+
+

धरान अब मृत शहर बन्दैन

हर्कराज साम्पाङ राई हर्कराज साम्पाङ राई
२०७९ पुष २० गते १९:३२

नमस्ते, जय धरान ।

यो अत्यन्तै उल्लासमय समारोह हामीले सम्पन्न गरिरहेका छौं । म यस कार्यक्रम आयोजनामा जुट्नु हुने सबैलाई धेरैधेरै धन्यबाद दिन चाहन्छु । यो धरानको जन्मोत्सव मनाउने यो हाम्रो परम्परालाई हामीले कायम गर्दै आज (बुधबार) भोलि र पर्सी तीन दिन गरेर अत्यन्तै भव्यताका साथ यो कार्यक्रमलाई सुसम्पन्न गर्ने छौं । यहाँहरुको सम्पूर्णताको सहभागिता सम्पूर्णका साथ सहयोग रहिरहने छ भन्ने मैले विश्वास लिएको छु ।

हामीले पूर्ववक्ता अतिथिज्यूहरुबाट धेरै कुराहरु विकाससँग चासो राखेर अत्यन्त धेरै कुराहरु हामीले सुनिसकेका छौं ।

म पनि केही कुरा यही अवसरमा, यो जन्मोत्सव मनाउने एउटा रमाइलोको अवसरमा विकासका केही कुराहरु, हामीले आशा गरेका कुराहरु र हामीले गर्न खोजेका कुराहरु के के हुन त भन्ने बारेमा यहाँ केही भन्न चाहन्छु ।

‘वडाध्यक्षसँग अस्वस्थ प्रतिस्पर्धा छैन’

हामीसँग हाम्रा अभिभावकहरु प्रदेशका अभिभावक, संघका अभिभावक माननीयज्यूहरु हुनुहुन्छ, उहाँहरुले अत्यन्त राम्रोसँगले कुराहरु राख्दिनु भएको छ । अलिकति लागेको के रहेछ भने, धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मेयर भएर आयो अरु दलबाट आएका वडाध्यक्षज्यहरु, कार्यपालिका सदस्यज्यूहरुसँग सहकार्य हुँदैन कि, समन्वय हुँदैन कि भन्ने खाल्को एउटा शंकाजस्तो पनि अलिकति अर्तीउपदेश पनि भन्छु म चाहिं हामीलाई प्राप्त भयो । त्यो पनि मैले सुनेँ, महशुस गरें । तर म यहाँहरुलाई के वचन दिन चाहन्छु भने हामीले कुनै पनि विषयमा बहस गरिरहँदा हामीले त्यस्तो तरिकाले अस्वस्थ बहस गरेका छैनौं ।

हामीसँगै एक भएर नै अगाडि बढिरहेका छौं । यदाकदा एकदुईवटा बैठकमा होला, अलिकति कुराहरु सहमतिमा आएन । तर, हामी एक छौं । हामी सबै एक भएर धरानलाई अगाडि बढाइरहेका छौं । यो कुरामा कुनै शंका, सङ्कोच नमान्नका लागि हामी अनुरोध गर्न चाहान्छौं ।

आदरणीय दाजुभाइ दिदीबहिनीहरु,

धरानलाई हामीले अत्याधुनिक सहर बनाउने सपना लिएर अगाडि बढिरहँदा हाम्रा आधारभूत आवश्यक्ताहरु सबैभन्दा पहिलो प्राथमिकतामा पर्दछ भन्ने मैले बुझेको छु ।

हामी धरानलाई स्मार्ट सिटी बनाउने भनेर घोषणा गर्छौं । तर धरानमा के कस्ता सानासाना समस्याले हाम्रो दिनचर्या कठिन भइरहेको छ भन्ने कुरातिर हामीले ध्यान दिनुपर्दछ ।

‘खोला सुक्यो, अर्जुनदृष्टि खानेपानी’

मेरो प्राथमिकता भन्नुहुन्छ भने खानेपानी नम्बर १ को प्राथमिकता हो । जुन खानेपानी छैन भने अहिले हामीले एकदिन पनि राम्रोसँग गुजार्न सक्दैनौं । यो हामीले दशकौं पहिलादेखि भोग्दै आइरहेको पीडा । यो पीडा र समस्यालाई समाधान गर्नुपर्छ भन्ने पहिलो प्राथमिकता हो । यसपाली म निर्वाचित भएर आइसकेपछि ६ महिनाको अन्तरालमा सात वटा खोलाको पानी जोड्यौं । तर, यी खोलाहरु भनेको स्थायी खोला, बाह्रैमास पानी भइरहने खोलाहरु होइन ।

अहिले खोला सुक्यो । पानीको अभाव फेरि बढ्दै गएको छ । तर, पोहोर परारजस्तो स्थिति छैन । पोहोर–परार असोजदेखि ट्यांकर गुड्थे धरानमा । तर, अहिले पुसको अन्तिमसम्म आइसक्दा पनि मैले ट्यांकर खासै गुडेको देखेको छैन ।

त्यसो भएका कारणले हामीले केही राहत महसुस गरेका छौं । त्यसको लागि तपाईं हामी दिनरात मिलेर काम गरेका छौं । तर, खानेपानी समस्याको समाधान तबमात्र हुनसक्छ, जब हामीले सप्तकोसीबाट पानी लिफ्ट गरेर ल्याउन सक्छौं ।

यो कुरामा अर्जुनदृष्टि राखेर हामी हिंडिरहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । हामीले दुई चरणको सर्वे सकेर यतिखेर त्यो कोसीको चाहिं जहाँबाट हामीले पानी संकलन गर्दैछौं, त्यो कोसीको बगर एरिया एक हेक्टर जति हामीले प्राप्त गर्नुपर्ने भनेर पत्राचार भएको छ ।

हामीले त्यो पत्र प्राप्त गरेका छौं ।

म हाम्रो संघ र प्रदेशका माननीयज्यूहरुलाई यो कुरामा हामीलाई यहाँहरुको क्षेत्राधिकारभित्र रहेर सम्पूर्ण किसिमले सहयोग गर्नुहोला भन्ने अनुरोध गर्न चाहान्छ । र, म विश्वास गर्दछु कि उहाँहरुले पक्कै पनि एउटा अभिभावकीय भूमिका खेलेर यो कुरालाई संघ र प्रदेशमा राख्नु हुनेछ । र, सम्बन्धित निकायबाट हामीले त्यो अथोरिटी प्राप्त गर्ने छौं ।

त्यसपछि हामीले त्यो जग्गाको भोगाधिकार प्राप्त गरिसकेपछि अर्को चरणको अध्ययन गरेर निर्माण कार्य पनि सुरु गर्नुपर्दछ । निर्माण कार्य गर्नका लागि बजेट एलोकेशनका लागि पनि म संघका हाम्रा प्रतिनिधिज्यू हाम्रा अशोक दाजु (अशोककुमार राई) लाई म अनुरोध गर्न चाहन्छु ।

उहाँले त्यो पहल गर्नु हुनेछ र प्रदेशमा पनि यसको पहल गरिने छ । अब खानेपानी समस्याका बारेमा हामीले कसरी तत्काल सुधार गर्ने त भन्ने कुरा हाम्रा प्रदेश सांसदज्यूले पनि राख्नुभयो ।

मैले देखेको, हाम्रा पुराना संरचनाहरुलाई तुरुन्त मर्मतसम्भार गर्नका लागि प्रदेश सरकारले हामीलाई सहयोग गर्नुपर्दछ भनेर बुझ्नुपर्छ । हाम्रो ‘वेल’हरु बिग्रिरहेका छन् । आयोजनाका पाँच वटा पम्पमध्ये दुई वटा मात्र चलेको छ । त्यो फुलफेजमा अपरेट नभएका कारणले गर्दाखेरि ।

यसपाली हामीले लगभग लगभग ६ महिना ती ‘वेल’हरु, कुवाहरुलाई हामीले दोहन गरेनौं । ६ महिनासम्म खोलाकै पानीलाई हामीले आपूर्ति गर्‍यौं । तर अहिले हामीले त्यो वेलबाट पानी तानिरहेका छौं । तर त्यो पानीलाई ठेलेर यहाँसम्म ल्याइपुर्‍याउन पम्पहरु छैन ।

ती पम्पहरु खरिद प्रक्रियाका लागि पनि हामीले कागज, प्रक्रिया अगाडि बढेको छ । र, सम्पूर्ण कुरादेखि मर्मतसम्भार गर्दा २० देखि ३० करोडसम्म लाग्छ भन्ने कुरा पनि प्राविधिकबाट मलाई जानकारी आएको छ । त्यसतर्फ पनि बजेट ‘एलोकेट’ गर्न पनि म सम्पूर्ण माननीयज्यूहरुलाई अनुरोध गर्न चाहन्छु ।

हाम्रा बाटाहरुको कुरा गर्दा खेरि, ६ लेनको बाटो कहाँ लाने ? मलाई दुईटा त पत्र आइसक्यो । अब त्यो बजार डाङडुङ भत्काउने कि ? के गर्ने हामीले ? यो मेयरको स्तरबाट मात्रै हुनसक्ने निर्णय हो जस्तो मलाई लागेको छैन । यसमा सम्पूर्ण सांसदज्यूहरु, सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण संघसंस्था, नागरिक समाज बसेर छलफल गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

हामी राजनीतिक दल र नगरपालिका फाल्टोफाल्टै कुदिरहेका छौं भन्ने खाल्को आशंका र सङ्कोच पनि नलिनका लागि पनि म अनुरोध गर्न चाहन्छु ।

त्यस्तो संकीर्ण सोच विचार राख्ने हामीले गर्नुहुँदैन । मेरो तर्फबाट मैले ‘अल्वेज वेलकम’ गरिरहेको छु । तपार्ईहरुको साथ सहयोग, सल्लाह सुझाव र तपाईंको सहभागिताबिना, हामी सबैको सहभागिताबिना धरान बन्दैन ।

मैले मात्र मेरो पाटो बनाएर हुँदैन । उपमेयरज्यू, वडाध्यक्षज्यूहरु, कर्मचारी संयन्त्र सबै मिलेर ले मात्र मेरो पाटो बनाएर हुँदैन । उपमेयरज्यू, वडाध्यक्षज्यूहरु, कर्मचारी संयन्त्र सबै मिलेर ‘वन टिम वन गोल’ को ‘स्पिरिट’मा अगाडि बढेर मात्रै धरानलाई सम्मुन्नत बनाउन सक्छौं ।
‘सानो बजेटले पर्यटन विकास असम्भव’

हामी धरानको पर्यटनको कुरा गरिरहेका छौं । पर्यटन खासमा के हो त ? यो कुरा बुझ्न जरुरी छ । पर्यटन भनेको मैले बुझेको चाहिं त्यो फेसबुक र युट्युबमा हेर्ने पर्यटन होइन । मान्छे भिजिट गर्न आउनुपर्छ धरानमा । मान्छे भिजिटमा केको लागि आउने त धरान ? हामीसँग त्यस्ता पूर्वाधार के छन् त ? ती कुराको अभिलेखीकरण हामीसँग हुन जरुरी छ । हामी धरानलाई धार्मिक पर्यटकीय स्थल भनेर भन्छौं ।

तर, हाम्रा विभिन्न धार्मिक पर्यटकीय स्थलसम्म जाने बाटा राम्राराम्रा छैनन् । नगरको सानो बजेटले हामीले ती कुराहरु पूरा गर्न सकिरहेका छैनौं ।

उदाहरणका लागि विष्णुपादुका मन्दिर जाने बाटोको कुरा गरौं । अझै त्यो बाटो हिलाम्मे, धुलाम्मे छ । त्यसलाई हामीले नगरबाट पनि प्रदेशबाट पनि केही किलोमिटरसम्म हामीले पिच गर्दैछौं । यतातिर पनि हाम्रा माननीयज्यूहरुको ध्यान जानुपर्छ भन्न चाहन्छु ।

‘बिपी अस्पताल हाम्रो पहुँचमा हुनुपर्छ’

बिपी अस्पतालको कुरा पनि गर्नु भयो, यहाँहरुले । त्यो बिपी अस्पताल । पूर्वकै सबैभन्दा ठूलो अस्पताल । तर, त्यहाँ गयो कहिल्यै पनि हाम्रो उपचार समयमा नहुने । के हो त खासमा ?

मैले त स्वास्थ्य मन्त्रीज्यूलाई अस्ति सिंहदरबारमा भेट्दा उहाँलाई भनें पनि । तपाईंहरु चलाउन सक्नुहुन्न रैछ । हामीलाई दिनुस्, धरान उपमहानगरपालिकालाई । हामी चलाउँछौं भनेर पनि मैले उहाँलाई भनें । उहाँ हाँस्दै हुनुहुन्थ्यो । यो कुरालाई पनि सांसदज्यूहरुलाई सदनमा उठाएर, त्यहाँको ऐन, कानुन संशोधन गरेर मिल्छ भने धरानलाई हस्तान्तरण गर्नका लागि पहल गरिदिन पनि म अनुरोध गर्न चाहन्छु ।

त्यहाँ गयो, कोही पनि जिम्मेवार छैन । एहँ, हामी त कर्मचारी मात्रै हो, माथि सोध्नुपर्छ भन्छ, माथि माथि त कहाँ माथि ? कति माथि सोध्ने, कल्लाई सोध्ने, को हो त्यो ? माथि को छ त ? त्यसैले गर्दा त्यो बिपी अस्पताल हाम्रो पहुँचमा हुनुपर्छ । हाम्रो प्रशासनिक क्षेत्राधिकारभित्र हुनुपर्छ । हाम्रो आर्थिक क्षेत्राधिकार भित्र पनि बिपी अस्पताल रहनुपर्छ भन्ने मलाई लाग्दछ र म यो अनुरोध गर्न चाहन्छु ।

‘६ लेनको बाटो कहाँ लाने ?’

हाम्रा बाटाहरुको कुरा गर्दा खेरि, ६ लेनको बाटो कहाँ लाने ? मलाई दुईटा त पत्र आइसक्यो । अब त्यो बजार डाङडुङ भत्काउने कि ? के गर्ने हामीले ? यो मेयरको स्तरबाट मात्रै हुनसक्ने निर्णय हो जस्तो मलाई लागेको छैन । यसमा सम्पूर्ण सांसदज्यूहरु, सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण संघसंस्था, नागरिक समाज बसेर छलफल गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

मेरो आफ्नो ‘मनको गीत’ले हुने कुरा जस्तो मलाई लागेको छैन । यत्रा संरचना छन् । जुन संरचनालाई हामीले हाम्रै नगरपालिकाले सम्पन्न–पत्र दिएर बनेका घरहरु छन् । भोलि स्टेअर्डर जारी होला । त्यसपछाडि हामी विभिन्न कुरामा अल्झेर फेरि अनिर्णयको बन्दी भएर रहनुपर्ने स्थिति आउँदैन भन्न म सक्दिनँ । यसको बारेमा पनि हामीले छलफल गर्नु छ । यसका बारेमा मैले गर्नुपर्ने काम, मैले खेल्नु पर्ने भूमिका म खेल्दिन्छु । छलफल म बोलाउने नै छु ।

‘सुरुङ मार्ग बनाऔं, तर जलाधार क्षेत्रबाट होइन’

यहाँनेर अलिकति म हाम्रा संघीय सांसद माननीयज्यूले पनि लेउतीसम्मको सुरुङ मार्गको कुरा राख्नुभयो । यो विषयमा मेरो अलिकति विमत्ति कहाँनेर छ भने, सुरुङ मार्ग बनाऔं, तर जलाधार क्षेत्रबाट होइन । त्यसको लोकेशन चेन्ज गर्नु पर्छ । यो चिन्डे डाँडाको तलबाट बनाऔं न ।

हाम्रो अलिअलि भएको पानीको स्रोत त्यो पनि मासिने गरी आँपगाछीतिर गयौं भने भुइँको टिप्न खोज्दा गोजीको झरेजस्तो हुन्छ । त्यता पनि हाम्रो सुक्छ, सर्दूखर्दू पनि सुक्छ, अनि त्यो कहिले हो कहिले बिना पैसाको योजना नेपाल सरकारले बनाई राख्छौं, योजनामात्र बनाउँदा खेरि त हामीले चन्द्रमा जाने एउटा भर्‍याङ बनाउँदा पनि हुन्छ । एक सालमा एउटा सिंढी थप्ने अर्को सालमा अर्को सिंढी थप्ने कति जान्छ, जान्छ योजना त हो । तर कहाँ छ त बजेट ? त्यो पनि म प्रश्न गर्न चाहन्छु ।

‘धरान जीवित सहर हो, श्रमसंस्कृतिको सहर हो’

यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई म धेरैधेरै धन्यवाद दिन चाहन्छु । यहाँहरुको यो उल्लासमय सहभागिताका लागि । धरान एउटा जीवित सहर हो । मृत सहर होइन । धरान हाँसेर जिउँछ । धरान हाँसेर हरेक कुरालाई सामना गर्दै अगाडि बढिरहेको सहर हो । धरान विभिन्न सांस्कृतिक पहिचान बोकेको एउटा सहर हो । यसपालीदेखि म भन्छु धरान भनेको श्रम संस्कृतिको सहर पनि हो ।

हाम्रा खोलानालामा हामीसँगै श्रम गर्नका लागि, हामीसँगै ढुंगा बोक्नका लागि, हामीसँगै हामीले खाने पानीका लागि, पाइप तान्नका लागि सिक्किम, दार्जिलिङका मानिसहरुले आएर श्रम गरेको प्रमाण हामीसँग छ ।

विभिन्न खाले पर्यटन हामीले हेरिरहेका छौं । तर, एउटा नयाँ पर्यटन हामीले सुरु गरेका छौं, त्यो भनेको श्रम पर्यटन हो । त्यो श्रम पर्यटनले के गर्छ ? धरानमा गएर काम गर्नुपर्छ भन्दै मान्छेहरुलाई आकर्षण गरिरहेको हुन्छ ।

म सम्पूर्ण नेपाली समाजलाई भन्न चाहन्छु । काम कुनै सानो हुँदैन । धरान उपमहानगरपालिकाको नगर प्रमुख दिनभरि ढुंगा कुटिरहेको हुन्छ । खोई ? म सानो भएँ ? कुनै पनि काम सानो हुँदैन । काम गर्ने मान्छे सम्मानित नभएका कारणले गर्दा यो देशपछि परेको हो ।

हामी ठूल्ठूला गफ गर्छौं । ठूलाठूला गफ गर्छौं । कति गर्छौं गर्छौं ? ढुट्टो पीठो बनाउछौं गफ गरेर । तर काम केही पनि गर्दैनौं । त्यसले गर्दाखेरि देशपछि पर्‍यो । त्यही बुझेका कारणले गर्दा धरानले श्रम गरेर मात्रै पनि करोडौं रुपैयाँको काम गरेर देखाइदियो ।

‘विकासमा वनको अवरोध’

म धरानलाई उत्पादनसँग जोड्न चाहिरहेको छु । धरान भनेको उपभोक्ताको सहरमात्र भयो । विदेश गयो । पैसा कमायो, ल्यायो । यहाँ बसेर खायो । सकिएपछि फेरि गयो । बाउ त्यसै गर्‍यो । छोरा त्यसै गर्‍यो । नाति त्यसै गर्‍यो । त्यो होइन अब । धरान उत्पादकहरुको सहर बन्नुपर्छ । धरानले उत्पादन गर्नुपर्छ भनेर एउटा साबुन फ्याक्ट्री खोल्न खोजेको वन आइपुग्यो । यो ‘वन’ (वन कार्यालय) भनेको के हो ? यो विषयमा पनि बहस छेड्नका लागि म हाम्रा माननीय सांसद अशोककुमार राईज्यूलाई अनुरोध गर्न चाहन्छु । के हो ? वन भनेको ?

बाटो बनाउन खोज्यो वन आएर रोक्छ । पुल बनाउन खोज्यो, वन आएर रोक्छ । विद्यालय बनाउन खोज्यो वनै आइहाल्छ । यो वन भनेको के रैछ ? म प्रश्न गर्न चाहन्छु । म त्यो मेयर हो जसले तीन महिनामा ६ लाख विरुवा रोप्न लगायो । आफैं अगाडि बढेर रोप्यो । त्यो इतिहास रचेको मेयरलाई वनको महत्व बुझाउँदै आउँछ एउटा पुलिस ।

म सुरक्षा निकायलाई पनि भन्न चाहन्छु । स्वतन्त्र भएरै पनि के भो त ? सार्वभौम धराने जनताले बहुमत दिएर पठाएको मेयर हुँ म । एउटा पुलिस आउँछ, बन्दुक बोकेर सार्वभौम धराने जनताले जिताएको मेयरलाई थर्काउँछ । के हो त्यो ? म प्रश्न गर्न चाहन्छु ।
‘अब धरान मृत सहर बन्दैन’

सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु

हामी तपाईंले धरानलाई जुरुक्कै उठाउनुपर्छ । अब धरान मृत सहर बन्दैन । अब धरानमा पानीको दुःख, बाटोको दुःख, अस्पतालको दुःख भन्दै गुनासो गर्दै धरान बस्दैन । धरान सचेत भएर उठ्छ । धरान एकदमै जागरुक भएर अगाडि बढ्छ । म यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छु, निवेदन गर्न चाहन्छु । र, सम्पूर्ण मभन्दा अग्रज माननीयज्यूहरु उहाँहरुलाई पनि म अनुरोध गर्न चाहन्छु । भलै हामी पार्टी फरकफरकबाट आयौं होला, तर सुत्दा पनि देश, उठ्दाखेरि पनि देश, सोच्दाखेरि पनि देश, बोल्दाखेरि पनि देश । हरेक काम गर्दाखेरि पनि देश सम्झेर गर्ने व्यक्ति हुँ म ।

मलाई तपाईंहरुले धरानको जनताको सेवा, सुविधा, सुशासन र विकास र धरानको उन्नयनका लागि जनताले चुनेर पठाएको व्यक्ति हो भनेर मात्र हेरिदिनु होला । यो त पार्टी मिल्दैन भन्ने किसिमले कोहीकसैले नबुझिदिनु होला । नसोचिदिनु होला । पार्टीभन्दा, विचारभन्दा माथि हुन्छ देश । त्यो देशका लागि हामी जुट्ने छौं । त्यो देशका लागि हामी उठ्ने छौं । म यहाँहरु सम्पूर्णलाई यही कुरा राख्दै, यो उत्सवलाई सफल बनाउन यहाँहरु सम्पूर्णको सहभागिता, योगदान र दुःखका लागि हृदयदेखि धन्यवाद दिँदै, सम्पूर्ण अतिथि गणलाई धन्यवाद दिँदै धरानको जन्मोत्सव मनाउने दिनको उद्घाटन सत्र यहीँ समापन भएको जानकारी गराउन चाहन्छु ।

नमस्ते, जय धरान ।

(धरान उत्सवका अवसरमा मेयर हर्क साम्पाङले सभाध्यक्षको तर्फबाट दिएको मन्तव्य)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?