+
+

प्रभु साह र अमरेशकुमार सिंह : शीतलनिवासमा प्रचण्डसँगै, संसदमा प्रतिपक्षी बेञ्च माग

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १८:३९

२४ पुस, काठमाडौं । रौतहट–३ बाट निर्वाचित प्रभु साह र सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन पुस १० गतेसँगै शीतलनिवास गएका थिए ।

उनीहरुले समेत समर्थन गर्ने भएपछि प्रधानमन्त्री दाबी गरिएको पत्रमा दुवैको नाम अन्तिममा हातैले लेखिएको थियो ।

तर, पुस २४ गते सांसदद्वय साह र सिंहले संसद सचिवलायलाई आफूहरु प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन् ।

संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार सांसदहरुलाई सोधेर सिट व्यवस्थापन गरिएको छ । सचिवालयका अधिकारीहरुलाई सांसदद्वय सिंह र साहले प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका हुन् ।

नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका प्रभु साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । यही क्षेत्रबाट उनको यो लगातार चौथो जित हो । २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका छन् ।

साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहले मनोनयन दर्ताको दिन एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । हाल उनले आम जनता पार्टी खोलिसकेका छन् ।

अर्का स्वतन्त्र सांसद अमरेशकुमार सिंह बागी उठेर चुनाव जितेका सांसद हुन् । पार्टीले टिकट नदिएपछि सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र चुनाव लडेका कांग्रेसका बागी उम्मेदवार सिंहले कांग्रेसकै उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गरेका हुन् ।

यस्तै, स्वतन्त्र सांसद ३. योगेन्द्र मण्डलले पनि प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन् । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनसहित एमाले र जसपाको गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार मण्डल विजयी भएका थिए ।

योगेन्द्रलाई एमालेले उक्त क्षेत्रबाट सर्वसम्मतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तयारी गरेको थियो । तर उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले र जसपाबीच चुनावी गठबन्धन हुँदा यो क्षेत्र एमालेले जसपालाई सुम्पेपछि मण्डलले एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

सोमबारबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । त्यसअगावै संसद सचिवालयले दल र स्वतन्त्र सांसदहरुलाई सोधेर सिट व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?