+

एसियन पेन्ट्स यू–१८ फुटबल प्रतियोगिता २५ भदौदेखि, ३०० भन्दा बढी विद्यालयको सहभागिता

२०८३ भदौ  २४ गते १५:२३ २०८३ भदौ २४ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभरका ३०० भन्दा बढी विद्यालयको सहभागितामा यू–१८ अन्तर–विद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता भदौ २५ गतेदेखि सातै प्रदेशमा शुरू हुने भएको छ ।
  • राखेपको स्वीकृतिमा हुने प्रतियोगिताको अनुमानित बजेट ८१ लाख रुपैयाँ र कुल पुरस्कार राशि १६ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
  • प्रदेशस्तरीय छनोटबाट छात्र र छात्रातर्फ ६/६ टोली असोज १६ गते काठमाडौंमा हुने राष्ट्रिय फाइनलका लागि छनोट हुनेछन् ।

२४ भदौ, काठमाडौं । देशभरका ३०० भन्दा बढी विद्यालयको सहभागितामा ‘एसियन पेन्ट्स च्याम्पियनसिप अन्तर–विद्यालय यू–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता २०२६’ आगामी भदौ २५ गतेदेखि सुरु हुने भएको छ ।

नेपाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता सातै प्रदेशका विभिन्न खेल मैदानमा आयोजना हुनेछ । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित कुल बजेट ८१ लाख रुपैयाँ रहेको छ भने विद्यालयस्तरका उदीयमान फुटबल प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्नु यसको मुख्य उद्देश्य हो ।

प्रतियोगिताअघि आयोजकले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना जनाएको छ ।

प्रदेशस्तरीय छनोट खेल भदौ २५ गतेदेखि एकसाथ सुरु हुनेछ । कोशी प्रदेशमा विराटनगर र इटहरी, मधेशमा लालबन्दी, सिमरा र रौतहट, बाग्मतीमा चितवन र काठमाडौं, गण्डकीमा पोखरा र गोरखा, लुम्बिनीमा घोराही, नेपालगञ्ज र बुटवल तथा सुदूरपश्चिममा धनगढीमा खेल सञ्चालन हुनेछन् ।

कर्णाली प्रदेशमा विद्यालयको संख्या कम रहेकाले त्यहाँका टोलीले धनगढीमा गएर छनोट खेल्ने आयोजकले जनाएको छ ।

प्रदेशस्तरबाट छात्रतर्फ ६ र छात्रातर्फ ६ टोली राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट हुनेछन्। राष्ट्रिय चरणको फाइनल असोज १६ गते काठमाडौंमा हुनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशि १६ लाख रुपैयाँभन्दा बढी रहेको छ। छात्र र छात्रा दुवैतर्फका विजेता टोलीले समान एक–एक लाख रुपैयाँ तथा उपविजेताले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि विशेष ट्रफी तयार गरिएको छ। ट्रफी टुरअन्तर्गत नेपालगञ्ज र धनगढीमा प्रदर्शन सम्पन्न भइसकेको छ भने स्थगित भएका पोखरा र विराटनगरमा असोज ३० र ३१ गते ट्रफी टुर आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितासँगै वातावरण संरक्षणलाई जोड्दै ‘एक गोल, एक रुख’ अभियान पनि सञ्चालन गरिनेछ। प्रतियोगिताभरि हुने प्रत्येक गोल बराबर एउटा बिरुवा रोपिने आयोजकले जनाएको छ ।

एसियन पेन्ट्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा बीवाइडी, एनसेल, सूर्यज्योति लाइफ इन्स्योरेन्स र मेघा इन्भेस्टमेन्ट बैंक सहप्रायोजक तथा साझेदारका रूपमा रहेका छन् ।

एसियन पेन्ट्स फुटबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय