+
+
समाचार टिप्पणी :

मध्यम वर्ग रिझाउने प्रचण्ड काइदा : दौरा सुरुवाल लगाउने, साइत हेराउने

उनले यसपटक प्रधानमन्त्री पदको शपथ लिँदा दौरा सुरुवाल लगाए । सरकारी निवास बालुवाटार सर्दा ज्योतीषी र पण्डितहरुबाट निर्देशित भए । कतिपयले यसलाई उनको ‘मार्ग परिवर्तन’ को रुपमा अर्थ्याएका छन् ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष १४ गते २१:१५

१४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो पहिलो र दोस्रो कार्यकाल भन्दा तेस्रो कार्यकालमा फरक शैली अपनाउन खोजेका छन् ।

कतिपयले यसलाई उनको ‘मार्ग परिवर्तन’ को रुपमा अर्थ्याएका छन् । हुन पनि उनले यसपटक प्रधानमन्त्री पदको शपथ लिँदा दौरा सुरुवाल लगाए । सरकारी निवास बालुवाटार सर्दा ज्योतीषी र पण्डितहरुबाट निर्देशित भए ।

प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ लिँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाको प्रशंसा पाए । ‘प्रम पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण समारोहमा दौरा सुरुवाल लगाउनु भएकोमा प्रशंसा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘हामीले सबै नेपाली जातीय भेषभूषाको सम्मान, संरक्षण र प्रवद्धन गर्नुपर्छ । तर, राजकीय समारोहमा राष्ट्रिय पोशाकको प्रयोगले मर्यादा र गरिमा कायम गर्दछ । दौरा सुरुवाल लगाउँदा हिनताबोध गर्नु जरुरी छैन ।’

विगतमा दुईपटक प्रधानमन्त्री पदको शपथ लिँदा सर्ट पाइन्ट र कोट लगाएका प्रचण्डले यसपटक दौरासुरुवाल लगाएकामा पार्टीकै केही नेताले भने आलोचना गरेका छन् ।

नेता लेखनाथ न्यौपानेले विगतमा माओवादीले जेलाई गलत भन्दै आयो अहिले त्यसैलाई अपनाउँदै जानु बेठीक भएको टिप्पणी गरे । ‘एउटा जात, एउटा भेष, एक देश भन्ने जुन भाष्य गलत थियो भन्ने कुरा हामीले हिजो उठायौं, त्यो आज पनि गलत छ,’ न्यौपाने भन्छन्, ‘तर, आज हामी पनि यही आइपुग्यौं । यो गलत छ भन्ने हो ।’

शपथ समारोहमा दौर सुरुवालमा प्रचण्ड ।

माओवादी केन्द्रका एक पदाधिकारी प्रचण्डमा आत्मविश्वासको कमीका कारण यस्तो देखिएको धारणा राख्छन् । ‘आत्मविश्वासको कमी भएपछि मान्छे यस्तो काममा लाग्ने हो,’ उनी भन्छन्, ‘पहिले राजाका प्रधानमन्त्री बन्ने भन्ने हुन्थ्यो अहिले प्रचण्डजी ओलीको प्रधानमन्त्री हो । त्यसैले त्यसो गर्नु उहाँको बाध्यता पनि हो ।’

प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहयोग लिए । प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने समितिका संयोजक समेत रहेका ओलीले राष्ट्रियताका मुद्दामा आफूलाई खरो देखाउन खोजिरहन्छन् ।

कतिपयले चाहिँ प्रचण्डको परिवर्तनमा मध्यम वर्ग रिझाएर भोट तान्ने चेष्टा पनि कारक ठान्छन् । ‘पञ्चायत कालको महेन्द्रकालीन राष्ट्रवाद भन्दा भिन्न जान नसक्ने प्रवृत्ति उनीमा देखियो,’ लेखक राजेन्द्र मर्हजन भन्छन्, ‘त्यसबाट भोट आउँछ, सत्ता प्राप्त हुन्छ भन्ने बुझाइ होला ।’

तर, प्रचण्डको बदलिँदो व्यवहार मार्क्सवाद वा वामपन्थसँग मेल नखाने उनी बताउँछन् । ‘सत्ता खुसी पार्नुपर्ने होला तर त्यो माक्र्सवाद र वामपन्थसँग कही पनि मेल खाँदैन’, महर्जन भन्छन् ।

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गर्ने क्रममा छोरी गंगा दाहाल बालुवाटारको चाबी लिँदै ।

देशका शहरी क्षेत्रहरुमा माओवादी कमजोर हुँदै गएको पछिल्ला चुनावहरुले देखाइरहेको छ । ४ मंसिरको चुनावमा काठमाडौं उपत्यकाबाट माओवादीले एकजना पनि जनप्रतिनिधि जित्न सकेको छैन । यही अवस्थालाई ख्याल गरेर प्रचण्डले मध्यमवर्गलाई खुसी पार्ने काम गर्न थालेको कतिपयले बताएका छन् ।

माओवादी नेता न्यौपाने विचार र संगठनमा कमजोर भएर जस्तैसुकै प्रयास गरे पनि शक्ति प्राप्त नहुने बताउँछन् । ‘विचार, संगठन र सांस्कृतिक तहमा ‘करेक्सन’ गरे न बलियो भइन्छ होला । विचार छोडेर त के बलियो बनिएला र ?,’ उनको प्रश्न छ ।

कुनै पनि पार्टीको बहुमत नभएको अहिलेको प्रतिनिधिसभामा प्रचण्डले अरु धेरै दलको साथ लिएर मात्रै सरकार चलाउन सक्ने अबस्था छ ।

राजसंस्था फिर्ता ल्याउनुपर्नेदेखि संघीयता नमान्ने शक्तिसम्मलाई मिलाएर सरकार चलाउन प्रचण्डलाई कम चुनौती हुने देखिदैन ।

सरकार निर्माणमा साथ दिएको राप्रपाले सरकारमा सहभागी हुन चाहिँ पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय गर्नुपर्ने शर्त अघि सारेको छ ।

यो विषयमा समेत प्रचण्डले कस्तो निर्णय लिन्छन् भन्ने चासो छ । २०६२/०६३ को जनआन्दोलन सफल भएपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस मनाउने प्रचलन अन्त्य गरेको थियो भने पुस २७ मा दिँदै आएको सार्वजनिक विदा कटौती गरेको थियो ।

त्यसपछि राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग गर्दै आएको छ । राप्रपाको शर्तमा प्रचण्डले के निर्णय लिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?