+
+

मण्डनदेउपुरका घरघरमा इन्द्रावतीको पानी

रासस रासस
२०७९ पुष ६ गते १६:५४
फाइल तस्वीर

६ पुस, काभ्रेपलाञ्चोक। खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा इन्द्रावती नदीको पानी पुर्‍याईंदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट घरघरमा पुर्‍याइने भएको हो ।

टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको जिन्दगानी बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउन लागिएको हो ।

विसं २०७८ असारमा वृहत खानेपानी आयोजनाको प्रशासनिक प्रक्रिया थालेलगत्तै पहिलो चरणमा रु ५४ करोडको लागतमा ठेक्का आह्वान गरी निर्माण थालिएको थियो । आयोजनाको हाल ६८ प्रतिशत काम सकिएको मण्डनदेउपुर सुख्खा क्षेत्र वृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताए ।

स्वीकृत बजेटमध्ये करिब आधा बजेटबाट हाल आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता गरिएको छ । विसं २०७७ चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत भएको थियो । उक्त आयोजनाको २०७८ मङ्सिरमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिलान्यास गरेका थिए ।

आयोजना तीन वर्षमा सक्ने समयसीमा निर्धारण गरिए पनि यसै वर्षभित्र सक्ने लक्षण देखिएको छ । शर्मा-लामा-रमण जेभी नामक ठेकेदार कम्पनीले आयोजना निर्माण गरिरहेको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरको १२ मध्ये खानेपानीको समस्या झेलिरहेको नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको छ ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रति उपभोक्ता रु एक हजार सङ्कलन गरेको थियो । नगरसँग खानेपानी आयोजनामा एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको अध्यक्ष तामाङले बताउनुभयो । आयोजनालाई नगरले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको थियो ।

हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेबाट पानी खसालिने छ । अध्यक्ष तामाङका अनुसार नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । इन्द्रावतीको पानी प्रशोधन गरेर नौ सय मिटरको उचाइमा अवस्थित थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ ।

उक्त आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० सहित २३ वटा वितरण ट्याङ्की निर्माण गरिएको छ । वितरण ट्याङ्की २० देखि एक सय घनमिटरसम्मका छन् । यस्तै ४० देखि दुई सय घनमिटरका पम्पिङ गर्ने सातवटा ट्याङ्की निर्माण गरिएको छ ।

आयोजनाको मुख्य पाइलान ३६ किलोमिटरको हुने जनाइएको छ । हाल मुख्य पाइलाइन विछ्याउने काम भइरहेको छ । वितरणलाइन भने एक सय ५४ किलोमिटर सहित कूल एक सय ८० किलोमिटर पाइपलाइन हुनेछ ।

यसैगरी खानेपानी आयोजनाको कार्यालय भवन पनि निर्माण गरिएको छ । घरघरमा धारा जडानको काम बाँकी रहेको अध्यक्ष तामाङले बताउनुभयो । आयोजनाबाट नगरको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का पाँच हजार पाँच सय पाँच घरधुरी लाभान्वित हुनेछन् ।

प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । गोर्खा भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?