+
+

प्रदेश १ मा सरकार बनाउन दाबी पत्र तयार, केन्द्रको निर्देशन पर्खदै एमाले-माओवादी

हरि अधिकारी हरि अधिकारी
२०७९ पुष १९ गते १५:१०

१९ पुस, विराटनगर । प्रदेश १ सरकारको नेतृत्व दाबी गरिरहेका माओवादी केन्द्र र नेकपा एमालेले केन्द्रले भागवण्डा टुङ्गो लगाएपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

मंगलबार माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र एमाले दलका नेता हिक्मतकुमार कार्कीबीच एक घण्टा भेटघाट भएको थियो । प्रदेश तहमा भागवण्डा गर्न नमिल्ने भन्दै दुवै दलका नेताले केन्द्रीय नेतृत्वको टुङ्गो लगाएपछि प्रदेशमा दाबी पेश गर्न सहमति जनाएका छन् ।

‘मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा पार्टीको केन्द्रीय नेतृत्वले टुङ्गो लगाउँछ,’ माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘केन्द्रले निर्णय गरेपछि दाबी पेश गर्न जाने विषयमा छलफल भयो ।’

केन्द्रीय नेतृत्वले मुख्य विषयमा निर्णय गरे प्रदेशमा बाँकी बिषय छलफल गरेर टुङ्गो लगाउने उनले बताए ।

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्र र एमाले दुबैले दाबी छाडेका छैनन् । मुख्यमन्त्री एउटा दलले पाए सभामुख अर्काे दलले पाउनेछन् ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले १–२ दिन भित्र सरकार गठनका लागि दाबी पेश गर्ने तयारी भएको बताए । ‘केही विषयमा केन्द्रमा आज भोलि टुङ्गो लाग्छ,’ उनले भने, ‘त्यसपछि हामी दाबी पेश गर्छाै ।’ मुख्यमन्त्री र सभामुखको विषय केन्द्रले नै टुङ्गो लगाउने उनले बताए ।

मन्त्रालय घटाउने छलफल

एमाले संसदीय दलका नेता कार्की प्रदेशमा हाल रहेका मन्त्रालय घटाउने पक्षमा छन् । मन्त्रालय घटाउने विषयमा माओवादी केन्द्र दलका नेता आङ्बो पनि तयार छन् । राजेन्द्र राई नेतृत्वको सरकारले प्रदेशमा १३ वटा मन्त्रालय बनाएको छ । त्यसलाई घटाएर ११ वटा बनाउने विषयमा दुबै दलका नेता सकारात्मक छन् ।

मन्त्रालय घटाउने विषयमा सामान्य छलफल भए पनि निष्कर्षमा नपुगेको एमाले नेता कार्कीले बताए । मुख्य जिम्मेवारी बाँडफाँट भएपछि मन्त्रालयको संख्याका विषयमा छलफल हुने आङ्बोले बताए । दलका नेताले मन्त्रालय घटाउने इच्छा देखाए पनि दुवै दल भित्र मन्त्रीका आकाक्षी भने बढी छन् ।

दाबी पत्र तयार

प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय दिएर आइतबारबाट सरकारमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि पुस २४ गते बेलुका ५ बजेसम्मको समय दिएपछि एमाले, माओवादी र राप्रपाले दाबी पेश गर्न छलफल अघि बढाएका छन् ।

प्रदेश प्रमुखले दिएको समय अगाडि नै दाबी पेश गर्न भन्दै एमाले दलका नेता कार्कीले अधिवक्ता समेत रहेका सांसद लिलाबल्लभ अधिकारीलाई कागजात जुटाउन भनेका थिए । अधिकारीले प्रदेश प्रमुख समक्ष पेश गर्ने दाबीपत्र तयार अवस्थामा राखेका छन् । अधिकारीले भने, ‘सबै तयार छ, दलका नेताले हस्ताक्षर गरेपछि बुझाउँछौं ।’

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाई बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेको ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत छ ।

प्रदेशसभामा २९ सांसद भएको कांग्रेस र ४ सांसद भएको नेकपा एकीकृत समाजवादी पार्टी प्रतिपक्षमा छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?