+
+

नेपाल टी–२० लिग टिम काठमाडौंसँग न प्रशिक्षक, न व्यवस्थापक, न त समर्थक

नमिता दाहाल नमिता दाहाल
२०७९ पुष २५ गते २०:०६

२५ पुस, काठमाडौं । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल टी–२० लिगको एलिमिनेटर खेलमा काठमाडौं नाइट्ससँग न प्रशिक्षक थिए, न त टिम व्यवस्थापक नै ।

प्रशिक्षक र व्यवस्थापक नभएर टुहुरो बनेको टिमसँग १२औं खेलाडी समेत थिएनन् ।

जसले गर्दा मैदानमा पसिना बगाएर खेलिरहेका खेलाडीलाई पानी खुवाउने साथी समेत भएनन् । काठमाडौैंका खेलाडीलाई प्रतिस्पर्धी विराटनगर सुपर किंग्सका रिजर्भ खेलाडीले पानी खुवाएका थिए ।

११ जनाको क्रिकेट टिममा एक अनुभवी कप्तान थिए– ज्ञानेन्द्र मल्ल । जसले टिमलाई सम्हाले । तर उनको टिम ९९ रले पराजित भयो ।

विराटनगरसँग एलिमिनेटर खेलिरहेको काठमाडौंका लागि कुनै पनि विकल्प थिएन । उनीहरुसँग सिकाउने गुरु थिएनन् । व्यवस्थापन गर्ने म्यानेजर थिएनन् । अरु त अरु आफ्नै टोलीमा बेञ्चमा बसेर समर्थन गर्ने खेलाडी पनि थिएनन् । मैदान बाहिर हेर्दा पनि काठमाडौंका लागि समर्थक खासै थिएनन् ।

विराटनगरसँगको हारपछि उनले काठमाडौं नाइट्सको अनुभव सुनाउँदै भने, ‘राम्रो सिक्ने मौका भयो । जहाँसम्म सोचेको थियौं त्यो पूरा भएन । हामी यो भन्दा केही अगाडी पुग्ने लक्ष्य लिएर आएका थियौं । सुरुवातमा जुन उत्साहका साथ हामीले खेलेका थियौं पछिल्लो खेलहरुमा त्यस्तो भएन ।’

सुरुदेखि नै विवादमा परेको प्रतियोगितालाई खेलाडीको पारिश्रमिक नदिएर झनै विवादमा पारेको काठमाडौंले एलिमिनेटर खेलमा भद्रगोल व्यवस्थापनलाई पनि छर्लङ पारेको छ ।

यो टिमसँग प्रतियोगिताभर नै केह न केही भइराख्यो । टिम मैदानमा आएर खेल्न नमान्नेदेखि प्रशिक्षक आफैंले पनि खेलाडीलाई अपाच्य व्यवहार गरेको आरोपहरु लाग्यो । ‘हाम्रो व्यवस्थापन पक्षको कमजोरीका कारण भएको जस्तो लाग्छ । अन्तिम समयमा टिमको मालिक परिवर्तन हुनु सबै कुरा पहिलेदेखि नै कसरी जाने भन्ने कुरा निश्चित नहुनु हाम्रो यो प्रतियोगिताको कमजोर पक्ष रह्यो ।’

पोखरा एभेन्जर्स समूह चरणको अन्तिम खेलमा फारवेष्ट युनाइटेडसँग हारेपछि प्लेअफमा पुगेको काठमाडौं इलिमिनेटरमा विराटनगर सुपर किङ्ससँग भने ९९ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

नेपाल टी-२० लिगमा काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि प्रतियोगिताको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले काठमाडौं नाइट्सलाई आवद्ध गरिएको हो । आयोजक नेपाल क्रिकेट संघ क्यानले काठमाडौं नाइट्सको स्वामित्व नेपाल स्पोर्ट्स भेन्चर रहेको बताएको थियो ।

११ खेलाडीमा ११ नै मैदानमा

नेपाल टी–२० लिग नाटकै नाटकले भरिएको प्रतियोगिता रह्यो भन्दा फरक नपर्ला । एलिमिनेटको खेलमा काठमाडौंका ११ खेलाडीमा ११ जना नै मैदानमा उत्रिनु पयो ।

‘आज हाम्रो बेञ्चमा कोही खेलाडी पनि भएन । सेलेक्सनमा सजिलो भयो । कोही छानिनै परेन’, कप्तान ज्ञानेन्द्रले अलि ठट्यौली पारामा गम्भिर कुरा बोले, ‘नयाँ अनुभव भयो । जे भयो राम्रो नै भयो ।’

किन फर्किए विदेशी खेलाडी ?

प्रतियोगिता सुरु हुँदा काठमाडौंमा ४ जना विदेशी खेलाडी थिए । तर काठमाडौंको सोमबार भएको खेलमा एक जना पनि विदेशी खेलाडी थिएनन् । उनीहरु प्रतियोगितामा आफ्नो पूरा खेल नखेली फर्केका थिए ।

११ जना स्वदेशी खेलाडीका साथमा मैदान उत्रिएको टिमका कप्तान ज्ञानेन्द्र भन्छन्, ‘सुरुदेखि नै उहाँहरुको के के समस्या भइरहेको थियो । अन्तिममा एक खेल मात्रै बाँकी हुँदा नै उहाँहरुको टिकट त्यहि अनुसार भइसकेको रहेछ ।’

धेरै गाइँगुईँ सुनिए पनि कप्तानले टिम भित्रको समस्याका बारेमा खासै खुल्न भने चाहेनन् । ‘अचानक भएको कुरा होइन । हामीलाई उनीहरु अन्तिम खेल नखेली फर्किने थाहा थियो । त्यसैले जतिसक्थ्यौं राम्रो गयौं ।’ कप्तान ज्ञानेन्द्रले भने ।

पारिश्रमिकका लागि क्यान र मालिक कुर्दै खेलाडी

नेपाल टी–२० लिगमा सहभागी केही टिमका खेलाडीले पैसा पाएका छैनन् ।

फरवेष्ट युनाइटेड र काठमाडौंका खेलाडीले अहिलेसम्म एक सुको पनि नपाएको बताइसकेका छन् ।

काठमाडौं नाइट्सका खेलाडीले पनि मालिकको भाका कुर्ने र क्यानले दिएको प्रतिबद्धताको भर पर्ने भन्दा अर्को विकल्प पाएका छैनन् ।

कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्, ‘२ दिनभित्र आउँछ भन्नु भएको थियो । हामी विस्वस्त छौं । क्यान र मालिक दुवैले मौखिक र लिखित प्रतिबद्धता जाहेर गर्नु भएको छ । पैसा आउला र पाइएला हामी पनि कुर्दै छौं ।’

‘हामीले आजसम्म त पाएका छैनौं आशा छ छिट्टै पाउने छौं’, ज्ञानेन्द्रले आशा सुनाए ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?