+
+

हुक्काको लहड : एउटा हुक्का सयौं खिल्ली चुरोट बराबर

मुटुको रोग र क्यान्सरको जोखिम

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ पुष १३ गते १९:१८

रात्रीकालिन रेष्टुरेन्टहरुमा नजर डुलाउनुहोस्, हुक्काको धुँवाले कुइरीमण्डल देखिन्छ । खासगरी तन्नेरी जमात हुक्काको धुँवामा मस्त देखिन्छन् ।

हुक्काको यो लहडले धेरैलाई धुँवाको अम्मली बनाउँदै लगेको छ । किनभने हुक्का तान्नुलाई ग्लानी होइन, गर्व गर्ने जमात बढी छ ।

हुक्काप्रतिको यही आशक्तिले होला, शहरका रेष्टुरेन्टहरुमा हुक्का अनिवार्य जस्तै भइसकेको छ । जहाँ जहाँ बार छन्, त्यहाँ हुक्का पक्का छ । र, जहाँ जहाँ हुक्का छ त्यहाँ तन्नेरीहरु झुम्मिएका छन् । सोझै भनौं, हुक्का फेसन भएको छ ।

कहिल्यै ओंठमा चुरोट नच्यापेकाहरु पनि हुक्का तान्न तम्सिन्छन् । त्यसैले त किशोर-किशोरीदेखि चुरोटमा स्वादै नभिजेकाहरु पनि हुक्का तान्न हौसिएका छन् । जगजाहेर छ, चुरोटका अम्मलीहरु क्यान्सरको उच्च जोखिम बर्गमा पर्छन् । जबकि हुक्का चुरोट भन्दा सैयौं गुण घातक रहेको चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा हुक्कालाई पनि समेटेको छ, जो स्वास्थ्यका लागि अति हानिकारक भनिएको छ ।

हुक्का सेवन चुरोट भन्दा पनि बढी हानिकारक भएको वरिष्ठ छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन् । ‘हुक्कामा निकोटिन, धातुको कण, कार्बनमोनोअक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा गम्भीर असर गर्छ’ डा. पंगेनी भन्छन्, ‘चुरोट सेवन गर्दा हाम्रो शरीर भित्र जति धुँवा प्रवेश गर्छ त्यो भन्दा बढी धुँवा हुक्का सेवन गर्दा प्रवेश गर्छ ।’

सुर्तीजन्य हुक्का प्रयोग गरेको छ भने चुरोटको धुँवा र हुक्काको धुँवामा केही फरक हुँदैन । विभिन्न फ्लेवर हुक्का सेवन गरेको छ भने पनि त्यसमा प्रयोग हुने कोइला र प्लेवरमा भएको रसायनले स्वास्थ्यमा एकदमै नकारात्मक असर गर्छ । सुर्तीजन्य हुक्का तथा फ्लेवर हुक्कामा निकोटिनको  परिमाण तलमाथि हुन सक्छ । तर, त्यसमा पाइने रसायनहरूको मात्रा र त्यसले स्वास्थ्यमा गर्ने असर उत्तिकै हुने पंगेनीले बताए ।

चुरोट भन्दा सय गुण हानि

धूम्रपान गर्दा त्यसबाट जति पनि हानिकारक रसायनहरू निस्कन्छ त्यो भन्दा धेरै गुणा बढी रसायन हुक्कामा प्रयोग हुने सुर्तीजन्य पदार्थहरूबाट निस्कन्छ । चुरोट भन्दा हुक्काबाट सय गुण बढी धुँवा, रसायन र निकोटिन निस्कने पंगेनी बताउँछन् । ‘सुर्तीजन्य पदार्थ प्रयोग हुने हुक्काबाट निस्कने धुँवाले स्वास्थ्यमा विभिन्न नकारात्मक असर पार्छ’  पंगेनी भन्छन्, ‘एउटा चुरोट पिउँदा आधा लिटर धुँवा फोक्सोमा पुग्छ भने एउटा हुक्का पिउँदा ९० लिटर भन्दा बढी धुवाँ प्रवेश गर्छ । यसको थोरै प्रतिशत धुवाँ  हाम्रो श्वास प्रश्वास प्रणालीमा टाँसियो वा रगतमा मिसियो भने शरीरको धेरै अंगमा असर गर्छ ।’

राजु पंगेनी

गाउँघरमा तम्बाकु प्रयोग गरिएको हुन्छ भने अहिले शहरी क्षेत्रमा प्रचलित हुक्कामा विभिन्न फ्लेवर मिसाइन्छ । त्यस्तै हुक्कामा जुन कोइला बालिन्छ त्यसबाट कार्बनमोनोअक्साइड भन्ने हानिकारक ग्यास निस्कन्छ । हुक्काबाट नसक्ने तापक्रम आफैले पनि हाम्रो श्वास प्रश्वास प्रणालीलाई प्रत्यक्ष असर गर्ने पंगेनीले बताए । ‘त्यसले हाम्रो श्वास नलीलाई सुख्खा बनाउने र खुम्चाउँछ । दमको समस्या बढाउने , घ्याँरघ्याँर हुने र खोकी लाग्ने लगायतका समस्याहरू देखा पर्न सक्छ ।’

डा. पंगेनीका अनुसार फ्लेवरयुक्त हुक्का बाल्नको लागि कोइलाको प्रयोग हुन्छ, जसबाट  कार्बनमोनोअक्साइड त  निस्कने नै भयो । प्लेवरहरूमा पनि विभिन्न प्रकारका रसायनहरू  प्रयोग भएको हुन्छ । त्यसैले फ्लेवर हुक्काले पनि स्वास्थ्यमा नकारात्मक असर गर्छ । सुर्तीजन्य हुक्काको तुलनामा अलि कम असर गर्ने हो असर नै नगर्ने भने होइन ।

मुटुको रोग र क्यान्सरको जोखिम

हुक्काको तातो, कोइला र निकोटिनले मुखको, आमाशयको र पिसाब  थैलीमा समेत क्यान्सर भएको पाइएको छ । यसले सबैभन्दा बढी असर गर्ने त फोक्सोमा नै हो । फोक्सोमा घ्यारघ्यार हुने, दीर्घ खोकी लाग्ने, दम निम्ताउने तथा बढाउने र पछि गएर फोक्सोको क्यान्सर हुने समेत हुने पंगेनीले बताए  ।

‘अत्यधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै पाठेघरको क्यान्सर र मुटु सम्बन्धी रोग गराउँछ ।’

हुक्का सेवन गरिरहने व्यक्तिहरूलाई  निमोनिया हुने जोखिम पनि बढी हुने उनले बताए । ‘धेरै हुक्का सेवन गर्ने  व्यक्तिमा दमको जोखिम बढ्नुको साथै पछि गएर फोक्सो नै सुक्दै जाने र फोक्सोको क्यान्सर हुने सम्भावना हुन्छ ।’

‘शरीरमा अक्सिजनलाई  एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने प्रणालीलाई कोइलाबाट निस्कने कार्बनमोनोअक्साइडले कमजोर बनाउँछ । शरीरमा अक्सिजनको मात्रा नै घटाउँछ ।’ पंगेनी भन्छन्  ‘हुक्कामा भएका साना साना धातुको कणले मूत्र नलीको क्यान्सर र अन्य क्यान्सर हुने सम्भावना बढाउँछ ।’

गर्भवती महिलाहरूले हुक्कको सेवन गरेकी छिन् वा हुक्का पिउने व्यक्तिको नजिक बसेकी छन् भने त्यसले उनको बच्चामा  असर पर्छ । त्यो गर्भवती महिलाबाट जन्मने बच्चाको तौल कम हुने र पछि गएर बच्चामा पनि श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने जोखिम हुने उनी बताउँछन् ।

एउटा व्यक्तिले प्रयोग गरेको हुक्काको पाइप अर्कोको प्रयोग गर्दा  भाइरल इन्फेक्सन र टिबी सर्ने सम्भावना पनि हुने पंगेनीले बताए ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?