+
+

बिहारबाट आयात रोकिएपछि साँझ-बिहान उद्योगमा विद्युत् कटौती

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १८:०५

२६ पुस, काठमाडौं । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा दैनिक लाइन काट्न सुरु गरेको छ । विहारमा बिजुली उत्पादन कटौती भएका कारण बिजुलीको आयात पनि प्रभावित भएको प्राधिकरणको दाबी छ ।

यसैकारण प्राधिकरणले केही दिनका लागि भन्दै उद्योगहरुलाई जानकारी गराएरै साँझ र विहानको ‘पिक आवर’मा लाइन काट्न थालेको छ । प्राधिकरणले विद्युत कटौती थालेपछि उद्योगहरु मारमा परेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाका अनुसार दैनिक ९ घण्टासम्म अघोषित लोडसेडिङ हुन थालेको छ । ‘२४ घण्टा नै चल्ने उद्योगहरु बिजुली कटौतीले प्रभावित भएका छन्,’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई विहारमा आकस्मिक रुपमा उत्पादन प्रणालीमा समस्या आएका कारण आयात रोकिन पुग्दा समस्या आएको बताउँछन् ।

प्राविधिक कारण देखाएर ‘स्टेट इलेक्ट्रिसिटी’ले नेपालले आयात गरिरहेको बिजुली रोकेका कारण उद्येागहरुमा दैनिक ७ घण्टासम्म बिजुली आपूर्ति प्रभावित हुन पुगेको बताउँछन् । करिब एक सय मेगावाटभन्दा बढी बिजुलीको आयात प्रभावित भएपछि उद्योगहरुलाई जानकारी दिएरै विद्युत काट्न थालिएको उनले बताए ।

‘विहारमा प्राविधिक समस्या परेर केही उत्पादन कटौती भएको जानकारी पाएका छौं, केही दिनमै समस्या समाधान भएर बिजुली पूर्ववतः रुपमा आयात हुन थाल्छ,’ भट्टराईले भने,’ यो आकस्मिक रुपमा परेको समस्या हो, जति समस्या भए पनि दुई सिफ्टमा उद्योगहरुलाई चल्न पर्याप्त बिजुली दिन्छौं ।’

बिहान ७ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि १० बजेसम्म भारतबाट भइरहेको आयात प्रभावित भएकाले समस्या भएको उनको दाबी छ ।

त्यसले उद्योगहरुलाई समस्या नपरोस् भने विकल्पहरु हेरिएको उनले बताए । ‘यो समस्या छिट्टै समाधान हुन्छ,’ उनले भने,’पर्याप्त बिजुली ल्याउन विहारसँग हामी सम्वाद गरिरहेका छौं ।’

प्राधिकरणले अधिकतम् बिजुली भारतको प्रतिस्पर्धी एक्सचेन्ज बजारबाट किन्ने गर्छ । प्राधिकरणले न्यन मात्रामा मात्रै विहारबाट पैँचोमा आयात गर्छ । भारतमा बिजुलीको मूल्य बढेका कारण अभावको अवस्था छ । त्यसको मार अब नेपालको प्रणालीमा पनि पर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?