+
+

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलमा आधा दर्जन आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १८:१९

८ पुस, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभाका लागि संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट ४ र इतरबाट २ जनाले दलको नेतामा दाबी गरेका छन् ।

संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका छन् । संस्थापन पक्षबाट दाबी गरेका चार मध्ये २ जना गृहमन्त्री बालकृष्ण खाँण निकट हुन् ।

दाङ–२ (क) बाट निर्वाचित राजु खनाल र बर्दिया २ (क) बाट निर्वाचित जन्मजय तिमिल्सिना गृहमन्त्री खाँण निकट हुन् । खनालले विद्यार्थी राजनीति हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेका थिए । तिमिल्सिना विगतमा खाँणको सचिवालयमा समेत काम गरेका व्यक्ति हुन् ।

उनी गत महाधिवेशनमा प्रदेश महामन्त्रीमा पराजित भएका थिए । संस्थापनबाट संसदीय दलको नेतामा चर्चामा रहेका अर्का पात्र डिल्ली चौधरी हुन् । दाङ–३ (क) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । चौधरी संविधानसभाका सदस्य समेत हुन् ।

रुपन्देहीका पूर्व जिल्ला सभापति अब्दुल रज्जाक संसदीय दलको नेतामा दाबी गरेका छन् । रुपन्देही–१ बाट प्रतिनिधि सभामा आकांक्षी रहेका उनी मुख्यमन्त्री हुने बचन पाएपछि प्रदेशमा उठ्न तयार भएका थिए ।

संस्थापनइतरबाट वीरबहादुर रानाको नाम चर्चामा छ । उनी पाल्पाका पूर्व जिल्ला सभापति हुन् । पाल्पा २ (क) बाट निर्वाचित राना हाल प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री छन् । सोही समूहबाट महिलामा निमा गिरीले आकांक्षा देखाएकी छन् । प्रदेश सभामा नौ महिला सांसद छन् ।

नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै कांग्रेस राजनीतिमा प्रवेश गरेकी उनी प्रदेशको सह-महामन्त्री हुन् । प्युठानबाट उनी समानुपातिकबाट प्रदेश सांसद बनेकी हुन् । कांग्रेसले संसदीय दलको नेताको चयन पुसको दोस्रो साता गर्ने तयारी गरेको छ ।

‘१५/१६ गतेतिर सांसदको सपथ गराउने कुरा सुनिएको छ । त्यसको आसपास कांग्रेसको संसदीय दल नेता छान्न चुनाव गर्ने सोंचेका छौं ।’ लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने ।

लुम्बिनीको कांग्रेस राजनीतिमा गृहमन्त्री खाँण प्रभावी हुँदै आएका छन् । प्रदेश कार्यसमितिको नेतृत्व भने इतर पक्षका छन् । प्रत्यक्ष १७ र समानुपातिकमा १० गरि कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् ।

प्रदेश सभामा कूल ८७ संख्या छ । बहुमतका लागि ४४ सांसदको आवश्यक पर्दछ । सत्ता गठबन्धनसँग ४१ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?