+
+

सगरमाथा जलविद्युत कम्पनीले ५ माघदेखि आईपीओ निष्कासन गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १४:४८

२६ पुस, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले ५ माघदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

कम्पनीले प्रतिकित्तला १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशतले हुने ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजना प्रभावित स्थानीय उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने १९ माघ भित्र आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले पनि १९ माघसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि ५ फागुनसम्म थप हुनेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबा आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटलले तयार पारेको अनलाइनसम्बन्धी व्यवस्थाबाट समेत दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाएर आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्रबोर्डबाट आस्बा सेवाको अनुपति पाएका बैंक तथा वित्तीय संस्थाहरुका सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा ‘इक्रा नेपाल’ले कम्पनीलाई ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?