+
+
खुलामञ्च–५ :

यसकारण बन्नुहुन्न खुलामञ्चमा भूमिगत पार्किङ

खुलामञ्चमा भूमिगत पार्किङ बनाउँदा प्रभावित हुने एउटा मात्र पाटो छैन । महानगरपालिकाको नेतृत्व ती सबै पक्षमाथि विचार गरेर अगाडि बढोस् ।

डा. पीताम्बर शर्मा डा. पीताम्बर शर्मा
२०७९ पुष २ गते १९:२५

जिब्रो नचपाई बोल्ने हो भने मलाई खुलामञ्चमा भूमिगत पार्किङ बनाउने कुरा ठीक लागिरहेको छैन । भूमिगत पार्किङ भनेको भूगर्भ र वातावरणमा जोडिने विषय हो । भूमिमाथि के छ, त्यसमुनि कस्तो छ, त्यहाँ पानी सोसिने र सञ्चित हुने अवस्था के हो भन्ने जस्ता कुरा आउँछन् ।

म भूगर्भशास्त्री हैन, तर यति चाहिं भन्न सक्छु कि टुँडिखेलमा सोसिएर पुनर्भरण हुने भूमिगत जलभण्डारको पानी त्यस वरपरका इनारहरूमा पुग्थ्यो । यो प्राकृतिक शृङ्खला जेजति बाँकी छ, खुलामञ्चमा भूमिगत पार्किङ बनाए अवश्य असर पर्छ ।

नेपालमा हुने गरेको निर्माण र त्यसको गुणस्तर हेर्दा ठूलो क्षमताको पार्किङप्रति सहानुभति राख्ने ठाउँ पनि छैन ।

यातायात व्यवस्थापनको लागि काठमाडौंमा हुनुपर्ने कुरा त अरू नै हो । मुख्य शहरहरूभित्र आउने सवारीको संख्या नै घटाउने उपाय खोज्नुपर्ने हो । त्यस्तो उपाय, जसले काठमाडौंको मुख्य शहरी क्षेत्रमा निजी सवारी पुग्न नै बन्द गरिदेओस् । विभिन्न स्थानबाट सार्वजनिक यातायात सहज होस् ।

जस्तो– म सानेपा बस्छु, न्युरोड जानुपर्‍यो भने सार्वजनिक बसमा जान्छु र घर फर्किन्छु । त्यस्तो सार्वजनिक यातायात सेवा भरपर्दो होस् । मलाई शहरभित्र एकबाट अर्को ठाउँमा जाँदा निजी गाडी चलाउनै नपरोस् । यस्तो यातायात व्यवस्थाको परिकल्पना, योजना र कार्यान्वयन अहिलेको खाँचो हो ।

शहरबाहिर बस्नेहरूले पनि गुणस्तरीय सार्वजनिक यातायात सेवा पाओस् । गुणस्तरीय शहरी यातायात सेवा भए निजी गाडीको खर्चमाथि महँगो पार्किङ शुल्क व्यहोर्न कोही तयार हुँदैन ।

एउटा निजी गाडीमा बढीमा पाँच जना बस्छन् । यस्तो सवारीलाई प्रोत्साहित गर्नु भनेको शहरमा थोरै मान्छेका लागि धेरै जमिन छाडिदिनु हो । जबकि, व्यवस्थित शहरमा ८० प्रतिशत आवागमन पैदल हुने हालसम्मको अध्ययनहरूले देखाएका छन् ।

हामीले गर्नुपर्ने भनेको मानिसहरू सजिलै शहरका केन्द्रमा पुग्ने, उनीहरूको आवागमनले ट्राफिक चाप नपार्ने र शहरका अमूल्य खाली जमिन वा खुला क्षेत्रको संरक्षण पनि हुने व्यवस्था हो ।

तर, खुलामञ्चमुनि पार्किङ बनाएर काठमाडौंको केन्द्र भागमा अझ धेरै गाडी लैजाने सुविधा जुटाउने योजना कार्यान्वयन हुन लागेछ । यस्तो सोच कसले, कताबाट ल्याउँछ भनेर बुझ्न सकिएको छैन ।

गर्नुपर्ने त पैदलयात्रुको सुविधा प्रवर्द्धन हो । किनभने, काठमाडौं शहर बनेकै पैदलयात्रुका लागि हो । नयाँ शहर बनाउँदा धेरै गाडी व्यवस्थापन हुनेगरी योजना बनाए भयो, तर काठमाडौंमा गाडी घटाउने काम गर्नुहोला भन्ने मेरो आग्रह छ । पर्यटकीय महत्वलाई जीवितै राख्न पनि काठमाडौंकोे सम्पदा स्थलहरूमा गाडीको भीडभाड र कोलाहल घटाउनैपर्छ ।

खुलामञ्चमा पार्किङको व्यवस्था गरेपछि त शहरभित्र सवारीको चाप बढेर ट्राफिक व्यवस्थापन झन् भद्रगोल हुने जोखिम हुन्छ । ट्राफिकसँगै शहरमा प्रदूषण बढ्छ । नेपालका शहरी प्रदूषणमा ६० प्रतिशत हिस्सा यातायात क्षेत्रकै भएको अध्ययनहरूले देखाएका छन् ।

अघि नै भनें, म वातावरणविज्ञ होइन, तर सामान्य बुझाइमै पनि काठमाडौं जस्तो शहरको बीचमा कुनै खाले ठूलो पार्किङ लट उपयुक्त हुँदैन । त्यसले मुख्य शहरका सडकमा ट्राफिक चाप र चोकमा जाम तथा प्रदूषण घटाउँदैन, बढाउँछ ।

खुला क्षेत्रको महत्व बुझौं

शहरहरूमा कम्तीमा १२ प्रतिशत जमिन खुला क्षेत्र हुनुपर्छ । शहरी योजनाको मापदण्डमा प्रशस्त हरियालीयुक्त क्षेत्र, मैदान र पार्कहरू हुनुपर्छ भन्ने छ । यस्ता क्षेत्र जति बढी भयो शहर उति बस्नयोग्य हुन्छ । तर, काठमाडौंमा ०.४ प्रतिशत मात्र खुला क्षेत्र रहेको सरकारकै अध्ययनले देखाएको छ ।

म विद्यार्थी छँदा टुँडिखेल निकै फराकिलो थियो । जनताले निकै लामो समयदेखि जोगाएर राखेको मैदान थियो, यो । मैले जान्दाजान्दै शहीदगेट दक्षिणतर्फ सेनाले कब्जा गरेर अनेक प्रयोजनका भवनहरू बनायो । जबकि, सेनालाई शहरबाहिर कुनै क्षेत्रमा राख्न सकिन्थ्यो । रंगशाला पनि यही सार्वजनिक जग्गा मिचेर बन्यो । टुँडिखेल मिच्ने काम अझै हुने रहेको छ ।

बचेखुचेको टुँडिखेल महाभूकम्पका बेला धेरैको लागि आश्रयस्थल बनेको थियो । खुलामञ्चमा भूमिगत पार्किङ बन्यो भने भोलिको विपदमा त्यस्तो आश्रयस्थल पाउने अवस्था रहँदैन । यो कारण पनि खुला क्षेत्रको महत्व हरेक शहरियाले बुझ्न जरूरी छ ।

हुन त काठमाडौं महानगरपालिकामा ‘नयाँ’ मेयर सा’ब आउनुभएको छ, उहाँका आफ्नै सोचहरू होलान् । त्यसमा खुला बहस, छलफल हुुनुपर्छ । त्यसले निष्कर्षमा पुग्न सजिलो हुन्छ । आधुनिक शहरमा मौलिक शैली र गुणहरू मासिनुहुँदैन भन्ने कुरा बिर्सनुहुँदैन ।

वाक् स्वतन्त्रता जोगाऔं

विश्वका लोकतान्त्रिक मुलुकहरूका शहरमा जनताले आफ्नो कुरा भन्न, सरकारको विरोध वा प्रदर्शन गर्न पाइने सार्वजनिक ठाउँ हुन्छ । लण्डनको हाइड पार्कमा ‘स्पिच कर्नर’ छ, जहाँ जो पनि गएर आफूलाई चित्त नबुझेको कुरा भन्न पाउँछ । बेलायतका प्रायः सबै शहरमा यस्ता ठाउँ छन् ।

काठमाडौंको खुलामञ्च नेपालको त्यस्तै ठाउँ हो । जनताले राजनीतिक खुलापनको अनुभव र वाक् स्वतन्त्रताको अभ्यास गर्ने यस्ता ठाउँको संरक्षण हुनुपर्छ ।

२०७१ सालपछि खुलामञ्चमा कहिले बसपार्क त कहिले पार्किङ बनाइयो । कहिले ठेकेदार कम्पनीहरूको निर्माण सामग्री थुपार्ने थलो बनाइयो । खुलामञ्च जसरी प्रयोग हुनुपथ्र्यो, त्यसरी भएन । भूमिगत पार्किङ बने खुलामञ्चमा सामान्य नागरिक अझ निषेधित हुनेछन् ।

खुलामञ्चमा भूमिगत पार्किङ बनाउँदा प्रभावित हुने एउटा मात्र पाटो छैन । महानगरपालिकाको नेतृत्व ती सबै पक्षमाथि विचार गरेर अगाडि बढोस् ।

(रवीन्द्र घिमिरेसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?