+
+

मुख्यमन्त्री बन्न प्रदेश झरेका अर्याललाई २ भोटमात्रै

हरि अधिकारी हरि अधिकारी
२०७९ पुष १५ गते १२:४४

१५ पुस, विराटनगर । २०७० सालको निर्वाचित संविधानसभा सदस्य अमृत अर्याल मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । भागबण्डा मिलाउनु पर्ने भएपछि सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री बनाउने आश्वानसहित उनलाई प्रदेशमा पठाएका थिए ।

मुख्यमन्त्रीका अर्का प्रमुख दाबेदार राजिव कोइराला पराजित भएपछि मोरङ ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका अर्याललाई गठबन्धनबाट भावी मुख्यमन्न्त्रीको रुपमा हेरिएको थियो ।

आफ्ना कार्यकर्तालाई सभापतिले आफूलाई मुख्यमन्त्री बनाउन पठाएको बताउथे उनी । तर कांग्रेस-माओवादीसहितको गठबन्धन फुटेपछि ओझेलमा परेका अर्यालले पार्टीको संसदीय दलको नेताको निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन् ।

प्रदेश १ संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा प्यानलबाट अर्याल उम्मेदवार थिए । दलको नेतामा कृष्णप्रसाद सिटौला पक्षका उद्धब थापा १८ मतसहित विजयी हुँदा अर्यालले जम्मा २ मत मात्रै प्राप्त गरे । डा. शेखर कोइराला पक्षका अर्का प्रत्यासी केदार कार्कीले ९ मत पाए ।

प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् । तीमध्ये ११ जना देउवा पक्षका थिए । सिटौला पक्षमा ९ र कोइराला पक्षमा ९ जना सांसद थिए । सिटौला पक्षका थापा १८ मतसहित विजयी हुँदा कोइराला पक्षका कार्कीले आफ्नो मत भने सुरक्षित गरे ।

बिहीबार दलको नेतामा विजयी हुने दाबीसहित मनोनयन दर्ता गरेका अर्यालले आफ्ना प्रस्तावक र समर्थकमध्ये एकको मतसमेत पाएनन् । अर्यालको समर्थकमा सुनसरीकी सुनिता कुमारी गुरुङ र प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ थिए ।

देउवा पक्षको भए पनि विजयकुमार गच्छदारसँग निकट भएका कारण गुरुङले मतदान नगरेको अर्याल निकट नेताहरुको गुनासो छ । गच्छदारले दलको नेताको निर्वाचनमा थापालाई समर्थन गरेका थिए । देउवा गुटकै अर्का नेता रमेशजंग रायमाझी पनि अर्यालको विपक्षमा थिए । अर्यालसँगको व्यक्तिगत टकरावका कारण उनले थापालाई सहयोग गरेका थिए ।

अर्याल निकट नेताहरु सभापति देउवाले उठ्न लगाएर अन्त्यमा असहयोग गरेको बताउँछन् । ‘हिजो त उहाँकै सल्लाहमा दलको नेता हुँदै मुख्यमन्त्री बन्न प्रदेश आउनु भएको थियो, तर आज प्रस्तावक र समर्थकमध्ये एउटाले भोट नहाल्ने अवस्था आयो,’ अर्याल निकट एक नेताले भने, ‘आफ्नो टिमले बलियो भएका कारण उहाँ जित्नेमा ढुक्क हुनुहुन्थ्यो ।’

मतपरिणाम सार्वजनिक भएपछि अर्यालले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?