+
+

लियोनल स्कालोनी : ‘कसैले नचाहेको’ पद लिएर विश्व विजेता

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ पुष ४ गते १६:४३

४ पुस, काठमाडौं । लियोनल स्कालोनी कुनै ‘हाइ प्रोफाइल’ प्रशिक्षक होइनन् । उनको खास चर्चा पनि हुँदैन । कतारमा अर्जेन्टिनाको विश्वकप उपाधि यात्रामा लियोनल मेसीकै सबैभन्दा धेरै चर्चा भयो ।

तर, अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि जिताउने र मेसीको सपना पूरा गर्ने पर्दा पछाडिका नायक हुन्– प्रशिक्षक स्कालोनी ।

सुपरस्टार लियोनल मेसीले विश्वकपमा आफ्नो अन्तिम खेल जित्दै पहिलो पटक विश्वकप ट्रफी उचाल्दा अर्जेन्टिनाको ग्रान्ड डिजाइनर उनै रहे । फुटबल इतिहासमा मेसीले जितेको सबैभन्दा ठूलो उपाधि यी स्कालोनीको डिजाइनबिना सम्भव थिएन ।
स्कालोनी कतारमा सम्पन्न विश्वकपमा सबैभन्दा कान्छा प्रशिक्षक हुन् । उनी ४४ वर्षका भए ।

धेरैलाई लाग्न सक्छ को हुन् यी स्कालोनी ?

उनले कहाँ कहाँ प्रशिक्षक भएर काम गरे ?

अब त्यसको जवाफ आइसकेको छ । उनी विश्वविजेता प्रशिक्षक हुन् । अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि जिताउने प्रशिक्षक ।

खेलाडी जीवनमा स्कालोनीले कुनै समय अहिलेका सुपरस्टार लियोनल मेसीसँग टिममेट भएर पनि खेले । यी दुईले विश्वकपमा एक खेल सँगै खेलेका छन् ।

अहिले मेसीले पहिलो पटक पटक विश्वकप उपाधि जित्दा स्कालोनीले भने प्रशिक्षकको रुपमा पहिलो पटक विश्वकप जिते ।

गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउँदै २९ वर्षे अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्दा पनि उनै स्कालोनी नायक थिए ।

यसरी बनेका थिए प्रशिक्षक

सन् २०१८ मा रुसमा भएको विश्वकपमा लियोनल मेस्सीको अर्जेन्टिनी टिम फ्रान्ससँग पराजित हुँदै अन्तिम–१६ बाटै बाहिरिएको थियो । त्यसपछि प्रशिक्षक जर्ज साम्पाओलीले पद छाडे ।

त्यसबेला राष्ट्रिय टिमका डिफेण्डर निकोलस ट्यालिएफिकोले भनेका थिए, ‘कसैले पनि राष्ट्रिय टिमको जिम्मेवारी लिन चाँहैदैनन् ।’

हुन पनि अर्जेन्टिनाको प्रशिक्षक बन्न कोही तयार थिएनन् ।

त्यतिबेला अर्जेन्टिनी टिममा केही राम्रो भएको थिएन ।

सोही समयमा पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका स्कालोनीलाई फोन गयो । ४० वर्षीया उनीसँग मुख्य प्रशिक्षणको अनुभव थिएन । प्रशिक्षक बन्ने प्रस्तावसहित फोन आउँदा स्कालोनी आफैं अचम्ममा परेका थिए ।

त्यसअघि उनले साम्पाओलीसँग स्पेनिस क्लब सेभिया र अर्जेन्टिनामा सहायक भएर काम गरेका थिए ।

स्कालोनी अर्जेन्टिनाको कार्यवाहक प्रशिक्षक बने । आफ्नै पूर्व टिममेट पाउलो आइमरलाई आफ्नो सहायक नियुक्त गरे ।

त्यतिबेला महान खेलाडी डिएगो म्याराडोनाले भने अर्जेन्टिनी फुटबल संघको यो निर्णयको आलोचना गरेका थिए । उनले भनेका थिए, ‘उनी राम्रा व्यक्ति हुन् तर, उनले ट्राफिक नै निर्देशन गर्न सक्दैनन् । अनि कसरी स्कालोनीलाई राष्ट्रिय टिम हेर्न दिन मिल्छ ? के सबै पागल भए ? ‘असाडो’ खानुस् तर राष्ट्रिय टिमकै प्रशिक्षक ? यो तपाईंहरुले गलत गर्नुभयो ।’

स्कालोनीको आलोचना गर्ने म्याराडोनाले उनकै डिजाइनमा अर्जेन्टिनाले तेस्रोपल्ट विश्वकप जितेको हेर्न पाएनन् ।  सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउने कप्तान म्याराडोनाको दुई वर्षअघि निधन भइसकेको छ ।

स्कालोनीको कार्यवाहक प्रशिक्षकको रुपमा सुरुमा ६ खेलको प्रशिक्षण सम्हाले । त्यसपछि अर्जेन्टाइन फुटबल संघले उनलाई २०१९ को कोपा अमेरिकासम्मका लागि स्थायी प्रशिक्षकको रुपमा नियुक्त गर्‍यो । २०१९ को कोपामा अर्जेन्टिना तेस्रो भए पनि स्कालोनी प्रशिक्षकमा निरन्तर रहे ।

स्कालोनीले अर्जेन्टिनालाई एकजुट बनाए । सामूहिक भावनालाई बढावा दिए, मेसीलाई अधिकतम बनाउन एउटा खाका बनाए र अन्ततः फुटबल–पागल राष्ट्रलाई दुई वर्षको अन्तरमा कोपा अमेरिका र विश्वकप दिलाए ।

उनले आफ्नो पहिलो प्रशिक्षणकालमै अर्जेन्टिनालाई संकटदेखि शिखरसम्म पुर्‍याए । कोपा अमेरिकादेखि विश्वकपसम्म जिताए । अर्जेन्टिनालाई यस बीचमा लगातार ३६ खेलसम्म अपराजित बनाए ।

विश्वकपमा कान्छा प्रशिक्षकका रुपमा पुगेका उनले आफ्नो आइडलदेखि अनुभवी प्रशिक्षकहरुलाई समेत माथ दिए भने हरेक खेलमा फरक फर्म्याटमा टिम उतार्दै सफलता दिलाए ।

स्कालोनी कोपा अमेरिका र विश्वकप जित्ने तेस्रो प्रशिक्षक हुन् । यसअघि मारियो जागालो र कार्लोस अल्बर्टो परेइराले ब्राजिललाई यो उपलब्धि दिलाएका छन् ।

स्कालोनीले २०१६ मा ट्वीट गरेको एउटा तस्वीर समेत अहिले भाइरल भएको छ । अर्जेन्टिनाका लागि लगातार तीन फाइनल (एक विश्वकप र दुई कोपा) हारेपछि मेसीले सन्यास लिने निर्णय गरेका थिए र सन्यास फिर्ता लिन प्रायस गर्दै स्कालोनीले ‘डन्ट गो लियो’ भनेर ट्वीट गरेका थिए ।

मेसीले सन्यास फिर्ता लिए र त्यसपछि यी दुई लियो मिलेर अर्जेन्टिनालको सफलताको बाटो कोरे । एउटा रणनीति बनाउने, अर्को मैदानमा देखाउने । ३६ वर्षपछिको विश्वकपको उपाधि त्यसैको प्रतिफल हो ।

सन् २०१९ मा उनले प्रशिक्षकको रुपमा कोपा अमेरिकामा अर्जेन्टिनालाई पहिलो पटक प्रशिक्षण दिँदा सेमिफाइनलसम्म पुर्‍याए । जहाँ अर्जेन्टिना ब्राजिलसँग पराजित भएको थियो । त्यसपछि अर्जेन्टिनाले गज्जबको लय लियो । २०२१ मा अपराजित रहँदै  फाइनलमा ब्राजिललाई उसैको मैदानमा स्तब्ध पारेर कोपा उपाधि दिलाउनु उनको पहिलो ठूलो सफलता थियो ।

अर्जेन्टिनाका लागि ७ खेल, मेसीका टिममेट

स्कालोनीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट जम्मा ७ खेलमात्र खेलेका छन् । मेसीले सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यू गर्दा स्कालोनीले अन्तिम पटक विश्वकप खेल्दै थिए । स्कालोनीले खेलको त्यो नै एक मात्र विश्वकप थियो जहाँ, अर्जेन्टिना जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

स्कालोनीले सन् २००३ देखि २००६ सम्म अर्जेन्टिनी टिमबाट खेलेका हुन् । मिडफिल्डडर उनले ७ खेल खेल्दा गोल भने गर्न सकेनन् ।

मेसी र स्कालोनी अर्जेन्टिनी टिममेट रहेको धेरैलाई थाहा नहुन सक्छ । रमाइलो तथ्य के छ भने त्यो  विश्वकपमा स्कालोनी र मेसीले सँगै खेल्ने अवसर समेत पाए । मेक्सिकोविरुद्ध प्रिक्वाटरफाइनलमा स्कालोनीले पहिलो रोजाइमा खेल्दै पूरा समय मैदानमा बिताएका थिए । मेस्सी भने ८४ औं मिनेटमा ह्याभिएर साभिओलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?