना निर्माणमा लाग्दैजाँदा काठमाडौं शहरको मौलिकता लुटिंदै गएको बताउँछन् ।

उनका अनुसार सडक बनाउने, चौडा पार्ने नाममा चोक, हिति, पाटी र फाल्चाहरु मास्ने काम भए । यसमा महानगर मात्र हैन, संघीय सरकार पनि आँखा चिम्लिएर लाग्यो । नेपालको विकास परिभाषामा मूर्त–अमूर्त सम्पदा र संस्कृति संरक्षण नपरेकोमा तिवारी चिन्तित छन् ।

‘काठमाडौंका भित्रि शहरमा मूर्त–अमूर्त सम्पदा र संस्कृति झन् बढी छन्’, उनी भन्छन्, ‘तर, महानगरको नजरमा भित्रि र बाहिरी शहर एउटै छ । त्यही दृष्टिअनुसार सहरमा विकास गर्न खोजेको देखिन्छ ।’

तिवारीको मूल्यांकनमा, जनप्रतिनिधि भएर काठमाडौं महानगरमा आउनेहरुमा विकास भनेकै आधुनिक भौतिक पूर्वाधार बनाउनु हो भन्ने बुझाइ छ । त्यो बुझाइमा चकाचौध शहर हुन्छ, प्राचीन कला, संस्कृति र शैलीको जीवन्त निरन्तरता हुँदैन । उनी भन्छन्, ‘यही कारण शहरमा सम्पदा र संस्कृति जोगाउन गाह्रो भइरहेको छ ।’

सम्पदा संरक्षणको नाममा हल्ला धेरै र काम थोरै भएको उनको टिप्पणी छ । ‘सम्पदा बचाउनुपर्छ भनेर जनचेतना बढे पनि जात्रा, मेलामा मात्र ध्यान गइरहेको छ’ उनले भने ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक कार्की आधुनिकताको नाममा मौलिक पहिचान नै मासेर अगाडि बढ्दा आधुनिक हुन नसकिने बताउँछन् ।

‘काठमाडौं महानगरले सहरका सबै सम्पदा–संस्कृतिको अध्ययन–अनुसन्धान गरेर रेकर्ड राखेको, मौलिकता संरक्षणमा शहरवासीलाई जागृत, प्रोत्साहित गरेको हामीलाई थाह छैन’ उनी भन्छन् ।

उनका अनुसार, सहरका वास्तुकला, पुराना बाटा, घर, दरबार सबै पुरातात्विक सम्पदा हुन् । तिनलाई जोगाउने दायित्व बोकेको प्रमुख निकाय महानगरपालिका हो ।

‘नयाँ जनप्रतिनिधि आएपछि महानगरपालिकाले कुमारी जात्रामा राम्रै चासो दिएको देखिएको थियो’, कार्कीले भने, ‘त्यसपछि भने कता–कता डोजर चलाएको र भत्काएको विवादमै समय बिताएको देखिएको छ ।’

सँधै उही पारा

महानगरमा हरेक पटक नेतृत्व फेरिंदा शहरले मौलिक पहिचान फर्काउने गरी काम हुने आशा पलाउने कार्की बताउँछन् । ‘तर, काम गर्ने पारा भने कहिल्यै फेरिएको देख्न पाइएन’ उनी भन्छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) नेवाः संस्कृतिको बखान गर्न चुक्दैनन् । उनले शहरको मौलिक जीवन्तता संरक्षणप्रतिको प्रतिवद्धतामा कुनै कमि छाडेका छैनन् ।

महानगरको २८औं वार्षिकोत्सव कार्यक्रमको दौरान पनि उनले प्रतिवद्धता दोहोर्‍याए । मेयर बालेनले ऐतिहासिक फाल्चाहरुको पुनर्निर्माण, डबली पुनर्स्थापना, जात्राहरुको ब्रान्डिङ लगायत योजनाहरु सुनाए । तर, हालसम्म उनले यस्ता योजना अगाडि बढाएका छैनन् ।

टुकुचा उत्खनन गर्ने भन्दै हात्तिसारमा गुम्बज आकारको राणाकालीन सुरुङ फुटाउन उनले गरेको जोडबललाई भने पुरातत्व विभाग र सर्वोच्च अदालतले रोकिदिएको छ । पुरातात्विक महत्वको सुरुङको डोजर चलाइएको एक भाग अलपत्र अवस्थामा छ ।

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने मेयर बालेन साहको योजना पनि चर्को विवादमा परेको छ । सामान्य नागरिकका लागि काठमाडौंमा बाँकी रहेको जम्माजम्मि ०.४ प्रतिशत खुला क्षेत्र पनि मास्न लागेको भन्दै आलोचना भइरहेको छ ।

शहरी योजनाविद् पिताम्बर शर्मा विकासका नाममा शहरलाई मृत गराउन नहुने बताउँछन् ।

‘काठमाडौं शहर बनेकै पैदलयात्रुका लागि हो, यसलाई जीवन्त राख्न गर्नुपर्ने त पैदलयात्रुको सुविधा प्रबर्द्धन गनुपर्ने हो,’ उनी भन्छन्, ‘शहरको महत्व र विशेषतालाई जीवितै राख्न पनि काठमाडौंको सम्पदा स्थलहरुमा गाडीको भीडभाड र कोलाहल घटाउनैपर्छ, आधुनिक शहरमा मौलिक शैली र गुणहरु मासिनु हुँदैन भन्ने कुरा बिर्सनु हुँदैन ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?