१८ पुस, काठमाडौं । लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले हार व्यहारेको छ । आइतबार राति भएको खेलमा लेन्सले लिग लिडर पीएसजीलाई ३-१ गोल अन्तरले हराएको हो । पीएसजीको यो मार्चपछि पहिलो हार हो ।
दोस्रो स्थानमा रहेको लेन्सले पनि लिगको १७ खेलमा एउटा मात्र हारेको छ र लिग लिडर पीएसजीभन्दा ४ अंकले पछाडि छ ।
घरेलु मैदानमा भएको खेलमा लेन्सले पाँचौं मिनेटमा अग्रता लिएको थियो । पीएसजीका किपर डोनारुमाले क्लियर गर्न नसकेको बलमा सेमिस्वा फ्रान्कोस्कीले खाली पोस्टमा गोल गरेका थिए । तर भ्रमणकारी टोलीले तत्काल बराबरी गोल फर्कायो । उसका लागि हृयोगो एकिटिकेले गोल गरेका थिए ।
खेलको २८औं मिनेटमा लेन्सले फेरि अग्रता लियो । घरेलु टोलीका लागि ओपेन्डाले गोल गरे । तेस्रो गोल भने एलेक्सेस क्लोड मौरिसको नाममा रहृयो । दोस्रो हाफ सुरु भएको दुई मिनेटमा नै उनले गोल गरेका हुन् ।
पीएसजीले केलियन एम्बाप्पेलाई पुरै समय खेलाएको थियो । तर खेलमा फर्किन सकेन र लेन्सलाई ३ अंक बुझाएको छ । १७ खेलबाट ४० अंक जोडेको लेन्स दोस्रो स्थानमा छ भने लिग लिडर पीएसजीको समान खेलबाट ४४ अंक छ ।
प्रतिक्रिया 4