
१२ पुस, काठमाडौं । बैंक तथा अनलाइन भुक्तानी प्रणाली बाहेक सरकारी राजस्वको नगद कारोबार नगर्न आन्तरिक राजस्व विभागले सचेत गराएको छ । केही दिन अगाडि नयाँ बसपार्क क्षेत्रमा आन्तरिक राजस्व कार्यालयबाट खटिएको भन्दै अनाधिकृत व्यक्तिले कर जरिवाना गराई रकम असुल गरेको फेला परेको थियो ।
विभागले कर रकम भुक्तानी राजस्व संकलन गर्ने बैंक वा अनलाइन भुक्तानी प्रणालीबाट मात्र हुने व्यवस्था रहेको भन्दै बैंक काउन्टरबाहेक राजस्व कार्यालय तथा कुनै व्यक्ति र स्थानबाट नगद राजस्व बुझ्ने व्यवस्था नरहेको स्पष्ट पारेको छ ।
विभागले करदातालाई आफ्नो कारोबारसँग सम्बन्धित हिसाव किताव अद्यावधिक राख्न भनेको छ । बिल–बिजक जारी गरेर मात्र व्यवसाय सञ्चालन गर्न समेत सचेत गराएको छ । साथै विभागले बिक्रेता, खरिदकर्ता–उपभोक्तालाई समेत आफूले खरिद–बिक्री गरेको वस्तु र सेवाको वास्तविक कारोबार मूल्य अनुसारकै बिल लिन र दिन समेत अनुरोध गरेको छ ।
अनुगमन तीब्र
विभागका अनुसार अहिले राजस्व चुहावट नियन्त्रणका लागि बजारमा अनुगमन तीब्र बनाएको बताएको छ । बजार अनुगमनका लागि आन्तरिक राजस्व विभाग मातहतका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट कर अधिकृतसहितको टोली खटाइएको छ ।
अनुगमनमा कर परिपालना सम्बन्धी कागजात जाँच तथा रुजु गर्ने, कर सम्बन्धी विषय जानकारी गराउने कर परिपालना गरेको नपाइएमा कानुन अनुसार कारबाही समेत गरिने विभागको भनाइ छ ।
चालु आर्थिक वर्षमा सरकारको आन्तरिक राजस्वमा समेत उच्च कमी आएको छ । यससँगै विभागले बजार अनुगमनलाई तीब्र बनाएको हो ।
प्रतिक्रिया 4