+
+
पुस्तक समीक्षा :

‘सन्तापको धून’ कथा सङ्ग्रहको भाषिक शिल्प

चीनको विश्वव्यापी पहुँच र प्रभावलाई स्थापित मात्र गरेनन्, बहुध्रुवीय विश्व निर्माणमा चीनको निर्णायक भूमिका स्थापित गरिदिए ।

तेजु तिवारी तेजु तिवारी
२०७९ पुष १६ गते १८:५२

भाषा अभिव्यक्तिको माध्यम हो भने शैली व्यक्त गर्ने ढङ्ग हो । वक्ताले स्रोतासम्म र लेखकले पाठकसम्म विचारको सम्प्रेषण भाषाकै माध्यमबाट गर्छन् । विचार सम्प्रेषण गर्ने ढङ्ग प्रत्येक व्यक्तिमा फरकफरक हुने गर्छ । जति लेखक छन् उति नै शैली फरक हुन सक्छ । धेरै कथाकारहरूमा पाइने फरकपन जस्तै अशोक थापाको ‘सन्तापको धून’ कथासङ्ग्रहमा पनि पृथक किसिमको भाषिक प्रयोग देखिन्छ ।

शैलीका सन्दर्भमा ए.ई. डर्विसायरले भनेका छन् ‘मानक के हो भन्ने थाहा छ भने शैलीलाई मानकबाट विचलनका रूपमा परिभाषित गर्न सकिन्छ ।’ यसको तात्पर्य के हो भने थापाले कथामा छोटा-छोटा वाक्य गठन, पदसंगतिको सार्थक भञ्जन र टुक्रे अनुच्छेद पर्याप्त मात्रामा प्रयोग गरेका छन् । रेने बेलेकद्वारा निर्धारित शैलीमध्ये थापाले यस सँगालोमा वैयक्तिक, आलंकारिक र कलात्मक गरी तीन किसिमका शैलीको प्रयोग गरेका छन् । यसैगरी यहाँ अर्धऔपचारिक र अधिक भाषिकाको प्रयोग देखिन्छ ।

प्रस्तुत संगालोमा रहेका १३ वटा कथाहरूमध्ये पहिलो कथा हात्तीछाप चप्पल हो । यसमा प्रथम पुरुष दृष्टिविन्दुको भाषिक समाख्यान भएको छ । यस कथामा कथाकारले आफूलाई केन्द्रमा उभ्याएर संस्मरणात्मक र स्मृतिकथाको शैलीमा कथात्मक अभिव्यक्ति दिएका छन् । यहाँ आन्द्राको जस्तो तुना, पाउरोटी चप्पल आदिजस्ता स्थानीय र अप्रचलित बिम्बहरूको प्रयोग गरेका छन् ।

यसैगरी शङ्काका आँखा बिछ्याउनु, लाज लुकाएर लाचारी देखाउनु, लाजको विज्ञापन, रिसको पारो चढेर सगरमाथा छुनु, मुटु काँपेर बाहिर हुत्तनु आदिजस्ता रागात्मक वाक्य गठनको प्रयोग भएका छन् । जसले कथाको भाषामा मिठास थपेको छ । कथामा छँदै थिएन भन्ने क्रममा थिँदै थिएन जस्ता पृथक् पदावलीगत विचलन पनि पाइन्छ ।

मुड अफ, कक्टेलजस्ता अङ्ग्रेजी आगन्तुक शब्दको पनि प्रयोग भएको देखिन्छ भने वाक्यगठनमा अत्यन्तै धेरै विचलनको अवस्था देखिन्छ । यस्तो लाग्छ कथाकारमा आलाङ्कारिक पदक्रमको खानी नै छ । यस प्रकृतिको भाषिक प्रयोगले कथालाई पठनीय मात्र बनाएको छैन प्रस्तुतिगत मिठासको सुरुचीकर व्यञ्जन पस्केका छन् कथाकारले ।

‘डडुवाई आमा’ यस सँगालोको दोस्रो कथा हो । यसमा पात्र उमेश र आमाप्रति सामान्य आदरार्थी शब्द प्रयोग गरिएको छ । कथाको दोस्रो वाक्य “मुन्टो घोप्ट्याएर कापीमै आँखा टास्दा भए” जस्ता सङ्गति भत्केका वाक्य पनि देखिन्छ ।

यहाँ अघाएको गिद्धझैँ घोरिए, दुम्सीको काँडाझै जुङ्ग्रुङ उठेजस्ता चोटिला उपमायुक्त सार्थक वाक्यगठनको बहुलता देखिन्छ । त्यस्तै निधारमा गरिबीको भित्तेलेखन जस्ता बिम्बात्मक भाषाको प्रयोग भएको पाइन्छ । यसैगरी आमाको अनुहारलाई विश्व मानचित्रसँग आरोपित गरिएको छ । कथाभरि नै मीठो र रागात्मक भाषा छ्‌यालब्याल बनाएका छन् कथाकारले ।

जस्तै छोरासँगै बसेर खान पाउँदा आमाको डढेको अनुहारको चमक गुलाबी रङमा बदलियो, ओठभरि मुस्कान लिएर ठिंग उभिएको थियो माछापुछ्रे हिमाल आदि । यस कथामा प्रशस्त मात्रामा भाषिकाको प्रयोग भएको छ । जस्तैः क्यार्न तो नि, भैँइसो, अम्सी, सालाँ, काँ, आखिरमा, मोर्चु, आखत, पाताँ, लाम्थेँ आदि । त्यस्तै आगन्तुक शब्दको प्रयोग पनि प्रशस्त मात्रामा भएको भेटिन्छ ।

जस्तैः डिलिट, डिउटी, क्लिक, ड्यामसाइड, प्याराडिसो, क्याफे, भेज, नन भेज आदि । यस कथामा भाषिका र आगान्तुक शब्द प्रशस्त प्रयोग गरिएका भए तापनि सन्दर्भअनुसार सामान्य पाठकले समेत सहजै अर्थबोध गर्न सक्ने माहौल सिर्जना गरिएको छ । यसमा एकटुक्रे अनुच्छेदको प्रयोग पनि देख्न सकिन्छ । प्रथम पुरुष दृष्टिविन्दुमा रचित यो कथा भाषिक शिल्पका दृष्टिले सफल बन्न पुगेको देखिन्छ ।

नुच्छेमान सरल भाषाशैलीमा लिखित प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग भएको छोटो आयामको कथा हो । यहाँ प्रशस्त मात्रामा नेवारी जनजिब्रोका लबजहरू प्रयोग भएका छन् । जस्तैः ठियो, टर, सट्टरी, डस, डरले, पन्ड्र, ठानकोटको बस्नेट, गिडी खाइसकेको ठियो, एक डिन ट, डिउँसोमा, डिँडा राम्रो हुन्छ, बुरो आदि ।

कथाकारले नेवारी जनजिब्रोका शब्दलाई सरल ढंगले कलात्मकता सहित प्रस्तुत गरेका छन् । कथामा नेपाल भाषाका ‘कयगु काः वन ! जस्ता वाक्यलाई पुनः नेपालीमा अर्थ्याइएको छ जसले पाठकलाई सहजता सिर्जना गरिदिएको छ । यस कथामा अघिल्ला कथाका तुलनामा बिम्बात्मक र रागात्मक भाषाको अभाव देखिन्छ ।

भजाइनल ट्रमा कथा तृतीय पुरुष दृष्टिविन्दुमा रचित केही लामो आयामको कथा हो । यहाँ लेखकले भ्वाइस मेसेजको प्रयोग गरेर नयाँ प्रविधिलाई लेखनमा घुसाएका छन् । यस कथामा प्रशस्त मात्रामा चोटिला वाक्यहरू देखिन्छन् । जस्तैः भोको चितुवाले शिकार गरेझैँ, सुख्खा बालुवामा उम्रेको सागझैँ ओइलेकी, मध्यान्हको मुस्ताङे हावा जस्ता आञ्चलिक बिम्बको प्रयोग देखिन्छ । उनीहरूको अनुहार धिपधिप भयो, तातो फलाम पानीमा चोबले जस्तो, समुद्रको लहर जस्तो मनको चञ्चलता, ढोकाबाट मान्छे होइन भयानक सुनामीको प्रवेश आदि ।

कथामा मेनकाको हिंडाइको गतिलाई ब्रेक फेल भएको ट्रकसँग आरोपित गरी रूपक अलङ्कारको प्रस्तुति समेत गरिएको छ । यहाँ बाघको डमरु हुनुपर्नेमा अन्यथा भएको देखिन्छ । यो कथाकारको सामान्य असावधानी हो भन्ने बोध हुन्छ । केही रैथाने बिम्बको प्रयोग गरिएको यो भाषिक शिल्पका दृष्टिले अत्यन्त सफल बनेको छ यो कथा ।

उदास बिहीबार कथा पनि अधिकांश कथा जस्तै प्रथम पुरुष दृष्टिविन्दुमा लिखित कथा हो । यस कथामा सलल बगेको भाषा पाइन्छ । साथै यसमा शिकारीले लखेटेर थाकेको भ्याकुर चरो जस्ता उपमायुक्त वाक्यांश प्रयोग गरिएका छन् भने केही मात्रामा कलात्मक वाक्यहरू समेत प्रयोग गरिएका छन् ।

यसमा सिटिस्क्यान, मसिन, भाइरल, सोसल मेडिया, ड्रमजस्ता आगन्तुक शब्दहरूको प्रयोग गरिएको देखिन्छ । जे भएता पनि ती शब्दहरू नेपाली जनजिब्रोले पचाइसकेको भान हुन्छ । यसले अर्थबोधमा बाधा पुर्‍याएको प्रतीत हुँदैन । यस कथामा अन्य कथामा झैँ सरलता, सरसता र विचलन कायमै देख्न सकिन्छ ।

वीर्यदान तृतीय पुरुष दृष्टिविन्दुमा आधारित कथा हो । यसले लेखकको लेखनगत पदचाप स्पष्ट रूपमा छाप्न सफल भएको भेटिन्छ। अङ्ग्रेजीका ह्याङ, क्रियसन, नर्स, स्पर्म, प्रिजर्भ, व्यायफ्रेन्ड, मेसेज, पोस्टकार्ड, वन्डरफुल, म्यारिज लाइफ, फलो, एरियामा, प्रोसेस, बेडरुम, थर्मस, डिभोर्स आदि जस्ता शब्दको प्रयोग पाइन्छ ।

अङ्ग्रेजीमा साधारण ज्ञान भएका पाठकले पनि यी शब्दहरू सहजै अर्थबोध गर्न सक्ने खालका देखिन्छन् । कथामा भाषा सलल बगेको छ । कथाकारले एकशब्दे टुक्रे वाक्यलाई समेत प्रयोग गरेर लेखनगत शिल्प देखाएका छन् ।

गाजल बेच्ने केटी प्रथम पुरुष दृष्टिविन्दु प्रयोग भएको कथा हो । यसमा अघिल्ला कथाहरूमा जस्तै छोटाछरिता शब्द र त्यस्तै वाक्य गठनको विचलनयुक्त भाषा कायमै छ जो लेखकको भाषिक वैशिष्ट्य जस्तै बनेको देखिन्छ ।

रित्तो आँगन संरचनात्मक आयामका दृष्टिले लामो कथा हो । यो तृतीय पुरुष दृष्टिविन्दुमा रचित सरल भाषाशैलीको कथा हो । आईसीयू, वार्ड, केस, पोलिक्लिनिक, यह आसान काम नहीं, और लगभग असम्भव भी’ आदि जस्ता अङ्ग्रेजी र हिन्दी भाषाका शब्दहरूको प्रयोग गरिएको छ ।

अन्य कथाका तुलनामा व्यकरणगत विचलन कम प्रयोग भएको देखिन्छ यसमा । आँखा हिमनदी बनेर बग्न थाले, झिंगाको जस्तो मन, मनको पोखरी, खुसीले आगो भर्भराएझैँ, अनि तेल-सेल-खेल जस्ता पदावलीले भाषा ओज र थप मिठासयुक्त बनेको छ । सरल, सहज र सरस भाषाशैलीमा सलल बगेको यो कथा ढाँचागत आधारमा हेर्दा रैखिक देखिन्छ ।

भित्ताका कान कथा वृत्तकारीय ढाँचामा लिखित कथा हो । यहाँ पत्रात्मक शैलीको प्रयोग गरिएको छ, पत्रलेखनको भागलाई बिराम चिह्नले बन्द गरेको भए राम्रो हुन्थ्यो । तृतीय पुरुष दृष्टिविन्दुमा रचित यस कथाका केही स्थानमा पदयोगगत भाषिक त्रुटि देखिएका छन् ।

निर्दोष भूलहरू कथा स-साना कथाहरूको संगम भएको कथा हो । यो प्रथम पुरुष दृष्टिविन्दुमा आधारित रैखिक ढाँचाको कथा हो । यसमा ससाना कथाहरूको संगम गरिएको छ । उत्तरआधुनिक ढप-ढाँचाको लेपन पाइन्छ कथामा । अघिल्ला कथाझैँ यसमा पनि छोटाछोटा शब्द र वाक्यगठन अनि विचलनद्वारा मीठास कायमै रहेको देखिन्छ ।

यसको एकाथ ठाउँमा बिराम चिह्नगत त्रुटि देखिन्छ । पाँचौँ अनुच्छेदमा प्रश्नवाचनक चिह्न हटाएर पूर्णविराम राख्नुपर्ने देखिन्छ ।

बेचेका कुलदेवता संरचनात्मक रूपमा हेर्दा केही लामो कथा हो । यसमा कथाकारले सरल र मिठो भाषाशैलीको प्रयोग गरिदिएकाले पाठकलाई अत्यासलाग्दो गराउँदैन । तृतीय पुरुष दृष्टिविन्दुमा रचित सरल स्वरूपमा रचिएको छ ।

कथामा ‘घर बनाउनु उचो खेत रोप्नु निचो’ जस्ता उखान र कहिलेकाहीँ हातैमा राखिदिएको स्वतन्त्रता पनि कति निर्थन हुने रेहछ जस्ता घतलाग्दा वाक्यले कथामा थप मिठास बढाएको देखिन्छ । कथाको ठाउँठाउँमा आञ्चलिक लवजका शब्दहरू लाम्छ, सालाँ, बैरियो, मङ्सिराँ, अर्नु नअर्नु, थानाँ आदि शब्द आएका छन् जसले भाषामा तिख्खरपन थपेको छ तर वर्णविन्यासगत अशुद्धि भने ठाउँठाउँ देखिन्छ ।

धानचरी र गोलसिमल लोकसाहित्यका बिम्ब ल्याएर थापाले सरल भाषाशैलीमा प्रस्तुत कथा तयार पारेका छन् । तृतीय पुरुष दृष्टिविन्दुमा तयार पारिएको नरकंकालको गीत कथामा ससाना तीनवटा कथाको विन्यास एकै ठाउँ गरिएको छ । यसमा निर्दोष भुलहरू कथाजस्तै ससाना कथाहरूको झुन्डलाई एउटा कथाभित्र बुनिएको छ । यस कथामा उत्तरआधुनिक कथाचेत भेटिन्छ ।

यो तृतीय पुरुष दृष्टिविन्दुमा रचित रैखिक संरचनाको कथा हो । अन्य कथामा झैँ यसमा पनि भाषिक विचलन कायमै देखिन्छ । यति हुँदाहुँदै पनि सरल-सरस र छोटाछोटा वाक्गठनले भाषामा सुन्दरता कायमै राखेको छ । भाषा सलल बगेको भेटिन्छ । कथाकारको कथाप्रस्तुतिको ढङ्ग यसमा सानासाना कथाहरूको झुन्डको रूपमा लिइएको छ ।

****

थापाको प्रस्तुत कथासङ्ग्रहमा जम्मा १३ वटा कथा रहेका छन् । उनका ती सबै कथामा सरल नेपाली जनजिब्रोका शब्द बागलुङ, पर्वत तथा कास्की प्रचलनमा रहेका भाषिकागत प्रभाव देख्न सकिन्छ । केही मात्रामा अङ्ग्रेजी भाषाका शब्दहरूको समेत प्रोगगत स्थिति देखा पर्दछ । उनका सबै कथामा व्याकरणगत सङ्गतिको भञ्जन भेटिन्छ जसले भाषिक मिठास र आलाङ्कारिता बढाएको छ ।

स्थानीय बिम्ब प्रयोग गर्दै यस कथासङ्ग्रहले मानवसमाजका विभिन्न सन्तापहरु टिपेको छ र ती सन्तापहरू समाजले प्रयोग गर्ने भाषाशैलीको माध्यमद्वारा छापामा उतारेको छ । सुरुका कथाका भाषा अन्त्यका कथाको भाषामा एकरूपता देखिन्छ बीचतिरका कथामा अलि भाषिक शिथिलता देखिन्छ । एक वाक्यमा भन्दा थापाको कृतिमा सरलता, सहजता, सरसता, रागात्मक र बिम्बात्मकता प्रशस्त पाइन्छ । थापा भाषा सचेत कथाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?