+
+

कृषि पेशामा राउटे समुदायको आकर्षण बढ्यो

लालसिंह राउटे उत्कृष्ट किसानबाट सम्‍मानित

रासस रासस
२०७९ पुष २१ गते १८:५२

२१ पुस, काठमाडौं । लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा पुरस्कृतसमेत भएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडले डडेल्धुराका राउटे किसान लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरेको हो । सिंहले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला-४ मा सरकारबाट प्राप्त पाँच रोपनी र अधियाको तीन रोपनी जग्गामा खेती तथा पशुपालन गर्दै आएका छन् ।

‘तीन वर्षदेखि बाख्रा र भैँसी पाल्दैछु, काठको काम पनि गर्छु । पहिले आम्दानीको स्रोत काठको ज्याला मजदुरी मात्र हुन्थ्यो । अहिले दुवै काम गर्न भ्याएको छु’, उनले भने । बत्तीस वर्षे सिंहले औपचारिक अध्ययन गर्न नपाए पनि पुर्ख्यौली सीप र कृषि पेसाले आम्दानीको स्रोत बढेको बताए । कृषिबाट धेरै आम्दानी नभए पनि दैनिकी सहज बनेको उहाँको भनाइ छ । उहाँले यही पेशाबाट पाँच जनाको परिवार चलाउँदै आएका छन् ।

पुरस्कार ग्रहण गर्न काठमाडौँ आएका उनले काठमाडौँ पहिलोपटक भ्रमण गरेकोसमेत बताए । ‘पुरस्कार पाएको छु । आफ्नो देशको (पुरानो) राजधानी हेर्ने अवसरसमेत जुर्‍यो । सिंहदरबार हेर्न पाउँदा खुसी लागेको छ’, उनले भने ।

बाल्यकालमा भारतको शिमलासम्म पुगेको बताउने सिंहलाई आफ्नो देशको पुरानो राजधानी हेर्न पाउँदा तीन दिनको बसाइ धेरै छोटो लागेको बताए । ‘पशुपतिनाथ मन्दिरसम्म दर्शन गर्न मन थियो । तर समय अभावका कारण फर्किँदैछु । फेरि दोस्रो पटक काठमाडौँ घुम्न आउनेछु।’ बाख्रापालन, तरकारी खेती र गँहु उत्पादनबाट धेरै आम्दानी नभए पनि दैनिकी राम्रो गुज्रेको उनको भनाइ छ ।

डडेल्धुरा कटलाका शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष वीरेन्द्र विष्टले सिंहलाई काठमाडौँसम्म आउन सहजीकरण गरे । ‘राउटे समुदाय कार्यक्रममा आउन असहज महसुस गर्छ । अरुजस्तै उहाँले पनि आउन मान्नुभएको थिएन । उहाँलाई काठमाडौँ सहर घुम्न पाइन्छ भनेपछि आउनुभयो’, विष्टले भने ।

काठका काममा ज्याला मजदुरी गर्ने राउटे समुदायमा आम्दानीका लागि कृषि पेसाप्रति आकर्षण बढ्दै गएको हो । सिंहसँगै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकास्थित कटला–४ मा कृषिमा आबद्ध ६७ जना सहकारीमा जोडिएका छन् । तर थोरै राउटे किसान मात्र निर्वाहमुखी व्यावसायिक कृषिमा आबद्ध छन् ।

राउटे समुदायका कतिपय युवा रोजगारका लागि भारत जाने र कतिपय सरकारी भत्तामा निर्भर भएको उनले बताए । उनले भने, ‘भत्ता आउँछ भन्दै त्यसमै भर पर्ने धेरै हुनुहुन्छ । जसले गर्दा उहाँहरूलाई सिर्जनशील बनाउन सकिएको छैन । व्यवसाय र रोजगारीप्रति उहाँहरूको सहभागिता बढाउन सकिएको छैन।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?