+
+

पर्दा पछाडिको कथा : कसरी बन्छ सिनेमा ?

प्रदीप भट्टराई प्रदीप भट्टराई
२०७९ पुष १२ गते ७:११

सिनेमा कसरी बन्छ ? यसको कुनै एकसूत्रीय जवाफ हुँदैन । सिनेमा निर्माणको तौरतरिका फरक हुन्छ र फरक हुन्छ फिल्ममेकरको अनुभव पनि । मलाई चाहिं के लाग्थ्यो भने फिल्म बनाउनका लागि कथा चाहिन्छ । कथा भयंकर हुनुपर्छ । त्यही कथाले नै सिनेमाको खाका तयार गर्छ ।

तर मेरो बुझाइ र अनुभव फरक रह्यो । सिनेमाका लागि ठूलै कथा चाहिन्छ भन्ने होइन रहेछ । एकदमै सानो कुरा क्रमश: बढ्दै सिनेमाको रुप लिने रहेछ । हामीकहाँ साइन्स फिक्सन, स्वैरकाल्पनिक सिनेमा बनाउने सामर्थ्य छैन, अहिलेसम्म । न बजेटले धान्छ, न बजारले ।

चानचुन दुई सय सिनेमाघर नै हाम्रो मूल बजार हो । त्यसैले हाम्रो सिनेमाको मोटामोटी बजेट निर्धारण गर्छ । सोझै भन्नुपर्दा, सीमित बजेटमा, सीमित स्रोतको प्रयोग गरेर सिनेमा बनाउनु हाम्रो बाध्यता हो । बाध्यता मात्र होइन, चलाखी र खूबी पनि ।

सीमित बजेटको सिनेमा बनाउँदैमा त्यो चानचुने खालकै हुनुपर्छ भन्ने होइन । बजेट थोरै होस् वा कम, त्यसमा दर्शकको सरोकार हुँदैन । सरोकार त त्यति मात्र हुन्छ कि, उक्त सिनेमाको चुम्बकीय शक्ति कति सघन छ ?

बजेट थिएन, उपकरण थिएन, प्राविधिक थिएनन्, कलाकार थिएनन् भनेर हामी उम्कन पाउँदैनौं । हामीले गर्ने चलाखी के भने क्यामेरामा हामी कतिसम्म गर्न सक्छौं त्यही अनुसार कथालाई खुम्च्याउने हो । यसर्थ हामीले निर्माण गर्ने सिनेमा सानो बजेटको भए पनि त्यो प्राकृतिक, विश्वसनीय, रोचक, सुपाच्य हुनुपर्छ ।

कथाको खोजी

कथा यत्रतत्र छन् । तपाईं-हामीसँग ठोक्किन आइपुग्ने हरेक व्यक्तिसँग गजब कथा छन् । गल्लीमा, सहरमा, गाउँमा, बस्तीमा कथा छरपष्ट छन् ।

तर,त्यो कथालाई टिप्न सक्ने, पहिल्याउन सक्ने, उधिन्न सक्ने, खोतल्न सक्ने खुबी हामीसँग हुनुपर्छ । पत्रपत्रिका, टेलिभिजन, अनलाइनमा आउने घटना–परिघटनालाई हेर्ने हो भने त्यहाँ पनि बग्रेल्ती कथा भेटिन्छन् । तर किताब वा पत्रपत्रिकामा पढेजस्तो दुरुस्त कथाले फिल्म बन्दैन । त्यसलाई फिल्मी प्रारुप दिनुपर्छ ।

जस्तो, मान्छेहरु भन्छन् पैसाले सुख दिन्छ । त्यसैका लागि मान्छे जीवनभर आफूलाई घोटिरहेका हुन्छन् । तर पैसा कमाए पनि मान्छे सुखी हुँदैनन् । किन ? किनभने पैसाले सुख दिंदैन । यही कुरालाई फिल्ममा कसरी भन्ने त ?

हामीले जात्रामा यसलाई प्रयोग गरेर हेर्‍यौं। कहिल्यै हजार-हजारका १० वटा नोट एकैपटक नदेखेका पात्रलाई एकैपटक एक बोरा पैसा फ्याँकिदियो भने के होला ?

न उनीहरुले त्यो पैसा सम्हाल्न सक्छन्, न लुकाउन नै । पैसाले उनीहरुलाई सुखी होइन, बेहाल बनाइदिन्छ । यसरी कथालाई अलि फिल्मी अर्थात् रोचक बनाउनुपर्छ । तर हेक्का राख्नुपर्ने कुरा के भने त्यो अविश्वसनीय वा अपत्यारिलो हुनुभएन ।

कथा लेख्छु भनेर लेखिंदैन । कहिलेकाहीं यसै कुनै कुरा मनमा फुर्छ । त्यही कुरा दिमागमा बोकेर हिंडिन्छ । चाहे हिंड्दा होस् वा खाना खाँदा, साथीभाइसँग भेट्दा होस् वा चिया खाँदा दिमागमा बोकेको उक्त कथालाई चाहिने कुराहरु थपिंदै जान्छ । यसरी मनमनै एउटा खाका तयार भएपछि त्यसलाई कापीमा उतार्ने गर्छु ।

स्क्रिप्ट लेखन

स्क्रिप्ट लेख्न बस्दा सुरुमा भएभरका कुरा लेखिन्छ । अर्थात् त्यसमा कुनै सीमा र सर्त राखिंदैन । तर मनोमानी ढंगले लेखिएका सबै कुरा प्रयोगात्मक हिसाबले क्यामेरामा देखाउने सामर्थ्य हामीसँग नहुन सक्छ । किनभने त्यसका लागि स्रोत-साधन, बजेट, समय धेरै कुरा पुग्दो हुनुपर्छ, जुन हामीसँग छैन ।

हामीले त एउटा सिनेमा ४०-५० दिनमा छायांकन गरिसक्नैपर्छ । एक दिन मात्र छायांकनको दिन लम्बियो भने ४-५ लाख खर्च बढ्छ । सिनेमामा दुई फरक याम देखाउनु परेमा पनि हाम्रो लागि सहज हुँदैन । अर्थात् सिनेमा छायांकनमा समयको पाबन्दी हुन्छ हामीलाई ।

यसैले सुरुमा मनलाग्दो ढंगले कथा लेखिए पनि त्यसलाई क्रमश: यसरी काँटछाँट गरिन्छ जो क्यामेरामा देखाउन सकियोस् ।

आज मनमा जे आउँछ, सरसर्ती लेख्छु । त्यसरी लेखेको कुरा केही दिन त्यसै छाड्छु । तेस्रो वा चौथो दिन आफूले लेखेको कुरा हेर्दा केही नपुगेको जस्तो लाग्न सक्छ । अनि फेरि काँटछाट हुन्छ । यसरी लेख्दै, काट्दै, छाँट्दै विस्तारै त्यसले एउटा सग्लो स्क्रिप्टको ढाँचा तयार हुन्छ ।

यसपछि मात्र म संवाद लेख्न सुरु गर्छु । सबै पात्रहरुलाई सँगै राखेर बहस गराएर समग्रमा संवाद तयार गर्छु । त्यसपछि एक एक पात्रसँग बसेर संवादमा बहस गर्छु । यसले के हुन्छ भने एउटाले एउटा कुरा गर्दा अर्काको प्रतिक्रिया के हुन्छ भनेर बुझ्न सकिन्छ । यसरी संवाद तयार हुन्छ ।

स्क्रिप्टको सबै कामकुरा सकिएपछि सबै टिमसँग बसेर छलफल गर्छौं । किनभने आफूले लेखेको आफूलाई राम्रो लाग्न सक्छ । तर टिमका सबैलाई राम्रो नलाग्न पनि सक्छ । यसरी सबैसँग विमर्श गरेपछि स्क्रिप्टलाई अन्तिम रुप दिन्छौं ।

चरित्र निर्माण

मलाई यस्तो चरित्र निर्माण गर्न मन लाग्छ कि, त्यो अरु कतै नदेखिएको होस् । फरक, रसिक तर स्वभाविक पनि । पात्रहरु रमाइलो हुनुपर्छ र प्राकृतिक पनि ।

यदि सिनेमाको आइडिया लाउड छ भने पात्र सामान्य वा सरल बनाउँछु । पात्र लाउड छ भने विषयवस्तु सरल बनाउँछु । यसरी एकअर्कासँग तालमेल मिलाउँदा दृश्यहरु दिक्कलाग्दो र कृत्रिम हुँदैन । जस्तो जात्राका फणिन्द्र पात्र सामान्य छ तर उसको विषयवस्तु एकदमै लाउड हो । जेलमा बसेको बेला पनि ससुरा देख्दा मसिनो स्वरमा ‘दर्शन हजुर’ भन्ने खालको मान्छे । उसलाई पशुपतिप्रसादको भष्मे डन जस्तो बनाएको भए सुहाउँदैनथ्यो ।

चरित्र निर्माण गरिरहँदा उनको परिवेश के हो, ऊ कस्तो पृष्टभूमिका हो, कस्तो मनोवृत्तिको हो भन्ने कुरामा हेक्का राख्नु जरुरी हुन्छ । अनि सोही अनुसार उनको मेकअप, पहिरन मिलाउनुपर्ने हुन्छ । मलाई चरित्र निर्माण गर्न निकै समय लाग्छ ।

लोकेसन खोजी

सिनेमामा आफूले खोजेको परिवेश देखाउन निकै कठिन कुरा हो । हामीकहाँ ठूलठूला सुटिङ सेट छैनन् । हामी कृत्रिम गाउँ, सहर वा संसार निर्माण गरेर सुविस्ताले छायांकन गर्न सक्दैनौं । हाम्रै चोक, गल्ली, सहर, गाउँ, डाँडापाखालाई हामीले आफ्नो सेट बनाउनुपर्ने हुन्छ । र, त्यसमा हामीले खोजेजस्तै दुरुस्तै ठाउँ फेला नपर्न सक्छ ।

यसबाट के बुझ्नुपर्छ भने हामीले कथा लेख्दा वा स्क्रिप्टको काम गर्दा नै सामन्य सेटको परिकल्पना गर्नुपर्छ । सीमित पात्रहरु, सीमित स्रोतहरु देखाएर छायांकन गर्न सकिने गरी कुनै घर, कुनै बस्ती, कुनै गाउँलाई हामीले सेट बनाउनुपर्छ ।

पहिरनको बन्दोबस्ती

सामान्य जस्तो लागे पनि पात्रको लागि चरित्र सुहाउँदो पहिरनको जोहो गर्नु महत्वपूर्ण कुरा हो । पहिरनले पात्रको धेरै कुरा बोल्छ । ऊ कस्तो मान्छे हो ? कस्तो पृष्टभूमिको, कस्ता पेसाको, कस्तो प्रवृत्ति र कस्तो परिवारका भन्ने कुरा उनको पहिरनले झल्काउँछ ।

त्यति मात्र होइन पात्रको मनोविज्ञानले पनि पहिरनमा प्रभाव पार्छ । पात्रको स्थिति, उतारचढाव, मनोदशा अनुसार उनको पहिरन शैली फेरिने गर्छ । यसर्थ एउटा पात्रका लागि पहिरनको यो विविधता र नतिजा खोज्नु कस्ट्युम डिजाइनरको सार्थक काम जरुरी हुन्छ ।

पहिले पहिले कुनै पात्रलाई यस्तो यस्तो खालको दृश्य छ सो अनुसार तीन-चार जोर कपडा ल्याउनु भनिन्थ्यो । पहिरनमा छुट्टै काम गर्ने जनशक्ति हुँदैनथ्यो । अहिले भने पहिरनमा काम गर्ने नयाँ पुस्ता आएका छन्, जो रचनात्मक र निकै क्षमतावान् पनि छन् ।

ध्वनि प्रबन्ध

सिनेमामा ध्वनिको निकै ठूलो भूमिका हुने रहेछ । यसले कथालाई थप शक्तिशाली र अर्थपूर्ण बनाउँछ । त्यसैले कुन दृश्यमा कस्तो ध्वनि संयोजन गर्ने भन्ने कुरामा हेक्का राख्नुपर्छ । परिवेश, समय, भूगोल अनुसार ध्वनि फरक हुन्छ । परिस्थितिले पनि ध्वनिको विविधता खोज्छ । यस हिसाबले ध्वनि संयोजनको काम एकदमै महत्वपूर्ण हुन्छ, सिनेमामा ।

जस्तो साँझ र विहानको ध्वनि एउटै हुँदैन । रत्नपार्क र बानेश्वरको ध्वनि पनि एकै हुँदैन । यी फरक परिवेश, स्थान र समयको ध्वनि कस्तो हुन्छ सोही अनुरुप फरक दृश्यमा समुचित ध्वनि समायोजन गर्न सक्नुपर्छ । यसका लागि साउन्ड डिजाइनरले सिनेमा निर्माण अघि नै छायांकनस्थल र स्क्रिप्टले खोज्ने परिवेशको सूक्ष्म अवलोकन गर्नुपर्छ ।

रंग समायोजन

सिनेमा कुन रंगको बनाउने भन्ने कुरा सोध्दा सुरु सुरुमा हामीलाई अनौठो लाग्थ्यो । रंग त पछि सम्पादनको बेला राख्ने हो भन्ने लाग्थ्यो । तर त्यसो होइन रहेछ ।

आफ्नो कथा अनुरुप सिनेमा कुन रंगमा खिच्ने भन्ने कुरा प्रि–प्रोडक्सनमै तय हुनुपर्ने रहेछ । किनभने कथावस्तुले नै सिनेमाको रंग खोज्ने रहेछ ।  उज्यालो र अँध्यारोमा बसेको मान्छेको रंग नै अलग हुन्छ । दुःखी र सुखी मान्छेको रंग नै फरक हुन्छ । धनी र गरिबको रंग नै फरक हुन्छ । आमिर खानको ‘लगान’लाई हेरौं न । त्यो किसानहरुको कथा हो, जो हरदम माटोमा खेल्छन् । सिनेमाको रंग पनि माटो सुहाउँदो राखिएको छ । यसरी सिनेमाको कथालाई अर्थपूर्ण बनाउनमा रंगको भूमिका हुने रहेछ । र, रंगको तय पनि स्क्रिप्टमै हुनुपर्ने रहेछ ।

पात्रको खोजी

आफ्नो कथालाई के–कस्ता पात्रले डोहोर्‍याउन सक्छन् ? त्यही अनुरुप उपयुक्त कलाकारको खोजी गरिन्छ । यतिबेला हामी कठोर यसकारण हुनुपर्छ कि नातागोता, साथीसम्बन्ध आदिको हिसाबले कसैलाई भूमिका दिनै हुन्न । खासमा कथाले कस्तो पात्र खोजेको छ, दुरुस्त त्यही मान्छे खोज्ने हो ।

यसैगरी मेरो अघिल्लो सिनेमामा फलानोले गरेको थियो, यसपालि उनैलाई निरन्तरता दिनुपर्छ । फलानोले पैसा पनि लगानी गर्छु भनेको छ उसलाई सानो रोल दिनुपर्‍यो । यस किसिमको सोचाइले आफ्नो सिनेमाको पात्र छनोट गर्नु महाभूल हुन्छ ।

कुनै चलचित्रमा एउटा कलाकारले गज्जब अभिनय गरेको थियो, यसपालि उसैलाई लिनुपर्‍यो भन्ने सोचाइ पनि हुन्छ । तर आफूले खोजेको पात्र अनुरुप उनले अभिनय नगर्न पनि सक्छ । यसको अर्थ के भने हरेक नयाँ सिनेमाका लागि हरेक कलाकार नयाँ नै हुन् । किनभने उनीहरुले नयाँ पात्रको चोला फेर्नुपर्ने हुन्छ ।

त्यसैले अडिसन लिएर गराएर मात्र पात्रको छिनोफानो गर्नुपर्छ । अडिसनमा उनीहरुलाई फरक–फरक अवस्थितिको अभिनय गर्न लगाइन्छ । यसमा चित्त बुझेपछि मात्र पात्र चयन गरिने हो ।

प्रोडक्सन म्यानेजमेन्ट

सिनेमाका लागि कागजी तयारी भइसकेपछि विभिन्न स्रोत–साधनको खोज सुरु हुन्छ । घर, कोठा, लुगाफाटो, सरसामाग्री इत्यादि ।

एउटा दृश्य छायांकन गरिरहँदा त्यसको पृष्टभूमिका देखिने परिवेश निर्माण गर्न यस्ता सरसामग्री जरुरी हुन्छ । जस्तो कुनै कोठाको दृश्य छ भने त्यहाँ के कस्ता सरसामान राख्ने भन्ने कुरा आउँछ । एउटा सामान्य कोठामा पनि यति धेरै सामान हुन्छ कि, जो झट्ट हेर्दा देखिंदैन ।

सानो बत्ती, चुल्हो, लुगाफाटो, भाँडावर्तन, फोटो, टीभी, रेडियो, पलङ, टेबल, झ्याल ढोकाका पर्दा इत्यादि । यी सबै बन्दोबस्ती पनि यसरी गर्नुपर्छ कि जो पात्र र परिवेशलाई जीवन्त तुल्याउने खालको होस् ।

यसरी छायांकनका लागि चाहिने सबै सरसामग्री जुटाइसकेपछि छायांकनको समय तालिका निर्धारण गरिन्छ । प्रि-पोडक्सनका कामहरु सम्पन्न गराइसकेर केही दिनका लागि हामी विश्राम लिन्छौं, ताकि छायांनमा नयाँ फूर्ति र ऊर्जा बोकेर निस्कन सकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?