+
+

विकास समितिको बैठक नबस्दा कोसीका चिकित्सक र कर्मचारीले पाएनन् तलब

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १९:३८

३ पुस, विराटनगर । कोसी अस्पताल विराटनगरमा कायरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित पारिश्रमिक नपाएपछि अस्पताल विकास समितिबाट नियुक्त भएका १२१ जना चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

कोसी अस्पताल विकास समितिको बैठक बस्न नसकेका कारण कर्मचारीले तलब पाएका छैनन् । कात्तिक र मंसिर महिनाको तलब नपाएको आन्दोलनमा उत्रिएका कर्मचारीले बताए ।

उनीहरुले आइतबार बिहान १ घण्टा अस्पताल प्रशासनअगाडि धर्ना दिएका थिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालको ओपीडी सेवा बन्द भएको थियो ।

विकास समितिले चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन, अनमी, फार्मेसी सहायक, ल्याब टेक्निसियन, खरिदार, मुखिया, चालक, कार्यालय सहयोगीसहित गरेर १२१ जनालाई करारमा नियुक्त गरेको थियो । आन्दोलनअन्तर्गत सोमबार हातमा कालोपट्टि बाँधेर र मंगलबार अस्पताल परिसरमै बिरामीको उपचार गर्ने चिकित्सकको तयारी छ ।

राजनीतिक खिचातानीका कारण अस्पताल विकास समितिको बैठक बस्न सकेको छैन । समितिको नियमित बैठक बस्न नसक्दा उनीहरुको करार अवधि पनि थप भएको छैन ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादव काठमाडौंमा छन् ।

अस्पताल विकास समितिका अध्यक्ष महेश भट्राईले समितिको सदस्य सचिव समेत रहेका मेडिकल सुपरिटेन्डेन्टले बैठक नबोलाउँदा समस्या निम्तिएको बताए ।

केपी ओली प्रधानमन्त्री भएका बेला भट्टराई नेतृत्वमा समिति गठन भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ माघ २१ गते समिति अध्यक्ष र सदस्यलाई पदमुक्त गर्दै २०७८ फागुन १८ गते भीष्मजंग कार्कीको अध्यक्षतामा नयाँ समिति बनायो ।

महेश भट्टराईको अध्यक्षतामा रहेको समितिलाई पदबाट हटाउने निर्णय कार्यान्यन नगर्न सर्वाेच्च अदालतको आदेशपछि पुरानै समिति सक्रिय छ । पुरानो समितिको बैठक नबोलाउन मेसु यादवलाई सत्तागठबन्धनमा रहेका दलका नेताले दबाब दिएको स्रोतले बतायो ।

प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालमा चिकित्सक र कर्मचारी गरेर ६ सय १ जना कार्यरत छन् । तीमध्ये तलब नपाएका १ सय २१ जना विकास समितिले करारमा नियुक्त गरेकाहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?