+
+
अन्तर्वार्ता :

राजेन्द्र लिङ्देनलाई प्रश्न : प्रचण्डलाई समर्थन गर्न अप्ठ्यारो लागेन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते २०:२७

११ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भाषणपिच्छे माओवादी केन्द्रको विरोध गर्न छुटाउँदैनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगुवाई गरेकैले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता आएको र यसले देश कमजोर पारेको राप्रपाको बुझाइ छ ।

तर त्यही राप्रपाले प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन दियो । यसअघि सरकारमा गएकै कारण राप्रपाका पूर्वनेता कमल थापा दलभित्रका अरु नेताबाट आलोचित थिए ।

लिङ्देन त्यही बाटोमा आइपुगेका छन् । यस सन्दर्भमा अनलाइनखबरले गरेको संक्षिप्त वार्ता:

तपाईंहरुले प्रचण्डको सरकारलाई समर्थन गर्नुभयो, सहभागी हुनुभएन । किन ?

स्वभाविक छ । हामीले यो सरकारलाई समर्थन गर्ने नीति लिएका थियौं । तर क्याबिनेटमा जाने नजाने भन्नेबारे पछि निर्णय गर्ने भनेर निर्णय गरेका थियौं । पहिले भन्नाले हिजो निर्णय गरेका थियौं । त्यसै अनुरुप निर्णय भएको छ ।

किन आयो त्यस्तो निर्णय ?

सरकारमा जाने नजाने भन्नेमा राजनीतिक स्थिरताको विचार गर्दै पछि निर्णय गर्ने कुरा गर्यौं । खासगरि न्यूनतम साझा कार्यक्रम बन्दा राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास, सेवा प्रवाह जस्ता कुरामा विगतका सरकार भन्दा फरक ढंगले अगाडि जान्छ र हाम्रो कुरा मिल्छ भने त्यो बेला सरकारमै सहभागिताबारे सोच्न र छलफल गर्न सकिन्छ ।

अन्यथा अहिले सरकार निर्माण भयो । एउटा प्रक्रिया अघि बढ्यो । हामी चाहिँ सकारात्मक प्रतिपक्ष बन्न सक्छौं । ठीक, बेठीकको आधारमा समर्थन र विरोध गर्ने ।

एमालेले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाएकाले तपाईंहरुले असहज महसुस गर्नुभएको हो ?

त्यस्तो होइन, हामी प्रारम्भदेखि नै बैकल्पिक सरकार निर्माणमा थियौं । कोही व्यक्तिको कुरा भएन, एजेन्डाको कुरा हो । एजेन्डाका हिसाबले हाम्रा लागि सबै पार्टी उस्तै छन् । खासगरि सुशासनको दृष्टिकोणले कति फरक पार्न सकिन्छ भन्ने हो । प्रचण्डले पनि त दौरा सुरुवाल लगाउनु भयो क्यारे (हाँस्दै) ।

तपाईंहरुले भनेको जस्तो अवस्था बनेन भने ३० दिनमा समर्थन फिर्ता लिनुहुन्छ ?

हामी विश्वासको मत दिएर प्रतिपक्षमा बस्न सक्छौं ।

विश्वासको मत दिएपछि त सत्ता पक्ष भइहालियो नि ?

हामीले समर्थन गरेर हाम्रो प्रस्तावबाट बनेको सरकार हो । तुरुन्तै समर्थन फिर्ता लिएर अस्थिरताको कारक बन्ने काम राप्रपा गर्दैन । त्यसपछि पनि सरकारको क्रियाकलाप भने हेर्छौं ।

मागेका मन्त्रालय नपाउँदा सरकारलाई दिएको समर्थन फिर्ता लिने योजना त छैन नि ?

यस्तो काम राप्रपाले गर्दैन, त्यस्तो हुँदैन ।

न्यूनतम साझा कार्यक्रमका अलावा क्याबिनेटमा तपाईंहरुको के माग छ ?

मन्त्री र मन्त्रालय हामीले प्राथमिकता राखेका छैनौं । मुल कुरा सरकारले दिने सेवा प्रवाह हो । ‘डेलिभरी’ कस्तो दिन्छ भन्ने हो । त्यसमा सहमति भए अरु तपशीलका कुरा हुन् ।

तपाईंहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रणालीको विरोधमा हुनुहुन्छ । प्रचण्ड चाहिँ यी मुद्दा उठाएर नेता बनेको व्यक्ति हुन् । समर्थन दिन अप्ठ्यारो त लागेको छैन नि ?

गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतामा हाम्रो असहमति छ भन्ने सार्वजनिक नै छ । यसमा कुनै विवाद छैन । असहमति राख्न पाउने सुविधा हामीलाई संविधानले नै दिएको छ ।

जुन बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन गर्न सक्ने गरी बहुमत प्राप्त गर्न सक्छ वा अरु राजनीतिक पार्टीलाई सहमतिमा ल्याएर संविधान संशोधन गर्न सक्छ, त्यो बेला आफ्नो एजेन्डा लागू गर्ने कुरा त छँदैछ । यो बाहेक सुशासनका मुद्दा छन् । विकास निर्माण, सेवा प्रवाह, राष्ट्रियतासम्बन्धी विषय छन् । त्यस्ता विषयमा हामी राजनीतिक दलहरुसँग सहकार्य गरेर जान सक्छौं ।

प्रचण्ड मात्रैको चाहनाले देशका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आउँदैनथ्यो । त्यसका लागि कांग्रेस, एमाले लगायतका अन्य पार्टीहरु पनि उत्तिकै जिम्मेवार छन् । माओवादी एजेन्डाको भरीया कांग्रेस नबनेका थियो भने सायद यो देशमा यस्तो राजनीतिक परिवर्तन आउने थिएन ।

अहिले रवि लामिछाने लगायत उपप्रधानमन्त्री बनेको र अरु कोही मन्त्री बनेकोमा केही टिप्पणी त छैन ?

म त खुसी छु । किनभने हामी सबै बसेर यो बैकल्पिक सरकार निर्माण गर्ने क्रममा सँगै हस्ताक्षर गर्‍यौं । सँगै सल्लाह गरेर नै हामी प्रक्रियामा सहभागी भएका हौं ।

तपाईंलाई यो सरकारको शक्तिशाली उपप्रधानमन्त्रीका रुपमा देख्न पाउँछौं कि केपी ओलीकै सरकार कुर्नु पर्ने हो ?

त्यस्तो केही कल्पना गरेको छैन । किनभने उपप्रधानमन्त्री, मन्त्री हुने बाटो खुला छँदै छ नि ! किनभने सबै साथीहरुले आजै जाउ भन्नु भएकै थियो । हामीले ‘बार्गेनिङ’ गर्नेभन्दा पनि मुख्य गरी हाम्रो एजेन्डालाई प्राथमिकता दिएका छौं ।

भनेपछि सरकारमा जाने सम्भावना छ ?

अहिलेलाई मैले त्यस्तो कुनै सम्भावना देखेको छैन ।

सरकारमा जाने सम्भवना छैन तर तत्काल समर्थन फिर्ता हुँदैन ?

त्यस्तो केटाकेटी काम राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्दैन । आज समर्थन गरेर भोलि फिर्ता लिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?