+
+

लुम्बिनीको सफलताको सूत्र- राम्रो व्यवस्थापन

नमिता दाहाल नमिता दाहाल
२०७९ पुष २४ गते १९:५१

२४ पुस, काठमाडौं । नेपाली क्रिकेट जगतको सबैभन्दा ठूलो भनिएको नेपाल टी–२० लिगको फाइनल पुग्ने एउटा टिमको टुङ्गो लागेको छ । आइतबार भएको पहिलो क्वालिफार्यसमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी अलस्टार्स फाइनल पुगेको छ ।

फाइनल पुगेपछि टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले टिमको राम्रो व्यवस्थापन नै टिमले राम्रो प्रदर्शन गर्नुको कारण रहेको बताएका छन् ।

उनले आइतबार जनकपुरमाथिको जितपछि भने ‘हाम्रो टिम यहाँसम्म आइपुग्नुमा हाम्रो टिम व्यवस्थापनको निकै ठूलो हात छ ।’

बिचमा लिगमा फिक्सिङ भएको समाचार सार्वजनिक भइरहँदा पनि उनले टिममा समस्या नरहेको बताउने गरेका थिए । हरेक खेलपछि टिम व्यवस्थापन राम्रो रहेको बताउने उनको टिम लुम्बिनी समूह चरणमा खेलेका १० मध्ये ८ खेल जितेर समूह विजेता बनेको थियो ।

उनले टिमको व्यवस्थापनले खेलाडीलाई कुनै पनि किसिमको तनावमा रहन नदिएको पनि बताए । अन्य टिमका खेलाडीले अनुबन्ध रकम नपाएको समाचार आइरहे पनि लुम्बिनीका खेलाडीले भने पूरा रकम पाएको उनले बताएका हुन् । उनले भने, ‘हामीले सबै पैसा पाइसक्यौं । त्यसैले पनि खेलाडीहरु राम्रो खेलिरहेका छन् ।’

आफूले नेतृत्व गरेको टिम फाइनल पुग्दा खुसी देखिएका दिपेन्द्र भन्छन्, ‘नेपालको सबैभन्दा ठूलोर पहिलो पटक भएको फ्रेञ्चाइजमा आफ्नो कप्तानीमा फाइनल पुुग्यौं खुसी छु ।’

लुम्बिनीको टिममा राम्रो समझदारी भएको पनि कप्तान बताउँछन् । विदेशी खेलाडी र स्वदेशी खेलाडीको राम्रो समझदारी र टिमको व्यवस्थापनले टिम यहाँसम्म आइपुगेको उनले बताए । ‘व्यवस्थापनसँगै विदेशी खेलाडी पनि राम्रो छन् ।

अनुभवी विदेशी खेलाडीहरु खेलाडी हर्मित सिंह, स्याडो, पिटर ट्रयागोले आफ्नो अनुभव सुनाउँछन् । यो बेला यस्तो हुन्छ भन्दै सम्झाउँछन् । यसले गर्दा सबै खेलाडीहरुमा आत्मविश्वास बढेको छ’, उनले भने ।

समूह चरणका ७ खेल जितेर क्वालिफायर्समा पुगे पनि जनकपुर रोयल्समा भने समस्या देखिएको छ । जनकपुरको टिम बारम्बार मैदानमा ढिलो आइपुग्छ । लिग चरणका खेलहरुमा पनि मैदान ढिलो आउँदा समयमा खेल सुरु गर्न सकिएको थिएन ।

जनकपुरका मार्की खेलाडी सोमपाल कामीले टिममा समस्या रहेको कुरामा केही सत्यता रहेको बताएका छन् । जनकपुरका महहत्वपूर्ण खेलाडी विकेट किपर ब्याटर चाड्विक वाल्टनले पछिल्ला खेलहरु खेलेका छैनन् । उनीलाई के भएको भन्नेबारे आधिकारिक जानकारी नआए पनि अनुबन्ध रकम नपाएकै कारण उनलाई मैदानमा नदेखिएको भन्ने आशंका गरिएको छ ।

सोमपालले पनि आइतबार खेल सकेपछि अनुबन्ध रकमको ६५ प्रतिशत रकम मात्र पाएको बताए । ‘हामीले पाउनुपर्ने पैसामा ६५ प्रतिशत रकम पाइसकेका छौं बाँकी पैसा पनि आउँदै छ आज र भोलिमा आइसक्छ होला’, उनले भने ।

जनकपुरका लागि वाल्टन एक महत्वपूर्ण खेलाडी रहेको र उनी नखेल्दा अन्य खेलाडीलाई पनि मानसिक रुपमा असर परेको सोमपालले खुलाए ।

‘खेलाडीहरु फ्रि माइन्डसेटमा छैन । हाम्रो म्याच जिताउने एक खेलाडी होटलमा नै छन । त्यसले गर्दा पनि रिजल्ट हामीले सोचेको जस्तो आएको छैन । तर व्यावसायिक खेलाडी भइसकेपछि बाउन्ड्री बाहिर जति पनि समस्या छ, त्यो बिर्सिएर खेल्नु पर्छ’, उनले भने ।

क्वालिफायर्स हारे पनि फाइनल पुग्न अर्को मौका भएकाले अबको खेलमा राम्रो प्रदर्शन गर्ने उनले बताए । उनले भने, ‘पैसा नपाएर हामीले नराम्रो खेल्यौं भन्ने होइन । पहिला पनि हामीले पैसा त पाएका थिएनौं तर पनि हामीले जित्दै गइरहेका थियौँ । अर्को खेल हाम्रो लागि मौका हो । हामीले तयारी गरिसक्यौं । अब नतिजा हो त्यसैको लागि खेल्ने छौं ।’

लुम्बिनीका कप्तान दिपेन्द्रले अब फाइनल जित्ने योजनामा लाग्ने बताए । भने ‘फाइनल पुग्यौं । एक एक खेल गर्दै हेर्ने हो । अहिलेसम्म पनि प्रोसेस नै फलो गरिरहेका थियौं अब पनि त्यहि नै गर्ने हो ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?