+
+

संसदीय दलमा गगनको दाबीलाई स्थापित गराएका विश्वप्रकाश

गौरव पोखरेल गौरव पोखरेल
२०७९ पुष ६ गते ६:००

५ पुस, काठमाडौं । ६ महिनाअघि (४ असारमा) प्रशारण भएको एक टेलिभिजन कार्यक्रममा नेपाली कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलमा ‘एटेम्ट’ गर्ने पहिलो घोषणा गरे ।

‘के तपाईं आफूलाई प्रधानमन्त्री पदका लागि योग्य छु भन्ने सोच्नुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा थापाले संसदीय दलमा आफ्नो दाबी रहने बताएका थिए ।

थापासँगै निम्त्याइएकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पनि उही प्रश्न सोधिएको थियो । तर उनले स्पष्ट जवाफ दिइनन् । बरु गगनले फेरि अघि बढेर भने, ‘कहाँ सोच्ने हो ? एटेम्प्ट गर्ने हो ।’

यो त्यसबेलाको कुरा हो, जतिबेलासम्म सरकारले चुनावको मिति समेत घोषणा गरिसकेको थिएन ।

तर अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनले संसदीय दलमा प्रतिष्पर्धा गर्छु भन्दा आफूले समर्थन गर्ने उद्घोष गरे । त्यसयता उनी निरन्तर गगनको पक्षमा बोलिरहे ।

विद्यार्थी राजनीतिमा गगनभन्दा विश्वप्रकाश सिनियर हुन् । उनी नेपाल विद्यार्थी संघको सभापति हुँदा गगन थापा उपसभापति थिए । तर पार्टी र संसदीय राजनीतिमा गगन अगाडि रहे ।

पहिलो संविधानसभामा समानुपातिक सांसद भएका गगनले त्यसयता निरन्तर चुनाव जिते, पार्टी केन्द्रीय समितिमा पुगे । १४औं महाधिवेशनमा फेरि दुबै पार्टीको महामन्त्री चुनिए । त्यसबेलादेखि नै दुई महामन्त्रीले सहकार्य सुरु गरेका थिए ।

संसदीय दलको नेतामा गगनले दाबी गर्दा उनको समूहकै नेताहरु भन विश्वप्रकाश अगाडि बढेर समर्थन गरे । काठमाडौं–४ मा चुनाव लडेका गगनले भावी प्रधानमन्त्रीका रुपमा मत मागेपछि झापा १ मा प्रतिस्पर्धा गरिरहेका अर्का महामन्त्री विश्वप्रकाशले चुनाव जितेर गए आफू प्रस्तावक बन्ने घोषणा गरे ।

गगनको समर्थक बस्छु भनेर भोट माग्नु विश्वप्रकाशका लागि प्रत्योत्पादक पनि बन्नसक्थ्यो । किनकि, पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवा पक्षमा खुलेका नेता कृष्ण सिटौलाको झापामा बलियो पकड थियो । ‘उहाँले जोखिम मोलेरै भएपनि गगनको पक्षमा बोल्नु भएको हो’, झापाका एक कांग्रेस नेता भन्छन् ।

चुनावको परिणाम सार्वजनिक भइसकेको अवस्थासम्म पनि गगनको पक्षमा खुलेर समर्थन गर्ने थोरै नेताहरूमा शर्मा पर्थे । प्रकाशमान समूहबाट महामन्त्री निर्वाचित शर्माले खुलेर समर्थन गर्दा गगन उभिएको शेखर कोइराला समूह चाहिँ मंगलबार संसदीय दलको निर्वाचन अघिसम्म पनि अर्निणित थियो ।

शेखर आफैं प्रष्तिपर्धामा उत्रिने तयारीमा थिए । तर मंगलबार दिउँसो मनोनयन दर्ता गर्ने बेलामा शेखर स्वयम् गगनको समर्थक मात्र बनेनन्, संस्थापन समूहबाट महामन्त्रीको चुनाव लडेका प्रदीप पौडेल पनि गगनको पक्षमा उभिए ।

जसै शेखरले गगनलाई साथ दिने निर्णय गरे, सुरुमा विश्वप्रकाश शर्मा र त्यसपछि प्रदीप पौडेल शेखर समूहको बैठकस्थल पुगे । सिंहदरबारस्थित होटल बसेराको बैठक स्थलमा पुग्दा सहभागीहरुले ताली बजाएर स्वागत गरे ।

नेताहरुका अनुसार गगनलाई संसदीय दलको उम्मेदवार बनाउन सहमति जुटाउने क्रममा अर्का महामन्त्री विश्वप्रकाशले समेत शेखरलाई १५औं महाधिवेशनमा सभापतिमा सघाउने बचन दिएका छन् ।

त्यसो भए विश्वप्रकाशले के पाउँछन् त ? उनी निकट कांग्रेस नेता दिनेश थापा मगर भन्छन्, ‘यो लेनदन भन्दा पनि महामन्त्रीज्यूले पार्टीलाई रुपान्तरणका जरुरी छ भन्ने सन्देश दिन खोज्नु भएको हो ।’

महामन्त्री शर्माले ‘सबै आफैंलाई चाहियो, मै हुनुपर्छ भन्ने प्रवृत्तिलाई पनि परिवर्तन गर्नुपर्छ’ भन्ने सन्देश दिएको उनी बताउँछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?