+
+

हो, म संशोधनवादी नै हुँ

शास्त्रीय सिद्धान्तका आधारमा मान्छेलाई क्रान्तिकारी वा संशोधनवादी करार गर्ने जमाना होइन । को प्रगतिशील, को क्रान्तिकारी वा को अग्रगामी भन्ने कुरा आजको आवश्यकता र भविष्यको सपनाले निर्धारण गर्छ । बासी सन्दर्भहरू जपेर कोही पनि क्रान्तिकारी हुँदैन ।

केशव दाहाल केशव दाहाल
२०७९ पुष २ गते १७:३९

पुस्तकसँग पहिलो संगत

म निम्नमध्यम वर्गीय ब्राह्मण परिवारमा जन्मिएँ । ब्राह्मण र निम्नमध्यम वर्गीय हुनुको फाइदा किताबसँगको मेरो साक्षात्कार सानैदेखि भयो । हाम्रो घरमा अनेक धार्मिक किताबहरू थिए । रामायण, महाभारत, कृष्णचरित्र, रुद्री, चण्डी, वेद, उपनिषद्, पुराण आदि ।

यीभित्र मीठा मीठा कथाहरू थिए । र, गजबको कुरा घरमा किताबहरू सँगै कथाहरू सुनाउने आमा र बुबासमेत थिए । त्यो यस्तो अद्भुत समय थियो कि आमासँग धार्मिक कथाहरू सँगै नैतिक शिक्षा दिने अनेक कथाहरू पनि थिए । बुलबुल चरीको कथा, सत्यवादी राजा हरिश्चन्द्रको कथा, दमयन्ती रानीको कथा । र, आमा ती कथाहरू बडो स्वादले सुनाउनुहुन्थ्यो ।

यसरी कथा सुन्दै र किताबहरू खेलाउँदै म हुर्किएँ । यस्तो हुन्थ्यो कि आमाले सुनाउने ती कथाहरूमा म समाहित हुन्थेँ । कहिले कथासँगै रुन्थेँ, कहिले कथासँगै हास्थेँ र रमाउथेँ । यस्तो भयो कि अक्षर चिन्नु अगाडि नै मैले कथाहरू चिनेँ । धार्मिक चित्रहरू हेर्न र त्यसभित्र निहित कथाहरू सुनाउन मलाई अक्षर चिन्नै परेन । तर धर्मग्रन्थमा आउने ईश्वरका कथाहरूबाट निस्किएर मान्छेका कथातिर भने म कक्षा ८ मा पुगेपछि मात्र प्रवेश भएँ ।

मान्छेका कथासँगको लगाव

०३६/३७ सालतिर पूर्वी पहाडको सम्बन्ध धरान र विराटनगरसँग हुन्थ्यो । समयनै यस्तो थियो कि धरान र विराटनगरजस्ता सहरहरू त्यो समयका महत्वपूर्ण चिन्तन, पठन र परिवर्तनका केन्द्र थिए । साहित्यका अनेक प्रयोग र राजनीतिक परिवर्तनका लहर त्यतैबाट सुरु हुन्थे, जुन पढ्नेहरूका लागि राम्रो कुरा थियो । भारत नजिक भएकोले उताबाट पनि अनेक किताबहरू आइपुग्थे । त्यतिबेला रादुगा, प्रगति जस्ता चर्चित प्रकाशनहरूले सोभियत कथाहरूलाई नेपाली भाषामा छाप्ने गर्थे । ती किताबहरू निकै सस्तोमा पाइन्थे ।

धरानमा पढ्ने मेरा दाइले पहाड घर आउँदा सहरबाट किताबहरू लिएर आउनुहुन्थ्यो । यसरी मैले मान्छेका कथाहरू, भुईंका कथाहरू, किसान मजदुरका कथाहरू, संघर्षका कथाहरू र जीवनका कथाहरू पढ्ने मौका पाएँ । त्यो समय देवासुर संग्राम, अग्निदीक्षा, आमा, युवाहरूका गीत, भागो नही दुनियाँको बदल डालो, वोल्गा से गंगातक, महिला मुक्ति जस्ता किताबहरू चर्चित थिए ।

सचित्र सोभियत जस्ता पत्रिका पनि घरमा आउँथे । नेपालीमा मोदनाथ प्रश्रित, सञ्जय थापा, विदेशीमा निकोलाई आस्त्रोभस्की, म्याक्सिम गोर्की, अन्तोन चेखोव, लु सुन, याङ मो, राहुल सांकृत्यायन, लियो टाल्सटाय आदिका किताबबाट मैले मान्छेका कथाहरू पढ्न सुरु गरेँ । त्यसपछि विस्तारै मानवीय सम्बन्ध र सौन्दर्यका किताबहरू हात लागे ।

किताब लेख्ने निधो

हाम्रो स्कुलमा प्रत्येक बिहीबार साप्ताहिक रूपमा अतिरिक्त क्रियाकलापहरू हुन्थे । कविता, निबन्ध, कथा प्रतियोगिता, वक्तृत्वकला र खेलकुद प्रतियोगिता भइरहन्थे । म कक्षामा प्रथम विद्यार्थी थिएँ । सानो ज्यान भएकाले खेलकुद मेरो विषय थिएन । तर केही गर्ने दबाव भने सधैं पथ्र्यो । त्यसैले त्यस्ता कार्यक्रममा म प्रायः कविताहरू सुनाउँथेँ । कविताले मात्र नपुगेपछि विस्तारै निबन्ध र कथाहरू लेख्न र सुनाउन थालेँ ।

रेडियो नेपालको बाल कार्यक्रम चर्चित थियो । त्यहाँ कविता पढाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यसका लागि पनि धेरै लेखेँ । कलेज पुगेपछि लेखन अलिक विस्तारित भयो । प्रेमपत्रहरू लेख्न थालियो, रस हालेर । विद्यार्थी संगठनमा लागेपछि त पर्चाहरू पनि लेखियो ।

समयसँगै विस्तारै राजनीतिक अभियानहरूमा संलग्न हुन थालियो । त्यसले लेख्न र पढ्न प्रेरित गर्दै लग्यो । राजनीतिक दस्तावेज र प्रतिवेदनहरू लेख्न थालियो । लेखेर मान्छेलाई सुनाउँदा आफूलाई पनि मज्जा लाग्न थाल्यो, सुन्नेले पनि ठीक छ भन्न थाले ।

यसरी राजनीतिक साहित्यमा चाख बढ्यो । त्यसैक्रममा वैकल्पिक राजनीतिको तिर्सनाले छोयो र ‘नेपाली राजनीतिको पुनर्गठन’ लेखियो । तर मनमा रहेका अनेक भावना र कथाहरूले राजनीतिक किताब लेखेर मात्र शान्त बस्न दिएन । त्यसैले उपन्यास र निबन्ध लेखेँ । यो सबै लेखिरहँदा मज्जा बढ्दै गयो, झन् उत्प्रेरित हुँदै गएँ ।

किन लेख्ने ?

यस्ता अरु पनि प्रश्न छन् । जस्तो, मान्छेले किन खेल्छ ? किन लय र ताल मिलाएर गाउँछ ? किन सुन्दर तरंगहरू सिर्जना गर्दै बाजा बजाउँछ ? किन रंगहरूसँग खेल्छ र सुन्दर चित्र बनाउँछ ? मलाई लाग्छ, यसमा आत्मसन्तुष्टी छ । यसमा ऊभित्र निहीत सिर्जनशीलताको दवाम छ । यो सबै गरेर मान्छे स्वयं आफ्नो अस्तित्वलाई यो धर्तीमा स्थापित गर्न चाहन्छ । मान्छेभित्र ऊ हुनुको प्रयोजन सिद्ध गर्ने एउटा सुुषुप्त र प्राकृतिक जिजीविषाले मान्छेलाई चैनले बस्न दिंदैन । त्यसैले मान्छे केही न केही गरिबस्छ ।

कुनै लेखकले किन लेख्छ भन्ने प्रश्नमा पनि मलाई यस्तै लाग्छ । जस्तो मेरै कुरा गरौं, जब मैले आफ्नो अस्तित्वको खोजी गर्दै गएँ, लेख्नु मेरो जीवनको एउटा हिस्सा बन्न थाल्यो । मलाई लाग्छ, जब मान्छेले आफ्नो अस्तित्वको खोजी गर्न थाल्छ, त्यसपछि उसले केही गर्छ । कसैले खेल्न थाल्छ, कसैले गाउन थाल्छ, कसैले राजनीति गर्छ, कसैले युद्ध गर्छ, कसैले प्रेम गर्छ र कसैले लेख्न थाल्छ । साथसाथैं, मेरा लागि लेख्नु भनेको एउटा अलग्गै, आफूलाई मन लागेको संसार निर्माण गर्नु हो । यो निकै रमाइलो काम हो । यसो गर्दा मेरो मन भित्रभित्रै गदगद हुन्छ ।

‘मोक्षभूमि’ उपन्यासको रचनागर्भ

‘नेपाली राजनीतिको पुनर्गठन’ भन्दा अगाडि पनि मैले केही पुस्तकमा काम गरेको थिएँ । जस्तो हामीले वैकल्पिक विचार मञ्चबाट ‘संघीयता र पूर्वी तराई’, ‘लोकतन्त्रदेखि लोकतन्त्रसम्म’ जस्ता सामूहिक योगदानका पुस्तकहरू लेखन, सम्पादन र प्रकाशन गरेका थियौं ।

अर्को पुस्तक थियो ‘गैससको बहस’ जो मेरो सहलेखन थियो । तर ती सबै व्यवसायिक प्रकाशन गृहबाट निस्किएका पुस्तक थिएनन्, थिए त खास मिसनमा लेखिएका किताब । त्यसैले ती आम पाठकबीच पुगेनन् । तर जब सांग्रिला प्रकाशनले ‘नेपाली राजनीतिको पुनर्गठन’ प्रकाशन गर्‍यो, पुस्तक लेखकको रूपमा म अलिक धेरै पाठकसम्म पुगेँ । नेपाली राजनीतिको पुनर्गठन मेरो राजनीतिक आह्वान हो । पुरानो राजनीतिलाई बदल्ने र नयाँ राजनीतिको रचना गर्ने एक प्रस्ताव । नयाँ विचार, नयाँ संगठन, नयाँ नेतृत्व, नयाँ मुद्दाहरूसहितको एक सुसंस्कृत राजनीतिको अपेक्षा ।

मेरा कान्तिपुरमा छापिने नियमित राजनीतिक लेखहरू र नेपाली राजनीतिको पुनर्गठन पढ्ने पाठकहरूले भन्नुभयो, ‘तिम्रो राजनीतिक लेखनमा पनि साहित्य छ । आख्यानको सुगन्ध छ । उपन्यास लेख ।’ वास्तवमा म आफैं पनि आफूभित्र कथाहरू हुर्कंदै गरेको अनुभव गर्थेँ । त्यसपछि मैले मनमा जमेर बसेका कथाहरूलाई लेख्न सुरु गरेँ । तिनैमध्येको एक कथा हो– मोक्षभूमि । यो सुरुमा लामो कथा थियो । ४० हजार शब्दको । पछि शब्द, घटना र कथाहरू थपिँदै गए र त्यही नै उपन्यास बन्यो ।

मोक्षभूमि खासमा मान्छेको मुक्तिको कथा हो । स्वतन्त्रता र स्वअस्तित्व निर्माणको कथा । यो निश्चय नै दासताबाट मुक्तिको कथा हो, साथसाथै हो आफ्नै बन्धनहरूबाट मुक्तिको कथा । मलाई लाग्छ– मानव सभ्यतामा मुक्ति, स्वतन्त्रता र स्वअस्तित्वको बिशेष स्थान छ । यसका लागि मान्छेले अनेक संघर्ष, युद्ध, चिन्तन, खोज र आविष्कार गरेका छन् । त्यसैले यो नै हाम्रो सभ्यताको मुख्य शक्ति र प्रेरणा हो । यो अर्थमा मोक्षभूमिको कथा हाम्रो सभ्यताको कथा हो । मान्छेको गरिमा निर्माणको कथा हो ।

मैले मोक्षभूमि लेखेर मान्छेको अस्तित्वको कथा सुनाउने प्रयत्न गरेको हुँ । त्यसलाई किताब पब्लिसर्सले प्रकाशन ग¥यो र पाठकको हातमा आइपुग्यो । जहाँसम्म अपेक्षाको कुरा छ, एउटा लेखकको के अपेक्षा हुन्छ ? म मेरा पाठकलाई आफू हुनुको प्रयोजन देखाउन चाहन्छु । मुल अपेक्षा यही हो । साथसाथै, अरुलाई आफ्ना मनका कथाहरू सुनाउँदा आउने अद्भूत आनन्दमा म रमाउन चाहन्छु ।

‘माधवी ओ माधवी’ को कुरा

‘माधवी ओ माधवी’ चाहिँ मेरो निर्बन्ध लेख हो । यसमा मेरो पुस्ताले भोगेका, सुनेका र अनुभव गरेका राजनीति, प्रेम, यौन, संघर्ष, सुख र दुःखका अनेक घटनाहरूको सिलसिलेबार वर्णन छन् । यसमा दर्शन पनि छ र राजनीति पनि छ । जीवन पनि छ र व्यवहार पनि । कल्पना पनि छ र यथार्थ पनि ।

यसमा छ एउटा यस्तो आँखीझ्याल जसबाट हामीले हाम्रो समयलाई चियाउन सक्छौं । मेरो पुस्ताको मनलाई सुमसुम्याउने कोमल शब्दहरूको माला हो माधवी ओ माधवी । जहाँ २३ वटा रंगिबिरंगी फूलहरू उनिएका छन् । माधवी ओ माधवीको शीर्ष लेखन चै मेरो नितान्त निजी प्रेम अनुभूतिको सानो दस्तावेज हो । जसमार्फत मैले मेरी प्रेमिकालाई सम्झाएको छु, ‘प्रियतमा चिन्ता नगर, हाम्रो प्रेम अमर छ ।’

वैचारिक विचलनको आरोप

कुनैबेला म पूर्णतः मार्क्सवादी थिए । बुझेर भन्दा नबुझेर त्यस्तो भएको हुनुपर्छ । विस्तारै म अलिक उदार हुँदै गएँ र क्रमशः बुद्धदेखि गान्धीसम्म, अम्बेडकरदेखि फ्रायडसम्म र ओशोदेखि कविरसम्म मन पराउने जिज्ञासु हुँदै गए । हिजो मभित्र मात्र मार्क्सवादबारे धेरै जिज्ञासा थिए, अहिले जिज्ञासाहरू धेरै छन् । अवश्य नै हिजो म मात्र मार्क्सवादी थिएँ, आज मार्क्सवादी मात्र छैन । बरु अरू पनि छु ।

मलाई लाग्छ मानव सभ्यतामा मार्क्सले जे भने त्यसले मात्र संसार चल्दैन । वर्गसंघर्षले मात्र संसार चल्ने भए संसार अर्कै हुन्थ्यो होला । मानौं, मार्क्सवादी मात्र भएका भए संसार कस्तो हुन्थ्यो होला ? विचार गरौं, यदि संसारमा बुद्ध, गान्धी र मण्डेलाहरू नभएका भए संसार कस्तो हुन्थ्यो होला ? अथवा नेपालमै कम्युनिष्टहरू मात्र भएका भए हाम्रो राजनीति कस्तो होला ?

मलाई लाग्छ, मानव सभ्यता अनेक सत्यहरूको खोज, आविष्कार, प्रयोग र साधनाको एउटा विशाल आकाश गंगा हो । यसमा वर्गसंघर्षको मात्र महत्व छैन, यौनको पनि छ, प्रेमको पनि छ, ध्यान र तपको पनि छ । अर्थात, संसारमा अनेक दर्शन छन्, अनेक ज्ञानका समुन्द्र बहन्छन्, विविध मान्छेहरू छन् र तिनका अनेक कथाहरू छन् । सप्तरंगी संसारमा एउटा मात्र रंग समातेर मैले सबै रंग देखेको छु भन्नु व्यर्थको घमण्ड हो ।

अहिले म संसारका कुनै पनि विचारहरूलाई सम्पूर्ण सत्यको रूपमा लिन्नँ । अवश्य नै कुनैबेला मलाई मार्क्सवाद संसारको एक मात्र सत्य लाग्थ्यो । तर आज लाग्छ, ती सबै आंशिक सत्य हुन् । सम्पूर्ण सत्यको खोजी सापेक्षतामा चल्दै जान्छ । न त बुद्ध सम्पूर्ण हुन्, न त मार्क्स, न त गान्धी सम्पूर्ण हुन्, न त अम्बेडकर । म सत्यलाई अनेक पटक परीक्षण गर्नुपर्छ भन्ने ठाउँमा आइपुगेको छु । किनभने सत्य गणित जस्तो मात्र हुदैन बरु यो त्योभन्दा धेरै अनौठो र रहस्यमय पनि हुनसक्छ ।

हामीले सत्यलाई एउटा चित्रमा मात्र हेर्न सक्दैनौं र सत्यका धेरै चित्रहरू मध्ये कुनै चित्रहरू नदेखिकनै हामी बिदा हुन्छौं । त्यसैले सत्यको खोज जारी राख्नुपर्छ । त्यसैले म वामपन्थसँग मोहभंग भएर अम्बेडकरको शरणमा आइपुगेको होइन, बरु म वामपन्थ र अम्बेडकर दुवैभित्र निहीत सत्यलाई खोज्ने ठाउँमा आइपुगेको हुँ । हिजो म वामपन्थी मात्र थिएँ भने आज म लोकतन्त्रवादी, वामपन्थी, मार्क्सवादी र अम्बेडकारवादी सबैलाई बुझ्न कोशिस गर्ने एक जिज्ञासु भएको छु ।

राजनीति र साहित्य

राजनीति र साहित्य अभिभाज्य छन् । यिनीहरूको मित मितको साइनो छ । अतः यी एकअर्थमा सँगसँगै हिंड्छन् । हातेमालो गर्दै, काँधमा काँध मिलाउँदै । कुनैबेला राजनीति अलमलमा पर्दा, साहित्यले राजनीतिलाई प्रकाश दिन्छ र राजनीति त्यसको उज्यालोमा अगाडि बढ्छ ।

कुनैबेला साहित्य अलिक सुस्त भएको बेला, साहित्यलाई काँधमा बोकेर राजनीति दौडिन्छ । तर यिनीहरू सँगसँगै हुन्छन् । यहाँ मैले राजनीति भनेर पार्टी राजनीतिको कुरा गरेको होइन, यहाँ राजनीति भनेर चुनाव र सरकारको कुरा गरेको होइन । यहाँ मैले उल्लेख गरेको राजनीति चाहिँ जीवन र जगतलाई बदल्ने एक अभियान वा साधना हो ।

निश्चयनै सत्ता राजनीति अलिक स्वार्थी हुन्छ । त्यसले सबैलाई आफ्नो भारी बोकाउन चाहन्छ । सत्ता राजनीतिले साहित्यलाई मात्र हैन, मौका मिले ईश्वर, अल्लाह वा प्रभु सबैलाई आफ्नो राजनीतिको भारी बोकाउँछ । त्यसको दुर्गुण नै के भने यसले आफूबाहेक सबैलाई तुच्छ, तृण र बेकार ठान्दछ । यो उसको भ्रम हो । त्यही भ्रमका कारण सत्ता राजनीतिको आयु लामो हुँदैन । तर साहित्य सधैं अजेय र प्रकाशवान रहन्छ ।

आख्यान र गैरआख्यानको अन्तर

मलाई लाग्छ, गैरआख्यान दिमागबाट लेखिन्छ, आख्यान मनबाट । दिमागले सत्य र तथ्यहरू केलाउँछ, मनले कल्पनाको अनन्त उडान भर्छ । दिमागले विचार गर्छ, मन उन्मुक्त हुन्छ । दिमागले होस गर्छ, मनले होस गर्दैन । एउटा यथार्थ हो, अर्को भावना ।

एउटा साधारण मान्छे र सिकारु लेखकको रूपमा यिनीहरू बीच मैले बुझेको फरक यही हो । यही फरकले गैरआख्यान लेखन र आख्यान लेखनमा फरक पार्दछ । यही फरकले आख्यान र गैरआख्यानको पठनमा पनि धेरै फरक पार्दछ । र, निकै धेरै फरक पार्दछ ।

सुधारवादको आरोप

म सुधारवादी भएको होइन । बरु अझ क्रान्तिकारी भएको हो । उदाहरणका लागि माधवी ओ माधवीमा मेरो एउटा निबन्ध छ, ‘मार्क्सका तीन अवतार’ । पहिलो अवतारमा मैले ईश्वर जस्तो अलौकिक मार्क्सको कुरा गरेको छु । कुनै गल्ती नगर्ने, सबैकुरा जान्ने । सबै जिज्ञासाको समाधान दिने ।

दोस्रो अवतारमा छन् ज्ञानी, ध्यानी र तपस्वी जस्तो मार्क्स । अथवा, अर्को कोणबाट हेर्दा मालिक जस्तो मार्क्स । विशिष्ट, प्राधिकार, सर्वज्ञाता, सर्वज्ञानी, कमजोरी नै नगर्ने, गरेपनि दण्ड भन्दा माथिको । जस्तो कि उनका लागि सबैकुरा विशेष । मान्छेभन्दा माथिको मार्क्स । तेस्रो अवतारको रूपमा मैले मान्छेजस्तो मार्क्सको कुरा गरेको छु । गल्ती गर्ने, कमजोरीसहितको एक योग्य मान्छे । प्रेम, यौन, सुख, दुःख भोगेको मार्क्स ।

अब कसैले पहिलो मार्क्सलाई जस्ताको तस्तै स्वीकार गर्नु क्रान्तिकारी हुनु हो भन्छ भने म क्रान्तिकारी होइन । किनभने म पहिलो मार्क्समा धेरै विश्वास गर्दिनँ । मैले विश्वास गर्ने चाहिँ तेस्रो मार्क्स हो । यसो भन्नु संशोधनवादी हुनु हो भने अवश्य नै संशोधनवादी हुनु राम्रो कुरा हो र संशोधनवादी हुनुमा म गर्व गर्छु ।

क्रान्ति, आन्दोलन, राजनीति सबैकुरा समयको गतिशीलताबाट परीक्षण हुन्छन् । यो शास्त्रीय सिद्धान्तका आधारमा मान्छेलाई क्रान्तिकारी वा संशोधनवादी करार गर्ने जमाना होइन । को प्रगतिशील, को क्रान्तिकारी वा को अग्रगामी भन्ने कुरा आजको आवश्यकता र भविष्यको सपनाले निर्धारण गर्छ । बासी सन्दर्भहरू जपेर कोही पनि क्रान्तिकारी हुँदैन ।

‘राजनीतिमा असफल भएर लेखनतिर’

राजनीतिमा सफलता र असफलता के ले निर्धारण गर्छ ? चुनाव जित्ने कुरा राजनीतिको एउटा सफलता होला, तर राजनीतिमा नयाँ बहसको सिर्जना अर्को महत्वपूर्ण कुरा हो । म लगायत हामी केही साथीहरू वैकल्पिक राजनीतिको बहसमा छौं । र, हामी सफल पनि हुदैछौं ।

त्यसैले त नेपाली राजनीतिमा नयाँ नयाँ संभावनाहरू प्रकट हँुदैछन् । मानौं, हामी असफल नै हो भनेपनि अनुभवसहितको असफलतामा नराम्रो के छ ? किनभने एउटा मान्छे सधै, सबैतिर उत्तिकै सफल हुँदैन । तर पनि उसले अनेक काम त गरिरहन्छ । किनभने गतिशीलतानै जीवन हो । त्यो गर्नुपनि पर्छ । अन्यथा के एक ठाउँमा असफल हुँदैमा मान्छे रुँदै हिँड्नुपर्ने ? अथवा जीवनदेखि पलायन हुनुपर्ने ? यस्तो सोच्नु ठीक होइन । यसरी मान्छेलाई कसैले हियाउँछ भने त्यो परपीडक हो ।

नयाँ पुस्तालाई सन्देश

अनुभवी साथीहरू भन्नुहुन्छ लेखक बन्न धेरै केही गर्नुपर्दैन । त्यसका लागि मात्र दशवटा काम गर्नुपर्छ । पहिलो लेख्नुपर्छ । दोस्रो लेख्नुपर्छ । तेस्रो लेख्नुपर्छ । यसरी नै दशसम्म नै लेखिरहनुपर्छ । मलाई पनि त्यस्तै लाग्छ । तर यसमा म थोरै मेरो अनुभव थप्न चाहन्छु । निश्चय नै लेखक बन्न दशवटै काम गर्नुपर्छ । तर पहिलो काम भने पढ्नुपर्छ । यहाँ पढ्नु भनेको किताब मात्र पढ्नु भनेको हैन, बरु जीवन, मान्छे, इतिहास, समाजलाई पढ्नु भनेको हो । त्यसपछि लगातार पाँचवटा काम गर्नुपर्छ । अर्थात् लेख्ने काम, लेख्ने काम र लेख्ने काम । त्यसपछि अर्को काम गर्नुपर्छ, मेट्ने काम । अर्थात स्व–सम्पादनको काम ।

मलाई लाग्छ, आफूले लेखेका शब्द र वाक्यमा फसेर लेखक बनिंदैन । आफूले लेखेको कुराको आफैं जाँच गर्ने र राम्रो छैन भने त्यसलाई काट्ने । किनभने एउटा लेखकले मेट्न सक्नुपर्छ । त्यो राम्रो लेखक हुने गुण हो । अर्थात पढ्ने, लेख्ने, मेट्ने र लेख्ने जाँगर हुनेले लेख्न सुरु गरिहाल्नुहोस् । यही नै लेखक बन्ने मुख्य सुत्र हो ।
पुस्तक किन पढ्ने, कस्ता पढ्ने ?

पढ्नु गज्जबको काम हो । अद्भुत काम । तर के पढ्ने ? यो मान्छेको रुचीमा भर पर्छ । संसारमा लाखौं किताब छन् । सबै पढेर हुँदैन । भ्याईंदैन पनि । अतः आफ्नो रुचीलाई छाम्नुहोस् र पढ्न थाल्नुहोस् । यसरी पढ्नुहोस् कि तपाईंको पठन सिनेमा हेरेजस्तै होस्, आनन्दमय । खेल हेरेजस्तै होस्, जोसिलो । संगीत सुनेजस्तै होस्, लयबद्ध । ध्यान गरेजस्तै होस्, एकाग्र । अथवा तपाईंको पठन उत्सवमय र आनन्ददायक होस् । पढ्नु जीवन जिउने एक सुन्दर कला हो ।

(१ पुस २०७९ मा बुक क्लब भक्तपुरले ‘नेपाली राजनीतिको पुनर्गठन’, ‘मोक्षभूमि’ र ‘माधवी ओ माधवी’का लेखक केशव दाहालसँग लेखन, किताब, कथा र पात्रहरूमाथि निरज लवजुले गरेको अन्तरसम्वादको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?