+
+

भोजमा जानेहरु किन बिरामी परिरहेका छन् ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ पुष ९ गते १८:५९

९ पुस,काठमाडौं । मंसिर २८ गते रामेछाप नगरपालिका वडा नम्बर ५ को एक बिहे घरमा भोज खाएका ३४ जना स्थानीय एक्कासी बिरामी परे ।

वडा अध्यक्ष हरिश्वचन्द्र श्रेष्ठका अनुसार बिरामी भएका अधिकांशलाई टाउको दुख्ने, वाकवाकी हुने र पखाला लाग्ने लक्षण देखिएको थियो ।

‘अधिकांश मानिसलाई यस्तो समस्या देखिएपछि हामीले आपत्कालीन उद्धार गरेर स्वास्थ्य चौकी पुर्‍यायौं,’ श्रेष्ठले भने, ‘स्थानीय स्वास्थ्य चौकी र जिल्ला अस्पतालबाट शिविर नै ल्याएर उपचार गरेपछि सबै जना अहिले ठिक भएका छन् ।

यसको एक साताअघि एउटा विवाह भोजमा सहभागी भएका प्युठान र पाल्पाका ८५ जना विरामी परे । मंसिर २० गतेका दिन पाल्पाको बगनासकारी गाउँपालिका चिर्तुङधारामा जन्ती गएका प्युठानका ४५ र पाल्पाकै ४० जना बिरामी परेका थिए ।

गत मंसिर २६ गते चितवनको एक रिसोर्टको बिहे भोजमा सहभागी सबै जना बिरामी परे । चितवन गार्डेन रिसोर्टमा आयोजित विबाह समारोहमा सहभागी बेहुला बेहुलीसहित ३ सय जना सहभागी एकै पटक बिरामी परेका थिए ।

दुई साताको बीचमा फरक फरक स्थानका सामूहिक भोजमा सहभागी ४१९ जना एकै प्रकारको लक्षणबाट बिरामी परे ।

दुई वर्षअघि कैलालीको गोदावरी नगरपालिका १० मा वाषिर्की श्राद्ध खाएका १५ जना बिरामी परे । बिरामी परेकामध्ये एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

यस्तो दुर्घटना यत्तिमै सिमित नरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका आधिकारीहरु बताउँछन् । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर केसीकाअनुसार चार वर्ष अघि पाँच खालमा एउटै भोजमा सहभागी ४ सय जना बिरामी परेका थिए ।

केसीका अनुसार सहकारी संस्थाले तीजको नजिकै आफ्ना सेयर सदस्यहरुका लागि आयोजना गरेको भोजमा सहभागी सबै जना बिरामी परेका थिए । बिवाह, धार्मिक कार्य, पारिवारिक भोज र मृत्यु संस्कार जस्ता विभिन्न जमघटमा सहभागीहरुमा हरेक वर्ष देशका भिन्न भिन्न स्थानमा यस्ता घटना भइरहेका छन् ।

बिरामीका समान लक्षण

रामेछापमा बिरामी परेकाहरुलाई तत्काल उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा पुर्‍याइएको थियो । स्वास्थ्य चौकीका प्रमुख कृष्णबहादुर तामाङकाअनुसार बिरामीहरुमा टाउको र पेट दुख्ने, वान्ता हुने र ज्वरो १०३ डिग्रीसम्म आएको थियो ।

उनीहरुलाई स्वास्थ्य चौकीमा फूड पोइजनिङको प्राथमिक उपचार गरेर जिल्ला अस्पताल रिफर गरिएको तामाङले बताए ।

दोस्रो दिन जिल्ला अस्पतालबाट आएको स्वास्थ्य रिपोर्टअनुसार बिरामी परेका सबैलाई फूड पोइजनिङ भएको पाइएको थियो । ‘बिहेको भोजमा बंगुरको मासु धेरै प्रयोग भएको थियो, पानी पनि राम्रो नभएका पाइयो,’ स्वास्थ्य चौकी प्रमुख तामाङले भने, ‘बिरामीहरु आउँको किटाणुहरु फेला पर्‍यो । पानी र खाना पकाउने बेला सरसफाइमा ध्यान नदिइएको पाइयो ।’

प्युठान नगरपालिकाका मेयर विष्णुबहादुर योगीकाअनुसार भोजमा सहभागी जन्ती र दुलहीपक्षका सबै जना बिरामी परेका थिए । उनीहरु सबैलाई ज्वरो आउने, पेट र टाउको दुख्ने, पखाला लाग्रे, वान्ता आउने समस्या देखिएको थियो ।

मेयर योगीकाअनुसार जन्ती गएर र्फककाको जिल्ला अस्पतालमा दुई दिनको उपचार पछि स्वास्थ्यमा सुधार भएको थियो । ‘भोजमा सहभागी जन्ती र दुलहीपक्षका सबै जना बिरामी परे । उनीहरुलाई ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने भएको थियो’ मेयर योगीले भने ।

केही पुराना घटना र चितवन गार्डेन रिर्सोटको बिहे भोजमा बिरामी परेकाहरुको लक्षण रामेछाप र प्युठान एवम् पाल्पाको घटनासँग मेल खान्छ । चितवनको भरतपुर नेशनल सिटी अस्पतालका चिकित्सक डा.गौरीराम महतोकाअनुसार अस्पतालमा भर्ना भएका बिरामीहरुमा पखाला लाग्ने, वान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको थियो ।

भोजमा सहभागीहरु किन बिरामी पर्छन्

चितवन र रामेछापका घटनामा खाद्य परिक्षण नभए पनि चितवन घटनामा भने खाद्य परिक्षण भएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कार्यालय चितवनले गरेको अध्ययनमा रिसोर्टको भान्सामा फोहोर पाइएको थियो ।

भान्सामा म्याद सकिएको खाद्य पदार्थ भेटिएको थियो भने होटलको भान्सामा संकमण हुनसक्ने आधारहरु प्रशस्त भेटिएको विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्य बताउँछिन् ।

वैद्यकाअनुसार पछिल्लो एक महिनामा देशभर घटेको यस्ता घटनाहरु मध्ये चितवनको रिसोर्टको खाना व्यवस्थित र सेफले पकाएको पाइएको थियो भने अन्यत्र आफ्नो लागि आफैले भोज पकाएका थिए । उनकाअनुसार खाना जसले बनाएको भएपनि त्यसको सुरक्षा र संक्रमण हुन नदिनका लागि भको हेलचेक्रयाई र अज्ञानता दुर्घटनाको मूख्य कारण हो ।

‘खाना बनाउन प्रयोग भएको वस्तुहरुको गुणस्तर, पकाउने प्रयोग भएको उपकरणको स्वच्छता र पकाउने विधिमा अज्ञानता प्रमुख कारण हो,’ महानिर्देशक वैद्य भन्छिन् ‘हामीले परम्परागत तरिकाले भोज गर्‍यौं तर, बदलिएको संक्रमण जोखिमलाई ध्यान दिएनौं ।’ अहिले घटेका सबै घटनाहरुको मुख्यकारण खाद्य स्वच्छतामा अज्ञानता नै भएको भन्दै वैद्यले खाना पकाउनु अघि, पकाउँदा र त्यसको खाने अवधि तथा भण्डारणमा विशेष ध्यान पुर्‍याए यस्तो जोखिम हट्छ ।

अचार र सलादमा उच्च जोखिम

देशभर भएका यस्ता घटनाकहरु मध्ये केही घटनामा अध्ययन गर्दा मासु, अचार र सलाद खानेहरु धेरै बिरामी परेको विभागले जनाएको छ । भोजमा धेरै सलाद र अचार खाएको बताउने मानिसहरु धेरै बिरामी परेको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत केसी बताउँछन् ।

‘थपेर अचार खाएकालाई धेरै च्यापेको रिपोर्टहरु आएका छन्,’ केसी भन्छन्, ‘खाद्य सुरक्षाका दृष्टीले काचो र पाकेको बस्तुहरु धेरै मिसिने यिनै वस्तुहरुका कारण फूड पोइजन हुने हो । र कारण पनि यिनै हुन् ।’

अचारमा आलु पाकेको हुन्छ तर, खुर्सानी र केराउ काँचै हुन्छ, सलादहरु पनि सुरक्षित पानीमा नधोइ राखिएको हुन सक्छन् । यिनै खानाहरुका कारण पखाला र आउँको जिवाणु मानिसको शरिरमा प्रवेश गर्न सक्ने केसी बताउँछन् ।

जोगिने कसरी

सामान्यत खाद्य सुरक्षाको आधारभुत जानकारी नहुँदा नै देशभर भोजमा मानिसहरु बिरामी परेको अनुन्धानहरुले थाहा भएको विभागले जनाएको छ । यसमा खाना पकाउनु अघि के के गर्ने, खाना पकाउँदा के गर्ने ? खाना वितरण र भण्डारण र खाना बनाउँदा सुरक्षित र सफा वस्तु मात्रै राख्ने उपायहरु अपनाउनु पर्ने विभागकी महानिर्देशक जोशी बताउँछिन् ।

सरसफाइ राख्ने

· खाना बनाउँदा वा छुनुअघि हात सफासँग धुने
· शौचालय प्रयोग पछि सफासँग हात धुने
· खाना बनाउने सामग्री सफा राख्ने
· भान्सामा मुसा, किरा र अन्य जीवहरुबाट जोगाउने

. पकाएको र नपाकाएको खाने कुरा छुट्याउने
· नपकाएको माछा, मासुलाई छुट्टा छुट्टै राख्ने
· नपाएको खाने कुरार्ला प्रयोग गर्ने भान्सारको हातहतियार अलग्गै राख्ने
· पकाएको र नपाएको खाने कुरा नमिसाउने
. राम्ररी पकाउने
· सबै खाने कुरा राम्ररी पकाउने (७० सेन्टिग्रेड भन्दा बढीमा पकाउने )
· तरकारी, सुप तथा अन्य पिये वस्तुलाई ७० सेन्टिग्रेड भन्दा बढीमा तताउने
· खाना र माछा मासु राम्ररी पकाउने र राम्ररी ताएर मात्रै खाने
. सुरक्षित तापक्रममा भण्डारण
· पकाएको खाना २ घण्टा भित्रै खाइसक्नु पर्छ
· चाँडै बिग्रने खाना भण्डारण गर्ने हो भने ५ डिग्री भन्दा कम तापक्रममा रेफि्रजेरेटरमा राख्ने
· ६० सेन्टिग्रेड भन्दा तातो खाना खाने
· चिसोको खाना खानु अघि तताउने र सामान्य तापक्रममा नराखी खाने
. सुरक्षित पानी र खाद्य वस्तु मात्रै प्रयोग गर्ने
· स्वच्छ पानी मात्रै प्रयोग गर्ने ।
· ताजा र पौष्टिक आहार मात्रै खाने ।
· नपकाई खाने खानालाई राम्रोसंग पखाल्ने ।
· उपभोग्य मिती ननाघेका खानेकुरा प्रयोग गर्ने ।

खाद्य स्वच्ता र जोखिमबारे चेतना कमी भयो

नेपालमा पछिल्लो समय दूषित खाद्यका कारण यस्तो घटनाहरु धेरै हुने गरेको जानस्वस्थ्याविद् डा केदार बराल बताउँछन् ।

पछिल्लो समय भोज भतेरमा सहभागीहरु ठूलो मात्रामा बिरामी पर्नुको मुख्य कारण दूषत खानाको सेवन नै भएको उनको भनाई छ ।

मेडिकल भाषामा यसलाई फूड पोइजन भिनिने र यसबाट टाइफाइटको जोखिम समेत हुने डा बराल बताउँछन् । खानामा रहेको दूषित टक्सीनका कारण त्यस्तो भोजन सेवन गर्ने मानिसहरु एक दुई घण्टा भित्रै बिरामी पर्ने र ब्यक्टेरिया शरिर भित्र प्रवेश गरे एक दुई दिनमा समस्या देखिने उनले बताए ।

नेपालमा भोज तथा पार्टीमा यस्तो घटना हुनुमा खाद्य सुरक्षामा कामै नगरेका कारण भएको बरालको भनाई छ । खाद्य स्वच्छताका लागि अहिलेसम्म हात धुन मात्रै सिकाएको भन्दै उनले भने ‘भोज र पार्टीमा खाना धेरै पहिले बनाइन्छ, खाना बनाएर धेरै मान्छेबाट छोइन्छ, खाना सुरक्षित भण्डरण पनि गरिन्न खाना सेलाउँदै जाँदा दूषित हुन्छ,’ डा बरालले भने, ‘खाना नै दूषित भएपछि हात धोएर मात्रै हुन्न । खाद्य स्वच्छताको अभियान पनि फितलो छ ।’

विश्वका विकसित मुलुकमा पनि यस्तो समस्या हुने गरेको भए पनि त्यहाँ यहाँ जस्तो बिकराल अवस्था नरहेको बराल बताउँछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्र रमन सिंह नेपालमा खाद्य स्वस्थता र सुरक्षामा खासै ध्यान नदिने परिपाठीले यस्तो घटना हुने गरेको बताउँछन् । नेपालका विभिन्न जिल्लामा घटेका यस्ता घटनामा मुख्यत पानी सफा नहुँदा भएको पाइएको उनले बताए । ‘भोज तथा पार्टीमा खाद्य स्वच्छतामा गरिने हेलचेक्रयांई नै घटनाको मूख्य कारण हो,’ डा सिंह भन्छन् ‘खाद्य उत्पादन देखि मानिसको मुखसम्मको खाद्य चक्रमा स्वच्छता अपनाउनु जरुरी छ । भोजमा सकेसम्म राम्रा र नराम्रा सबै खानेकुरा सक्नुपर्छ भन्ने कुरा पनि जोखिमपूर्ण छ ।’

खाद्य सुरक्षाका लागि सरकारले जनचेतना फैलाउन जरुरी रहेको पनि उनले बताए ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?