+
+

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ ट्रेलर : विवाहको सर्त बाझिंदा आउने द्वन्द्वको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १६:०५

काठमाडौं । जितु नेपाल र साम्राज्ञी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ट्रेलरले हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई चित्रण गरिएको छ ।

यो फिल्ममार्फत लामो समयपछि कुनै समयको चर्चित फिल्म कम्पनी भोला रिजाल प्रोडक्सनको पुनरागमन भएको छ । रिजालका सुपुत्र डा. कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ ।

नेपाली संस्करणको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक रिजालसहित जितु र साम्राज्ञीसहितका कलाकार उपस्थित रहे । साम्राज्ञीको यो पहिलो रोमकम फिल्म हो भने जितुको लागि ‘छक्कापञ्जा’को छवि मेटाउने अवसर पनि ।

२ मिनेट ३७ सेकेण्ड लामो ट्रेलरले कथावस्तुबारे खास खुलासा गरेको छैन तर कथावस्तुका केही पक्षलाई यसले चित्रण गरेको छ । गाउँले युवक हरिलाई विवाह गर्न उसकी आमाले दबाब दिन्छिन् । विवाह नगरेसम्म घरजग्गा केही पनि बिक्री गर्न नपाइने सर्त उनको छ । हरिले वीर्यदान गरे ३० लाख रुपैयाँ पुरस्कार पाइने विज्ञापन देख्छ र सोहीअनुसार गर्छ । विवाहका लागि केटी खोज्दै जाँदा उसको भेट साम्राज्ञीसँग हुन्छ । यी दुईजना आफ्ना सपना पूरा गराउन विवाह गर्छन् । केही सर्तसहित विवाह गरेको बुझिन्छ । यो भन्दा अघिको कथावस्तु कसरी अघि बढ्छ भन्ने कुराको अनुमानको जिम्मा दर्शकलाई छाडिएको छ ।

ट्रेलरमा समावेश एक गीतमा अभिनेत्री रेखा थापाको ठुम्का देख्न सकिन्छ ।

विवाहको सर्त बाझिंदा आउने द्वन्द्व यसको प्रमुख कथावस्तु हो भन्ने बुझ्न कठिन छैन । ‘यसभन्दा अघिको कथा बुझ्ने जिम्मा दर्शकलाई छाडेका छौं । यो एक जिम्मेवारी र प्रेमको कथा हो । दर्शकले फिल्मको कथावस्तुलाई रुचाउने हाम्रो अपेक्षा छ,’ निर्देशक रिजालले भने ।

अभिनेता जितु नेपालले ट्रेलरमा देखाइएजस्तो वीर्यदानको प्रश्नबारे उनी घेरिए । छक्कापञ्जामा पनि आफूलाई दीपकराज गिरीले यस्तै रोल दिने गरेको अनुभव सुनाउँदै जितुले ह्यारीकी प्यारीमा आफूलाई त्यस्तै भूमिकामा देख्न सक्ने बताए ।

फिल्म निर्देशक दिनेश डीसी कार्यक्रमलाई शुभकामना दिन पुगेका थिए, जहाँ उनले प्रतिष्ठित फिल्म ब्यानरको लिगेसीलाई सफलतापूर्वक अघि बढाउन डा. रिजाललाई आग्रह गरे । डीसीले जितु नेपालको आगामी फिल्म र रियालिटी शो ‘मुन्द्रको कमेडी क्लब’को आउँदो सिजनलाई पनि निर्देशन गर्दैछन् । आफ्नो फिल्म डीसीले निर्देशन गर्न लागेको जानकारी पनि जितुले कार्यक्रममा गराएका थिए ।

साम्राज्ञीले जितु नेपाललाई आफ्नो अपोजिटमा खेल्ने हिरोको रुपमा सुरुमा सुन्न पाउँदा छक्क लागेको बताइन् । आफ्नो पहिलो रोमकम फिल्म भएकाले पनि रमाइलो अनुभव लागेको उनले सुनाइन् । विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई र सरला रिजालको समेत अभिनय छ । छायांकार समेत रहेका सुदीप बरालले निर्देशक रिजालसँग मिलेर पटकथा लेखेका हुन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?