९ पुस, काठमाडौं । शारीरिक शुगठनमा नेपालको सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आफ्ना दुई अग्रजलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।
शनिबार संस्थाको २२औं साधारणसभाको अवसरमा सन्चालक समिति सदस्य तथा पूर्व कोषाध्यक्ष तीर्थ महर्जन र साधारण सदस्य मचाम महर्जनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको हो । वागमतीका प्रदेश सांसद हरिभप्रभा खड्गी, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण महर्जनलगायतले सम्मान गरेका हुन् । दुवैलाई जनही ५५ हजार ५५५ रुपैयाँ नगद प्रदान गरिएको थियो ।
स्थापनाको सात दशक इतिहास बोकेको नेपाल ब्यायाम मन्दिरको स्थापना शहीद धर्मभक्त माथेमाको सम्मानमा गरिएको थियो । शारीरिक शुगठनको मातृ संस्था नेपाल ब्यायाम मन्दिरले संचार तथा अन्य माध्ययमबाट संस्थाको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै खेल पत्रकार, खेलाडी तथा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
यस्तै ब्यायाम मन्दिरले मन्दिरद्वारा आयोजना गरिएको ‘१६ औं धर्मश्री’ प्रतियोगिता तथा अन्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्दै पदक हासिल गर्ने खेलाडीहरुलाई पनि सम्मान गरेको छ । १६ औं धर्मश्रीमा ५५ केजी तौलमा प्रथम र मालदिभ्समा सम्पन्न ५४ औं एशियन शारीरिक शुगठन प्रतियोगितामा फिटनेश फिजिक्समा कास्य पदक प्राप्त गर्न सफल खेलाडी राजु राई र ‘१६ औं धर्मश्री’ प्रतियोगिता तथा पोखरामा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रथम स्थान हासिल गर्ने डेभिड बलामीलाई नगद २० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।
१६ औं धर्मश्री अन्तरगतको प्रथम मेन्स फिजिक्स विजेता अश्वत स्थापितलाई नगद ८ हजार, ६५ केजीमा दोश्रो स्थान हासिल गर्ने आशिष देवाजु र ८० केजी माथिको तौलमा दोश्रो स्थान हासिल गर्ने ग्रिस महर्जनलाई नगद ७ हजार, ७५ केजी तौलमा तेश्रो स्थान हासिल गर्ने आदित्य ठाकुरलाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।
कास्की स्ट्रेन्थ लिफ्टिङ संघको आयोजनामा भएको प्रथम गण्डकी नेशनवाइड स्ट्रेन्थ लिफ्टिङ आइविपी २०२२ मा ८५ केजी माथिको तौल समूहमा स्ट्रेन्थ लिफ्टिङ र इनक्लाइन्ड बेन्च प्रेस गरि दुई विधमा नेपालकै वलिष्ठ स्ट्रेन्थ लिफ्टर बनेर प्रथम स्थान प्राप्त गर्न सफल खेलाडी सन्दिप केसीलाई ८ हजार नगद र पाकिस्तानस्थित विश्वकै दोश्रो र नवौं हिमाल आरोहण गरी नेपाल ब्यायाम मन्दिरको लोगो अंकित झण्डा र नेपालको झण्डासहितको ब्यानर फहराएकोमा निङ्मा तामाङलाई सम्मान पत्रले सम्मान गरेको हो ।
समाजसेवी तथा ब्यायाम मन्दिरका मानार्थ सदस्य विद्यासागर तुलाधरको तर्फबाट संस्थाको विकास र विस्तारमा सहयोग पु¥याउने साधारण सदस्यद्वय विजय श्रेष्ठ र कृष्णसिंह शाहीलाई नगद २० हजार सहित सम्मानपत्रले सम्मान गरेको छ ।
साधारण सभाले महासचिव सूर्यप्रसाद जोशीद्वारा प्रस्तुल वार्षिक कार्यप्रगति विवरण र कोषाध्यक्ष प्रशान्त सिंहद्वारा प्रस्तुत आर्थिक बर्ष २०७८/७९ को आयब्यय विवरणमा छलफल तथा प्रश्नोत्तोर गरी पारित गरेको छ ।
तिमल्सिनासहित पाँच खेल पत्रकार सम्मानित
शारीरिक सुगठनको सवैभन्दा सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको ‘धर्मश्री’ प्रतियोगिता एवं अन्य कार्यक्रम तथा खेलकुदको विकास र विस्तारमा समाचार सम्प्रेषण मार्फत प्रचार प्रसारमा सहयोग पुर्याएको भन्दै पाँच खेल पत्रकारलाई नगदसहित सम्मानित गर्यो ।
सम्मानित हुने पत्रकारहरुमा नेपाल समाचारपत्रका फिरोज राजोपाध्याय, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, अन्नपूर्ण पोष्टका विष्णु थापा, अनलाइनखबरका कुशल तिमल्सिना र नेपाल टेलिभिजनका बासुदेव अवाल छन् ।
सम्मानित सबैले जनही नगद १० हजार सहित सम्मानपत्र प्राप्त गरे । मन्दिरले विगत ४ वर्षदेखि खेलकुद पत्रकारलाई सम्मान गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4