+
+

एउटा घुमन्तेको रोमाञ्चक यात्रा बखान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते ९:११

आफ्नै भूगोलको कुनाकाप्चा चाहर्नु कम्ता रोमाञ्चक हुन्छ ? यसको गाँठी अनुभव घुमन्तेसँग छ ।

घुमन्ते । यति नै काफी छ, चिनाउनलाई । कहिले हिउँले ढाक्ने सेताम्मे टाकुराहरुमा बेफिक्री उक्लिने त कहिले तराईका समतल फाँटहरुमा मनमौजी रमाइहिँड्ने । कहिले लेकाली खर्कहरुमा सुस्ताउने त कहिले चट्टाने पाखाहरुमा डुलीहिँड्ने । एक जब्बर यायावर ।

उनी कहाँ पुग्दैनन् ? चुरिया माईदेखि नार्फु भ्यालीसम्म । दार्चुलादेखि ताप्लेजुङसम्म । हामीले उनलाई सोधेनौं, ‘अहिलेसम्म कहाँ कहाँ पुगियो ?’ किनभने पुगेको ठाउँभन्दा नपुगेको ठाउँको सूची छोटो छ ।

‘हिजो मात्र कास्कीबाट काठमाडौं आइपुगें’ हालैको भेटमा उनी भन्दै थिए, ‘कामै घुम्ने, जहाँ–जहाँ जाने मेसो जुर्छ हिँडिहालिन्छ ।’

अब उनको सग्लो चिनारी दिऔं ।

नाम, कन्चन राई ।

स्थायी घर, खोटाङ ।

पढाई ? उनले बताएनन् । उमेर ? हामीले सोधेनौं । अहिलेलाई यति भए पुग्छ, उनको काम–धन्दा सबै कुरा घुमफिर हो । सूचना–प्रविधिको जागिर छाडेर विदेशबाट फुत्त फर्किएका कन्चनले आफ्नो रहरलाई सर्वोपरी ठाने । अनि त्यसैमा जीवनको लय खोजे । उनको रहर के थियो भने, विन्दास घुम्ने ।

चाँदी झै टल्कने हिम टाकुरा देख्दा, आकासको प्रतिछायाँ परेको शान्त जलकुण्ड देख्दा, बनफूलले ढकमक्क लेकाली फाँटहरु देख्दा, अनन्तसम्म फैलिएका तराईका भु–भागहरु देख्दा उनलाई औडाह हुन्थ्यो । औडाह किन हुन्थ्यो भने उनी त्यस्ता ठाउँहरु जानै पाउँदैनथे । यो किशोरवयको कुरा ।

कन्चन सुनाउँछन्, ‘दिदीहरु, साथीहरु घुमघाम गरेर फर्कन्थे । उनीहरुको फोटो देख्दा म बेचैन हुन्थें । अहो यिनीहरु त घुम्न गएछन् म भने यहाँ बसेको बसेकै छु भन्ने लाग्थ्यो ।’ घुम्नका समय चाहियो, सर–सामन चाहियो । त्यो भन्दा ठूलो कुरो त पैसा चाहियो । ‘म घुम्न जान्छु’ भन्दा कसले थपक्क पैसा दिने ?

तर, अहिले उनलाई तत्वबोध भयो ‘घुम्नका लागि पैसा पहिलो सर्त’ होइन रहेछ । त्यसका लागि त जरुरी रहेछ, इच्छाशक्ति । अनि दृढता । अनि आत्मविश्वास । किनभने यी तीन तत्वले उनलाई घुमन्ते बनायो । देशकको कुना–कन्दरामा पु¥यायो । मुलुकको माटो र त्यसको रंग चिनायो ।

सबैभन्दा काइदाको कुरा के भने घुमफिरले उनलाई काम, दाम र नाम दिलायो ।

‘मान्छेहरुले चिन्न थालेछन् । मलाई देखेपछि फोटो खिचौं भन्छन्, हात मिलाउँछन्, चिनापर्ची गर्छन्’ यसो भनिरहँदा कन्चनको अनुहार प्रशन्नताले भरियो । अब हामीलाई जान्न मन लाग्यो, उनले हिँड्ने सिलसिला कसरी, कहिले, कहाँबाट सुरु गरे ?

‘जागिर छाडेर आइटीको फ्रिलान्सर काम गर्न थालेपछि मसँग पर्याप्त समय थियो । अलिअलि खर्च पनि’ उनले सुनाए, ‘त्यसैले साथीभाईसँग मिलेर काठमाडौं आसपासका डाँडाकाँडा चाहर्न थाले ।’

सोही उपक्रममा उनी दोलखाको कालिन्चोक पुगे । हेलम्बु पुगे । अनि पुगे मुस्ताङ । घुमफिरले मान्छेलाई लत लगाउने रहेछ । जब–जब उनी घरमा हुन्थे, पैतला चिलाइहाल्ने । घरको चौघेराबाट उम्किएर कुनै खुला हावामा विचरण गर्न मन लागिहाल्ने । अनि त के थियो ? साथीभाई जुटाएर हिँड्न निस्किहाल्ने ।

 

‘मेरो बानी के भने’ उनी भन्दै गए, ‘एक्लै चाहिँ पटक्कै डुल्न मन नलाग्ने । कोही न कोही साथी हुनुपर्ने ।’ उनको हरेक यात्रामा साथीहरु थपिन्थे, छुट्थे अनि फेरी थपिन्थे । चार–पाँच जनाको टोली मिसिएर बेपर्वाह घुम्नुमा बेग्लै स्वाद हुने । यात्रामा ख्यालठ्टा, रमाइलो पनि हुने ।

‘यसरी बिस्तारै घुम्ने तौर–तरिका पनि थाहा हुँदै गयो र साथी–सर्कल पनि बढ्दै गयो’ कन्चन भन्छन्, ‘घुमन्तेको टोली नै बनेपछि हामीले सगरमाथा आधारशिविरबाट यात्रा थालनी गर्ने निधो गरियो ।’

त्यहाँसम्म पुग्नका लागि आवश्यक सबैकुरा जोहो भइसकेको थियो । अन्तिम समयमा भने उनीहरुले गन्तव्य बदले । यसकारण कि, सगरमाथा आधार शिविरमा बढी भिडभाड हुन्छ । भिड नहुने कुनै एकान्तमा जान पाए वेश हुन्छ ।

अनि उनीहरु मोडिए, पाँचपोखरी वा सभापोखरीतर्फ ।

‘त्यसबेला म बैंककमा नै थिएँ । घुम्ने सल्लाह भने हाम्रो च्याटमा हुन्थ्यो । सबै साथीभाई भर्चुअल चिनजान थियो, भौतिक भेटघाट भएको थिएन’ कन्चनले सुनाए, ‘म घुम्नकै लागि नेपाल फर्किएँ । साथीहरुसँग भेट भयो ।’ त्यसपछि घुमन्तेको यो टोली लाग्यो, सभापोखरीतर्फ ।

यद्यपि सभापोखरीसम्मको यात्रा गर्न सहज भएन । उनीहरुसँग त्यस गन्तव्यसम्म पुग्ने रहर त थियो तर तयारी थिएन । त्यसैले घुमन्ते टोली गुफापोखरीमा रोकियो ।

गुफापोखरी उनीहरुले रोजेजस्तै शान्त गन्तव्य थियो । एकान्त पनि । त्यहाँबाट आकासगंगाको मोहक तस्विर–भिडियो खिच्ने तारतम्या थियो । ‘आकासगंगाको फोटो खिच्ने योजना चाहिँ हामीले कल्पना गरेजस्तो भएन’ उनले भने, ‘तर घुमन्तेको टोलीबाट पहिलो पटक यात्राको अनुभव चाहिँ लिन पाइयो ।’

त्यहाँबाट फर्किएपछि उनीहरुले दोस्रो गन्तव्य बनाए, डोल्पालाई । खासगरी शे फोक्सुन्डो ताललाई । यसपटकको यात्राले उनीहरुलाई थप ढाडस थियो, हिँड्नलाई । अनि फेरी अपी हिमालको आधारशिविर पुगे । ‘खासै मान्छे नपुगेको र मान्छेले नखोजेको ठाउँलाई हामीले आफ्नो गन्व्य बनायौं’ कन्चन सुनाउँछन्, ‘यसरी नयाँ नयाँ ठाउँ खोज्दै हिँड्ने बानी प¥यो ।’

यात्रासम्बन्धी एउटा प्रचलित भनाई आज उनको जीवन भोगाई बनेको छ, ‘आनन्द गन्तव्यमा होइन, यात्रामा लिने हो ।’ कुनै गन्तव्यलाई ताकेर निस्किएपछि हरेक पाइला–पाइलामा ‘सरप्राइज’ जस्तै हुने । कहाँ के देखिने हो, के भेटिने हो, के पाइने हो, के भोग्नुपर्ने हो ? यस्ता कौतुहलताले मनलाई अस्थिर बनाइरहन्छ ।

‘बाटोमा हिँड्दै जाँदा अनेकथरी कुरा देख्न, भोग्न, चाख्न पाइन्छ’ उनी सुनाउँछन्, ‘कहिल्यै नदेखेको दृश्यहरु देख्दा मन फुरुंग हुन्छ, कहिल्यै नचिनेको मान्छेसँग बोल्दा मन पग्लिन्छ ।’ अनेक मान्छेको रुपरंग, अनेक बाँच्ने शैली । सबैसँग साक्षतकार गर्न पाइने । कहाँको मान्छे कस्ता हुन्छन् ? कसरी बोल्छन् ? कसरी जीविका चलाउँछन् ? कसरी रमाउँछन् ? सबैकुरा अनुभूत गर्न पाइने ।

हिँड्नुको खास आनन्द पनि त्यही त हो ।

यद्यपि यात्रामा सधै आनन्द मात्र हुँदैन, निदहराम पनि हुन्छ बेलाबखत त । हिँड्दै जाँदा अगाडि के छ थाहा नहुने ? कहाँ बास बस्नुपर्ने टुंगो नहुने ? के खान पाइएला ? भेउ नपाइने ।

‘धेरै दुःख र जोखिम पनि मोल्नुपर्ने हुन्छ’ कन्चन सुनाउँछन्, ‘कहिले अत्यासलाग्दो ठाउँमा पुगिन्छ । मरिन्छ वा बाँचिन्छ भन्न नसकिने । फेरी कहिले मानमोहक ठाउँ पुगिन्छ । त्यही बसिरहुँ लाग्ने ।’ यात्रा दुरुस्तै यस्तो हुने कि कुनै साहसिक खेल खेलेजस्तै ।

देशको कुनाकाप्चा फन्को लगाइरहँदा उनले यस्ता थुप्रै अनुभव संगाल्न पाएका छन्, जो एउटा मान्छेको जीवनमा सायदै घटित हुन्छ ।

सुदूरपश्चिमको एउटा यात्रा सम्झँदा अझैपनि उनको मुटु थर्कमान हुन्छ । पहरामा पैतला मात्र टेक्न मिल्ने डोबहरु पच्छ्याउँदै हिँडुनपर्ने, त्यो पनि घण्टौं । थोरै मात्र सन्तुलन बिग्रिएमा ज्यान नै गुल्टिएर कहाँ हो कहाँ पुग्ने । पहरा पुग्नुअघि कति खोला तर्नुपर्ने । बेपत्तासँग बगेको खोला तरिरहँदा मन त्यसै आत्तिएको थियो । पहरमा पुगेपछि त होश नै उड्यो ।

‘म पहिले पनि त्यस्तो बाटो त हिँडेको थिएँ, तर दश–पन्ध्र मिनेट हिँडेपछि अर्को बाटो पुगिन्थ्यो’ कन्चन सम्झन्छन्, ‘तर त्यहाँ हिँड्दा मेरो पिँडुला नै फर्कियो ।’ जे भएपनि आखिर हिँड्नु त प¥यो । ज्यानको बाजी थापेरै उनीहरुले त्यो यात्रा पुरा गरे ।

ज्यानको बाजी थापेरै उनीहरुले त्यो यात्रा पुरा गरे । त्यो यात्रा कालिकोटबाट बडिमालिकासम्मको थियो ।

‘मलाई त्यो यात्रा जीवनकै सबैभन्दा जोखिमपूर्ण लाग्थ्यो’ कन्चन सुनाउँछन्, ‘तर भर्खरै बझाङमा गरेको यात्राले त्यसलाई पनि माथ दियो ।’

यसपालीको बाढीपहिरोले त्यस क्षेत्रलाई निकै धराप बनाइदिएको रहेछ । हिँड्ने बाटो जति पहिरोले बगाएको । बाटो नै बगाएपछि गाउँलेले हिँडडुल गर्न पाइला मात्र अडिने डोबहरु बनाएका रहेछन् । त्यही डोब पछ्याउँदै उनीहरु एउटा यस्तो गाउँमा पुगे, जसको दायाँ र बायाँ विशाल पहिरो छ ।

गाउँ नै भिरालोमा छ । राती पानी प¥यो भने आफु बासेको घर नै बगाउन सक्ने । जसोतसो त्यहाँ एक रात बसेर उनीहरु फर्किए । ‘त्यो यात्रा यति डरलाग्दो थियो कि मैले काठमाडौं आएर भिडियो सम्पादन गर्दा पनि मुटु ढुकढुक भइरह्यो’ कन्चन सुनाउँछन् ।

त्यसैगरी कतिपय यात्रा यस्तो हुने, जो सहज र बढी मनोरञ्जनात्मक भइदिने । ‘धेरै रमाइलो पनि नपच्ने रहेछ’ कन्चन सुनाउँछन्, ‘छाकैपिच्छे मीठोमसिना, पाइलापिच्छे रमाइलो पनि त्यती स्वाद नहुने ।’

सन् २००० मा एउटा यात्रा अभियान थियो, मिलेनियम ट्रेक । सोही अन्र्तगत तनहुँ–स्याङ्जाको ग्रामिण भेग छिचोल्नुपर्ने । कन्चनले त्यहाँका संयोजकसँग अनुरोध गरे, ‘तपाईंहरुकहाँ मगर र गुरुङ गाउँ रहेछ । हामी आउँदा एक–दुई वटा सांस्कृतिक कार्यक्रम देखाइदिनु न ।’

तर, भइदियो के भने जहाँ जहाँ घुमन्ते टोली पुग्छ त्यहाँ त्यहाँ नै यस्तो सांस्कृतिक कार्यक्रम देखाउने तम्तयारी भएछ । ‘फलानो गाउँले देखाउँछ, हामी किन नदेखाउने भन्ने होडबाजी भएछ’ कन्चन सुनाउँछन्, ‘अनि हामी  जहाँ पुग्छौं सांस्कृतिक झांकी देखाइहाल्ने । चिया खान रोकिएपनि, भात खान रोकिए पनि । हामी त क्यामेरालगायत उपकरण बोकेर हिँडेको । झांकी देखाएपछि खिच्नैपर्ने । अति त जे कुरा पनि राम्रो नहुँदो रहेछ ।’

देशको कुना कन्दरा छिचोल्दा उनीसँग यस्ता अनुभूति त कति हो कति थुप्रो लागेका छन् । त्यो भन्दा महत्वपूर्ण कुरा चाहिँ देशलाई दुनियाँमा चिनाउन पाएकोमा छ । कतिले नदेखेको, कतिले नटेकेको ठाउँमा पुगेका छन् । फोटो खिचेका छन्, भिडियो बनाएका छन् । यसले नयाँ नयाँ गन्तव्यहरु उजागर भएका छन् । घुमन्तेको आँखाबाट सही, दुनियाभर छरिएका नेपालीले आफ्नै गाउँ–ठाउँको मनमोहक ठाउँहरु हेर्न पाएका छन् ।

फोटो : रिसभ अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?