+

काठमाडौं रेड्सले सगरमाथालाई हराएपछि रोमाञ्चक मोडमा एनभीएल

२०८३ भदौ  २३ गते २१:४४ २०८३ भदौ २३ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं रेड्सले नेपाल भलिबल लिगमा सगरमाथा स्म्यासर्सलाई ३-१ सेटले हराउँदै दोस्रो जित दर्ता गरेको छ ।
  • मधेश वारियर्सले खप्तड फाल्कन्सलाई ३-० ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।
  • लिगमा बुधबार अन्नपूर्ण स्पाइकर किंग्स र खप्तड तथा काठमाडौं र कर्णाली शिवराजबीच खेल हुनेछन् ।

२३ भदौ, काठमाडौं । काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा मंगलबार सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा काठमाडौंले सगरमाथालाई ३-१ सेटले पराजित गरेको हो ।

काठमाडौंले पहिलो सेटमा २५-१२ ले सहजै आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । तर दोस्रो सेट सगरमाथाले २५-२२ ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्‍यो । त्यसपछि भने काठमाडौं हावी बन्दै लगातार दुई सेट २५-१८ र २५-२० ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

काठमाडौंको जितमा उत्कृष्ट प्रदर्शन गरेका पाकिस्तानी खेलाडी अहमेद राजा प्लेअर अफ दि म्याच घोषित भए । उनले सर्वाधिक ३५ अंक स्कोर गरे । यस्तै स्टेफान ओकोसानोभिचले १५ अंक जोडे । सगरमाथाका फैजन उल्लाहाले १४ अंक जोडे ।

काठमाडौंको तीन खेलमा यो दोस्रो जित हो भने सगरमाथाको लगातार दोस्रो हार हो । यस नतिजापछि लिग रोमाञ्चक मोडमा पुगेको छ ।

काठमाडौं ३ खेलबाट ५ अंक जोड्दै चौथो स्थानमै कायम छ । तर लिग चरणमा अझै दुई खेल खेल्न बाँकी रहेकोले काठमाडौंको लागि यो जित महत्वपूर्ण बन्न सक्छ र शीर्ष तीनमा रहँदै प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।

काठमाडौंले अब लिगको शीर्ष स्थानमा रहेको कर्णाली शिवराज र पूछारमा रहेको खप्तड फाल्कन्स सुदूरपश्चिमसँग खेल्न बाँकी छ । काठमाडौंले यसअघि पाँच सेटको खेलमा मधेश वारियर्सलाई पराजित गर्दा अन्नपूर्ण स्पाइकर किंग्ससँग सोझो सेटमा पराजित भएको थियो ।

उता सुरुवाती दुई खेल जित्दै सानदार सुरुवात गरेको सगरमाथा भने लगातार दोस्रो हारपछि दबाबमा छ । सगरमाथाले ४ खेल खेलिसकेको छ र ७ अंकसहित दोस्रो स्थानमा छ । अब सगरमाथाले लिग चरणको अन्तिम खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग खेल्न बाँकी छ । काठमाडौंसँग हारपछि सगरमाथामाथि दबाब बढेको छ ।

मंगलबारै भएको पहिलो खेलमा मधेश वारियर्सले खप्तड फाल्कन्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हात पारेको छ । मधेशले खप्तडलाई २५-२१, २५-२०, २५-२३ ले हरायो ।

मधेशका भारतीय खेलाडी जिबिन सेबास्टियनले सर्वाधिक १९ अंक स्कोर गरे भने कप्तान रविन नगरकोटीले ११ अंक जोडे । खप्तडका बोस्को डेटले १६  रकप्तान धिरोकाजी बस्नेतले १५ अंक जोडे ।

चार खेलमा ४ अंक जोडेको मधेश पाँचौ स्थानमा छ । लगातार तीन खेलमा पराजित भएको खप्तड भने अंकविहिन छ भने कुनै पनि सेट जित्न सकेको छैन ।

लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेल अन्नपूर्ण र खप्तडबीच अपरान्ह ४ बजे सुरु हुनेछ । पहिलो खेलमा कर्णालीसँग पराजित भएपनि काठमाडौं र मधेशलाई पराजित गर्दै अन्नपूर्ण लयमा देखिएको छ ।

यस्तै काठमाडौं र कर्णालीबीचको दोस्रो खेल साँझ ७ बजे सुरु हुनेछ । काठमाडौंको लागि शीर्ष तीनमा रहन यो खेल महत्वपूर्ण हुनेछ भने कर्णालीलाई अपराजित यात्रा कायम राख्ने चुनौती हुनेछ ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक भइरहेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणपछि शीर्ष स्थानको टोली सिधै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछ । फाइनल खेल भदौ २७ गते हुनेछ । विजेताले नगद २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

अंकतालिका

 

एनभीएल काठमाडौं रेड्स नेपाल भलिबल लिग सगरमाथा स्म्यासर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय