+
+

शंकाकै बीच सुरु हुँदै नेपाल टी-२० लिग

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ पुष ८ गते १५:२३

८ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महत्वाकांक्षी प्रोजेक्टको रुपमा रहेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-२० लिगको आयोजना मिति विभिन्न कारणले गर्दा तेस्रो पटक सारियो ।

तीन पटक मिति सरेपछि चौथो पटक तय गरिएको मिति पुस ९ गते शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग सुरु गर्ने क्यानको तयारी छ ।

क्यानले लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ । क्यान र सेभेन थ्री स्पोर्ट्स मिलेर पहिलो संस्करणको नेपाल टी-२० लिग आयोजना हुन लागेको हो ।

तर सेभेन थ्री स्पोर्ट्सलाई अधिकार दिएकैले लिगको घोषणा भएदेखि नै यो विवादमा पर्दै यसको आलोचना हुँदै आएको थियो । क्यानले ८ वर्षका लागि सेभेन थ्री स्पोर्ट्ससँग ३३ करोडको सम्झौता पनि गरिसकेको छ ।

यसअघि नेपालमा फ्रेन्चाइज लिग आयोजना गरिसकेको एभरेष्ट प्रिमियर लिगका आयोजक अमिर अख्तरले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतालाई लिएर अदालतमा रिट दायर गरेपछि लिग झनै विवादमा फसेको थियो ।

अदालतमा मुद्दासँग जोडिएपछि लिग हुने कि नहुने भन्ने शंक यसअघि देखि नै उब्जिएको थियो । सेभेन थ्री स्पोर्ट्सको बारेमा प्रश्न उठेपछि क्यानले समेत तोकिएकै समयमा सबै तयारी गर्न नसकेको स्वीकार गरिसकेको छ ।

शुक्रबारदेखि नै हुने भनिएको विदेशी खेलाडीको श्रम स्वीकृतिमा ढिलाइ भएकोले तेस्रो पटक तोकिएको मितिमा हुन सकेन र त्यसको एक दिनपछि प्रतियोगिता गर्ने तयारी भइरहेको छ ।

आयोजक क्यान र कमर्सियल एण्ड स्ट्राटेजिक राइट पाएको सेभेन थ्री स्पोर्ट्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिग आयोजनाका लागि सबै तयारी भइसकेको र अन्तिम चरणको तयारी शुक्रबार सकिने जानकारी दिएको छ ।

तर खेलाडी श्रम स्वीकृतिको काम पूरा हुन समय लाग्ने देखिएकोले चौथो पटक तोकिएको मितिमा पनि लिग हुन्छ कि हुँदैन भन्ने अझै शंका छ ।

तर क्यान अध्यक्ष चतुरबहादुर चन्द र सेभेन थ्री स्पोर्ट्सका जतिन आहलुवालियाले शनिबारदेखि नै लिग सुरु हुने बताएका छन् ।

लिगमा सहभागी ६ वटै फ्रेन्चाइजका मालिक/प्रतिनिधिहरुले पनि प्रतियोगिताको लागि तयार रहेको बताएका छन् ।

‘विवाद केही छैन । हामीले खेलाडीको श्रमको काम बाँकी भएकोले एक दिन पछि सारेका हौँ । विदेशी खेलाडी आइसकेका छन् । क्यान तयार छ । स्ट्राटेजिक पार्टनर तयार छ । दिन प्रतिदिन प्रतियोगिता राम्रो हुँदै जान्छ भन्ने विश्वास छ,’ क्यान अध्यक्ष चन्दले भने, ‘क्यान यसमा लागि परेको छ । सफल भयो भने डूलो ब्राण्ड बन्छ । यसले नेपाली क्रिकेटलाई फाइदा हुन्छ । सही नियतले गरेकाले नेपाली क्रिकेटकको हितमा हुन्छ भन्ने छ ।’

चन्दले नकरात्मक धेरै भएको र सकरात्मक भएर सोचिदिन आग्रह गरे ।

चन्दले क्यानको साधारण सभाले नै पास गरेर सेभेन थ्री स्पोर्ट्सलाई अधिकार दिएर अघि बढेको बताउँदै सोचेअनुसार साथ र सहयोग नपाएको बताए । ‘हामीले टी-२० लिग घोषणा भएदेखि नै खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सहि नियतले गरेका हौं । एशोसिएट नेसनलाई यो काम गर्न गाह्रै हुने रैछ । ८ वर्षका लागि क्यानको साधारण सभाले विदेशी कम्पनीलाई अधिकार दिने र सरकारको अप्रुभल लिने भनेर निर्णय गरेको हो । तर भनेअनुसार काम गर्न सकेन ।’

यसबीचमा मुद्दा मामिलामा पर्दा केही कठिनाइ भएको पनि चन्दले बताए । ‘केही साथीले मुद्दा दायर गर्नुभयो । स्टे माग्नु भाथ्यो । सुप्रिम कोर्टले आदेश दिएन । उहाँहरु हामी विरुद्ध नेपालको सबै निकायमा पुग्नु भयो । अझ विदेशी बोर्डलाई समेत पत्र लेखेर नेपाल टी-२० लाई मुद्दा परेको छ भनेर भन्नुभयो’, अध्यक्ष चन्दले नाम नभनेपनि उनको संकेत इपीएलका आयोजक आमिर अख्तरतिर नै थियो ।

काम गर्दा केही त्रुटी हुने भन्दै विभिन्न किसिमको वाधा आउँदा भने अनुसार काम गर्न नसकेको उनले स्वीकार गरे ।

सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिनले नेपालमा विश्वस्तरिय क्रिकेट खेलाडी तयार गर्ने लक्ष्यका साथ आएको तर यहाँ चुनौती सामना गर्न परेको बताए । ‘हामी विश्व स्तरीय क्रिकेट बनाउने लक्ष्यसहित नेपाल आएका थियौं । हामीले गरेका कामहरुहरुमा हामी धेरै चुनौतीहरु फेस गर्‍यौं । दैनिक रुपमै चुनौती सामना गर्नुपर्‍यो, जतिनले शुक्रबार पत्रकार सम्मेलनमा भने, हामी सिथिल छौं तर थाकेका छैनौं ।’

नेपालमा यहाँको क्रिकेट खेलाडी क्षमतावान रहेको र विश्वकपमा खेल्नदेखि कुनै दिन विश्वकप जित्न लायक समेत रहेको बताए । त्यसका लागि १९८३ मा भारतले विश्वकप जित्दाको उदाहरण दिए ।

जतिनले नेपाल टी-२० लिगले खेलाडी, क्यान, फ्यानदेखि आर्थिक रुपमै सहयोग गर्ने समेत बताए ।

लिग हुने अघिल्लो दिनसम्म खेलाडीको श्रम स्वीकृति, कट्टी विदेशी खेलाडी खेल्न पाउने देखि मुख्य प्रायोजक र पुरस्कारको विषयमा केही सार्वजनिक थिएन । शुक्रबारै पत्रकार सम्मेलनमा यस विषयमा केही सार्वजनिक भयो ।

लिगको मुख्य प्रायोजकमा वान एक्स ब्याट रहेको जतिनले बताए । साथै उनले पुरस्कार राशी समेत घोषणा गरे ।

वान एक्स बेट जस्तै सुनिले वान एक्स ब्याट इन्डियन सुपर लिगको एसोसिएट स्पोनसर र लंका प्रिमियर लिगमा पावर्ड बाई स्पोनसरको रुपमा रहेको छ ।

‘वान एक्स ब्याट आईसीसीबाट अप्रुभ पाएको कम्पनी हो । एलपीएलको स्पोनसर छ । हामी क्लिन क्रिकेट गर्छौँ । हामी ग्याम्बलिङ र बेटिङमा विश्वास गर्दैनौँ, जतिनले भने, ‘स्पोर्ट्स राडरले सबै ३४ खेल कभर गर्छ । बेटिङको बारेमा बोर्डले पछि हेर्छ । यसमा बेटिङ हुँदैन ।’

जतिनले ६ फ्रेन्चाइज टिम फरक मालिक भएकोले र सबैलाई आईसीसीले अप्रुभ गरेको भन्दै कानु सम्मत रहेको बताए । एउटा कम्नीले दुई तिर काम नगरेको समेत उनले दावी गरे ।

‘विदेशी खेलाडीले खेल्छन्’

अहिले सबैभन्दा ठूलो चासो विदेशी खेलाडीको श्रम स्वीकृतिको विषय बनेको छ । श्रम स्वीकृतिको लागि राष्ट्रिय खेलकुद परिषदमार्फत जानुपर्ने हुन्छ । तर राखेपले बिहीबारसम्म स्वीकृति दिएको छैन ।

क्यान भने शुक्रबारसम्म जसरी पनि स्वीकृति लिने र विदेशी खेलाडीले खेल्ने प्रक्रिया पूरा गर्ने बताएको छ ।

‘केही पेपरवर्कको काम बाँकी थियो । त्यसमा काम भइराछ । त्यसकै लागि हामीले एक दिन पछि सारेका हौँ । यसमा फ्रेन्चाइज मालिकहरु मान्दिनुभयो धन्यवाद दिन चाहन्छौं । बाँकी काम पनि हामी चाँडै पूरा गर्छौँ ।’

अध्यक्ष चन्दले काम गर्न खोज्दा खुट्टा तान्ने र नगर्दा गर्न सकेन भनेर भन्ने गरेको बताए । ‘क्यानले काम गर्न खोजेको हो । तर विभिन्न बाधा आइरहेको । क्यानमै यसले विवाद ल्यायो । गरेन भने निकम्पा भन्नछन् । सही नियत साथ अघि बढेका छौं’, चन्दले भने ।

यस्तै सेभेन थ्रीका अध्यक्ष जतिनले शुक्रबार विदेशीको प्रक्रिया पूरा हुने बताए । ‘हामी आजै केही घण्टामा काम पूरा गर्छौं र भोलिदेखि नै विदेशी खेलाडीले खेल्नेछन् ।’

शनिबार उद्घाटन खेल काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच हुनेछ । यस्तै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडबीच पनि शनिबार खेल हुनेछ ।

यदी विदेशी खेलाडीको प्रक्रिया पूरा नभएमा भने सुरुवाती खेलमा विदेशी खेलाडीले खेल्न पाउने छैन ।

लिगमा हरेक टिममा ११ नेपाली र ५ विदेशी खेलाडी हुनेछन् । जसमा ४ विदेशीले प्लेइङ सेटमा खेल्न पाउनेछन् ।

विजेतालाई ५५ लाख

लिगको विजेताले नेपालमा हुने क्रिकेटमध्ये अहिलेसम्मकै सर्वमधिक ५५ लाख पुरस्कार पाउनेछन् ।

जतिनले कूल पुरस्कार राशी १ करोड २५ लाख रहेको बताए । उपविजेताले ३० लाख, तेस्रोले १० लाख र चौथो हुनेले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले ५ लाख तथा उत्कृष्ट ब्याटर र बलरले समान साढे दुई लाख पाउनेछन् । इमर्जिङ खेलाडीले १ लाख ८० हजार रुपैयाँ पाउनेछन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?