+
+

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले र माओवादीको दाबी

मुख्यमन्त्री दाबी गरेका एमाले र माओवादीले दलको नेता चयन गरेका छैनन् । एमालेका लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी छ । माओवादीमा भने जोखबहादुर महरालाई खासै चुनौती छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १०:०३

१२ पुस,बुटवल । केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गर्दै आन्तरिक तयारी थालेका छन् ।

दुवै दलले दाबी गरे पनि सत्ता गठबन्धनका दलहरुबीच हुने भागबन्डाले मात्रै लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले पाउने भन्ने टुंगो लाग्ने छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९ सिट जितेको छ । माओवादी केन्द्रले ९ सिट जितेको छ ।

एमालेका पोलिटब्युरो सदस्य लिला गिरीले लुम्बिनीमा सरकारको नेतृत्वमा सशक्त दाबी रहेको बताउँछन् । ‘लुम्बिनीमा एमालेको नेतृत्व दाबी स्वभाविक र जायज छ कहाँको २९ सिट कहाँको ९ सिट ?’ उनले भने, ‘केन्द्रका नेताहरुसँग पनि छलफल भइरहेको छ ।’

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको बताए । ‘मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ, केन्द्रका शीर्ष नेताहरुसँग छलफल भइरहेको छ,’ बरालले भने ।

८७ जना प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

नयाँ बनेको केन्द्रको गठबन्धनअनुसार गठबन्धन दलका सांसदहरूको संख्या ५२ छ । गठबन्धनका दलहरु राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमतको ३ र जसपाको ३ सिट रहेको छ ।

यस्तै माओवादीबाटै विद्रोह गरेर जितेका तीन जना (रुकुम पूर्व-१ का सुरुल पुन, रोल्पा-२ का दीपेन्द्रकुमार पुन र नवलपरासी-२(२) का खड्क बस्नेत) ले पनि गठबन्धनलाई समर्थन गर्दा ५५ जना सांसद पुग्नेछन् ।

नेपाली कांग्रेसका २७, लोसपाका तीन, नेकपा एसका एक र जनमोर्चाका एक गरी ३२ सांसद मात्ररहेकाले स्वतन्त्र सांसदले सममर्थन नगरे पनि यहा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ।

को बन्ला मुख्यमन्त्री?

मुख्यमन्त्री बन्न संसदीय दलको नेता चयन हुनुपर्नेमा अहिलेसम्म नेतृत्व दाबी गरेका दलहरुले संसदीय दलको नेता चयन गरेका छैनन् ।

नेकपा एमालेबाट लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालले दाबी गरेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । केही दिनभित्रै संसदीय दलको नेता चयन हुने उनले बताए ।

पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइञ्चार्ज गिरी शंकर पोखरेल नेतृत्वको सरकारमा तीन वर्ष उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए भने ढकाल संसदीय दलको प्रमुख सचेतक थिए । श्रेष्ठ र आचार्य भने नेकपा विभाजनपछि केही महिना क्रमशः स्वास्थ्य तथा जनसंख्या र आन्तरिक मामिलामन्त्री भएका थिए । वरीयता क्रममा गिरी सिनियर हुन् ।

मुख्यमन्त्रीका दाबेदार भोजप्रसाद श्रेष्ठले जनताको आकांक्षा सम्बोधन गर्न सक्ने, विगतमा गरेका कामहरुको ‘पर्फमेन्स’ हेरेर दलको नेता चयन गर्ने विषयमा शीर्ष नेतृत्वले सोेच्नुपर्ने बताउँछन् ।

प्रदेश मन्त्रिपरिषद् अनावश्यक ठूलो आकारको हुँदा र सुशासन दिन नसक्दा प्रदेशप्रति जनतामा देखिएको आक्रोश र वितृष्णा बढ्न नदिने गरी काम गर्न सक्ने भिजन र योजना भएका नेता दलको नेता र मुखयमन्त्री हुनुपर्ने आफ्नो मत रहेको श्रेष्ठले बताए ।

माओवादीबाट मुख्यमन्त्रीका सशक्त दाबेदार प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि रोल्पाका जोखबहादुर महरा दलको नेता हुने निश्चित जस्तै छ ।

महरा पार्टीका सिनियर नेता भएकाले अरूले दाबी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?