+
+

एकीकृत समाजवादीभित्र ३ धार

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते २१:१६
Photo Credit : फाइल तस्वीर

१७ पुस, काठमाडौं । सरकारमा सहभागिता, पार्टी एकता लगायतका बिषयमा निर्णय लिन डाकिएको एकीकृत समाजवादीको स्थायी समिति बैठक बिनानिष्कर्ष सकिएको छ ।

पार्टी कार्यालय, आलोकनगरमा शनिबार र आइतबार बसेको बैठकले निर्णय दिन नसकेपछि भोलि सोमबार नै पोलिटब्यूरो बैठक बोलाइएको छ । ‘भोलि पोलिटब्यूरो बैठक आयोजना गरेका छौं, त्यो बैठकले के सुझाव दिन्छ त्यस आधारमा हामी यावत विषयमा धारणा दिने छौं,’ बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

५२ सदस्यीय स्थायी कमिटी सदस्यमध्ये सोमबार ३० जनाले आफ्नो धारणा राखेका थिए । एक सहभागीका अनुसार सरकारलाई सर्मथन गर्ने कि नगर्ने ? सर्मथन गरेको खण्डमा सरकारमा जाने कि नजाने ? र, नेकपा एमालेसँग तत्काल एकतामा जाने कि नजाने भन्ने विषयमा पार्टीमा प्रष्ट तीन धार देखिएको छ ।

पहिलो धार– सम्मानित नेता झलनाल खनाल लगायतका नेताहरु अहिलेको सरकारप्रति कडा देखिएका छन् ।

बर्तमान सरकार वामपन्थी नभई ‘खिचडी सरकार’ भएको टिप्पणी गरेका उनले समर्थन वा सहभागिता दुबै गर्न नहुने बताएका छन् । ‘यो सरकार कस्तो सरकार हो भन्ने स्पष्ट भएको छैन,’ स्थायी समिति बैठकपछि खनालले भनेका छन्, ‘नीति के हुने, कार्यक्रम के हुने हुने भनेर यो सरकारले ल्याइनसकेको हुनाले हामीले झ्याप्पै समर्थन गरिहाल्छौं भन्ने कुरा पनि भएन ।’

खनालले नेकपा एमालेतर्फ संकेत गर्दै उनले कुनै नेताले चाहँदैमा एकतामा भइनहाल्ने बताएका छन् ।

‘हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ,’ खनालको प्रतिवेदनमा भनिएको छ, ‘कम्युनिष्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता आजको युगको आवश्यकता हो । … तर कम्युनिष्टहरुबीच एकता टाउको जोडेर हुँदैन, अंकमाल गरेर पनि हुँदैन, हात मिलाएर मात्र पनि हुदै हुदैन, कुनै खास खास नेताहरुले चाहेर मात्र पनि हुँदैन ।’

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र स्थायी कमिटी सदस्य बलराम बास्कोटाको धारणा पनि खनालसँग मिल्दो जुल्दो छ । आफूहरुसँग छलफल नै नगरी एक्कासी बालकोट (नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास) मा पुगेको भन्दै खतिवडा प्रचण्ड सरकारलाई सर्मथन दिन नहुने पक्षमा छन् । नेकपा एमालेसँग एकताको विषयमा समेत हतार गर्न उचित नहुने उनको धारणा छ ।

बास्काटाले चाहिँँ यो सरकार वाम सरकार नै नभएको धारणा बैठकमा राखेका छन् । ‘यो राइट र लेफ्टको सरकार हो’, उनले बैठकमा भनेका छन्, ‘यो वामपन्थी सरकार पनि होइन । यसको भविष्य धेरै लामो पनि छैन ।’

दोस्रो धार– मुकुन्द्र न्यौपाने लगायतका नेताहरु भने प्रचण्ड नेतृत्वको सरकार वाम सरकार भएको भन्दै सर्मथन गरेर सरकारकै सहभागी हुनुपर्ने पक्षमा उभिएका छन् ।

न्यौपानेले बैठकमा तत्काल एमालेसहितका वामपन्थी एकतामा जानुपर्ने धारणासमेत राखेका छन् । आफू असारदेखि नै यो धारणा राखेको भन्दै उनले भने, ‘यो वामपन्थीको सरकार हो । सरकारमै जाने नजाने कुरा एउटा हो, तर समर्थन भने गर्नुपर्छ ।’

तेस्रो धार– अध्यक्ष माधव नेपालसहितको ठूलो पङ्ति भने ‘पर्ख र हेर’ को रणनीतिमा देखिएका छन् ।

यो पक्ष सरकारलाई सर्मथन गर्न सकरात्मक भएपनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबाट सम्मानजनक प्रस्तावको पर्खाइमा छ । हात्तीवनमा भएको भेटमा पनि नेपालले ठोस प्रस्ताव ल्याउन प्रचण्डलाई आग्रह गरेका थिए ।

अध्यक्ष नेपालले सचिवालय, केन्द्रीय सदस्य तथा भ्रातृ संगठनका नेताहरुसँगको भर्चुअल बैठकमा पनि आफूहरु सरकारमा जानेबारे ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएका थिए । स्थायी कमिटीमा पनि उनले यही धारणा दोहोर्‍याएका छन् ।

स्थायी कमिटीबाट केही निर्णय नगराएर पोलिटब्यूरो बैठक बोलाउनुको पछाडि अध्यक्ष नेपालको यही ‘पर्ख र हेर’ को नीतिले काम गरेको नेताहरुले बताएका छन् । ‘मेरो अनुमानमा भोलि पनि ठोस निर्णय आउँदैन,’ एक नेताले भने, ‘केही दिन यसो पर्खिने, हेर्ने यस्तै चलिरन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?