+
+

अपांग नाबालिग करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १७:२०

२४ पुस, पोखरा । अपांग नाबालिग बलात्कार अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–२३ का ७१ वर्षीय तारानाथ तिवारी छन् । तिवारी पुस २२ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

तिवारीले ०७६ साउन ७ गते शारीरिक अपांगतासमेत रहेकी नाबालिग पोखरा १३ (परिवर्तित नाम)लाई जबरजस्ती गरेको उजुरी परेको थियो ।

सोही आरोपमा प्रहरीले तत्काल पक्राउ गरेर अनुसन्धानपश्चात जिल्ला अदालतमा पेश गरेको थियो । तत्कालीन समयमा तिवारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा गए पनि ०७७ असोज २७ गतेको फैसलाले सफाइ दिएको थियो ।

जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा ०७९ वैशाख १४ गते उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै तिवारीलाई दोषी करार गरेको थियो । उच्चले तिवारीलाई दोषी ठहर गर्दै १९ वर्ष ३ महिना कैदसहित १० हजार जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

तर, जिल्ला अदालतबाट सफाइ पाएसँगै उनी फरार थिए । फरार तिवारीलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा बुधबार नै पेश गरिसकेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । ‘निजलाई कैद भुक्तानका लागि कारागार कार्यालय, कास्कीमा पठाइसकिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?