+
+

अशोक राईले क्याबिनेटमा इच्छा देखाउँदा उपेन्द्र यादव ‘पर्ख र हेर’ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १९:५०

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथ ग्रहण समारोहका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुग्दा जसपा अध्यक्ष उपेन्द्र यादव मलिन देखिन्थे । त्यसमाथि उनको छेवैमा टाँसिएर बसेका थिए सीके राउत, जसले यादवलाई पछिल्लो आम चुनावमा भारी अन्तरले हराएथे ।

सीके अध्यक्ष रहेको जनमत पार्टीले प्रचण्ड सरकारलाई समर्थन दियो । आफ्ना मन्त्री पनि पठाइसक्यो । यादव भने समर्थन दिइसकेर पनि मन्त्री पठाउने दोधारमा छन् । यसबारे निर्णयका लागि हतार गर्न आवश्यक नरहेको उनले तर्क गरे ।

यादवले यसो भन्दैगर्दा जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले भने सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने चाहना लुकाएनन् ।

यादवले केही दिनमा राजनीतिक समितिको बैठक बसेर मात्रै यसबारेमा के गर्ने भन्ने निर्णय लिने बताए । उनले अनलाइनखबरसँग भने, ‘हेरौं न परिस्थिति कसरी अगाडि बढ्छ । हामी नियालिरहेका छौं । अहिलेलाई हाम्रो समर्थन छ । सरकारमा जानैपर्छ भन्ने कुनै बाध्यता छैन ।’

उनले ३० दिनपछि पनि यो सरकारमा आफ्नो समर्थन कायमै रहने बताए । ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

यादवकै पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारमा जाने प्रक्रियाबारे पुस १८ र १९ मा पार्टीको बैठक बसेर निर्णय लिने बताए ।

उनले भने, ‘क्याबिनेटमा को कसरी जाने भन्नेबारे त्यसअघि पनि प्रधानमन्त्रीसँग हाम्रो छलफल हुन सक्छ । सबै समुदाय क्षेत्र मिलेको समावेशी सरकार पनि बन्ने सम्भावना छ । हामी सहभागी हुन्छौं । यो कुरा प्रधानमन्त्रीसँग राखेका पनि छौं ।’

राईले सुनसरीबाट चुनाव जितेका छन् । यादवले चुनाव हारेको पृष्ठभूमिमा अब जसपाबाट उनकै नेतृत्वमा सहभागिता हुने हो । तर प्रचण्ड मन्त्रिपरिषद्मा आफ्ना सहकर्मी पठाइहाल्नेबारे यादवमा कुनै हतारो देखिँदैन ।

मन्त्रिपरिषद् निर्माणको बैठकमा जसपा पनि सामेल थियो । जसपाका एक नेताका अनुसार स्वतन्त्र पार्टी लगायतले भटाभट उपप्रधानमन्त्री सहित ठूला मन्त्रालय दाबी गर्न थालेपछि आफ्नो पार्टी तत्काल सरकारमा जान हच्कियो ।

‘नयाँ नयाँ आउनुभएका साथीहरु सिधै ठूल्ठूला मन्त्रालय माग्नुहुन्छ, हामीले जाँदाखेरि कति जना उपप्रधानमन्त्री बनाउँदै जाने भन्ने प्रश्न पनि आयो होला । त्यसैले अलिक समय लगाएर निर्णय गर्ने कि भन्ने छ । हेरौं न ।’

प्रतिनिधिसभामा जसपाको १२ सिट छ । जसपाले मधेस प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । यसअघिको चुनावमा जसपा एमालेसँग तालमेलमा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?