+
+

जुवेदा खातुनको यात्रा : स्कुलदेखि संसदसम्म

सागर चन्द सागर चन्द
२०७९ पुष ६ गते १४:२८

६ पुस, काठमाडौं । सात वर्ष अगाडिसम्म जुवेदा आफ्ना छोरीसँगै स्कुल जान्थिन् । यो रुटिन अहिले कलेज पुग्दा भने केही फेरिएको छ । कलेजसँगै जुवेदाको दैनिकीमा संसद जानुपर्ने जिम्मेवारी पनि थपिएको छ ।

सात कक्षा पढ्दापढ्दै ०५६ मा परिवारको दबावमा स्कुल छाडेर विवाह गर्नुपर्‍यो जुवेदाले । विवाहको १५ वर्षपछि उनी जेठी छोरी हिनासँगै ८ कक्षामा भर्ना भइन् । सन्तान पढाउनुपर्ने उमेरमा आफैं स्कुल जान थालेपछि जोरीपारीले उनलाई गिज्याए ।

नेपाली कांग्रेसबाट समानुपातिक सांसद छानिएकी बर्दियाकी जुवेदालाई संसदसम्म पुर्‍याउने बिन्दु स्कुल नै हो । स्कुल छाडेको १५ वर्षपछि फेरि स्कुल जान थाल्दा जुवेदालाई एसएलसी पास गर्ने धोको थियो । त्यही धोको पूरा गर्न उनले दुई पटक एसएलसी परीक्षा दिइन् । मौका परीक्षा दिएर एसएलसी पास भएकी उनलाई धेरैले पढाइ छाड्न सल्लाह दिएका थिए ।

छोरीसँगै स्कुल जाने हिम्मत गर्ने जुवेदाले यस्ता सल्लाहलाई सुनेको नसुन्यै गरिन् । ‘छोरीसँगै एसएलसी दिएँ, तर फेल भएँ । सबैले अब नपढ भने, तर मलाई भने नातिसँग एसलएसली दिएर भएपनि पास हुन्छु भन्ने थियो ।’ मौका परीक्षा दिएर पनि उनले एसएलसी पास गरेरै छाडिन् ।

एसलएसी पास गर्दासम्म जुवेदा गाउँघरका सामाजिक काममा सक्रिय भइसकेकी थिइन् । सामुदायिक वन उपभोक्ता महासंघको उनी केन्द्रीय सदस्यसम्म भइन् ।

राजनीति र सामाजिक काममा सक्रिय रहेकी उनले एसएलसीपछि छोरीसँगै कलेज भर्ना भइन् । ०६६ बाट भने जुवेदा कांग्रेसको राजनीतिमा सक्रिय भइन् ।

जुवेदाको माइती र घर दुबै परिवार कांग्रेस समर्थक थिए । जुवेदालाई कांग्रेसको राजनीतिमा आउन सजिलो भयो । उनले कांग्रेसको सदस्यता भने ०६३ सालमै लिएकी थिइन् ।

श्रीमान फर्मान अलि जागासँगै सासु, ससुराको सहयोग पाएपछि जुवेदाको राजनीतिक यात्रा सहज भयो । तर, समाज भने जुवेदाले अभ्यास गरिरहेको स्वतन्त्रताको पक्षमा थिएन ।

श्रीमानसँग जुवेदा खातुन ।

उनी भन्छिन्, ‘गाउँ समाजका मान्छे अनेक भन्थे, कुरा काट्थे । त्यसैले म कार्यक्रम, तालिममा गाउँ बाहिर जाँदा श्रीमान पनि साथमै जानुहुन्थ्यो ।’ जुवेदालाई स्कुल जान हौस्याउने पनि उनका श्रीमान् नै हुन् ।

श्रीमतीलाई स्कुल पठाउने श्रीमान फर्मान आफैं भने निरक्षर छन् । श्रीमानले हरेक कदममा साथ दिएकै कारण आफूले संसदसम्मको यात्रा गरेको बताउँछिन् जुवेदा ।

जुवेदामाथि परिवारको विश्वास र भरोसाले नै उनलाई कांग्रेसको १२ औं र १३ औं महाधिवेशन प्रतिनिधि हुने मौका दियो । एक वर्ष अगाडि भएको कांग्रेसको १४ औं महाधिवेशनमा पहिलो महिला मुस्लिम केन्द्रीय सदस्य निर्वाचित भएर जुवेदाले इतिहास रचिन् ।

एकपछि अर्को सफलता हात पार्दै गएकी जुवेदा आफूलाई सामान्य महिलाका रुपमा चिनाउँछिन् । ‘सबै चिजले सम्पन्न होइनौं हामी । दुःख, सुख गरेर पढ्ने रहर पूरा गर्दागर्दै यहाँ आइपुगेकी हुँ,’ उनी सुनाउँछिन् । आफ्नो यो संघर्ष र सफलतालाई मुस्लिम समुदायका छोरीबुहारीको हितमा प्रयोग गर्ने उनको योजना छ ।

सांसद भइसकेपछि भने आफ्नो जिम्मेवारी बढेको जुवेदाले महसुस गरेकी छिन् । संसदमा मुस्लिम समुदायका छोरी, बुहारीको शिक्षाका लागि आवाज उठाउनु आफ्नो मुख्य दायित्व हुने उनले बताइन् । ‘मुस्लिम समुदायका छोरी, बुहारीको शिक्षाका विषयमा आवाज उठाउँछु,’ उनले सुनाइन्, ‘सबै मुस्लिम छोरी बुहारी मैले जस्तै संघर्ष गरेर पढ्न सक्दैनन् । त्यसैले उनीहरुका लागि मैले बोल्नुपर्छ ।’

०७४ मा नेपाली कांग्रेसले उनलाई लुम्बिनी प्रदेशसभाको समानुपातिक सूचीमा राखेको थियो । तर, त्यतिखेर भने उनलाई सांसद छानिएन । यसपटक पनि आफू सांसद छानिन्छु भन्ने उनलाई विश्वास थिएन ।

सामाजिक बन्देज तोड्दै छोरीसँग स्कुल जान थालेकी जुवेदाले स्कुलबाट सुरु गरेको यात्रा यतिखेर संसदसम्म पुगेको छ ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?