News Summary
Generated by OK AI. Editorially reviewed.- सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ लाई फ्रान्सस्थित ‘अल्ट्रा ट्रेल’ संस्थाले अन्तर्राष्ट्रिय मान्यता दिएको छ।
- अन्तर्राष्ट्रिय ट्रेल धावक सङ्घले प्रतियोगितालाई तीन अङ्क दिएको छ, जसले धावकलाई अन्य अन्तर्राष्ट्रिय ट्रेल दौडमा छनोट हुन सहयोग गर्नेछ।
- गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले यस मान्यताले पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियान सफल भएको बताए।
२४ भदौ, काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेस्ट भ्यु ट्रेल रेस’ ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।
पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड्दै सञ्चालन हुँदै आएको यो साहसिक दौडलाई फ्रान्सस्थित विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाले आधिकारिक मान्यता दिएको हो ।
साथै, अन्तर्राष्ट्रिय ट्रेल धावक सङ्घ (आईटीआरए) ले प्रतियोगितालाई तीन अङ्क प्रदान गरेको छ । मान्यता प्राप्त ट्रेल पूरा गर्ने धावकले दुरी र उचाइको कठिनाइका आधारमा प्राप्त गर्ने यी अङ्कले विश्वका अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय ट्रेल दौडमा छनोट हुन सहयोग गर्नेछ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदलाई पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले सार्थकता पाएको बताए । उनले यसबाट माप्य दुधकोशीका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने अवसर थपिएको उल्लेख गरे ।
करिब ४८ किलोमिटर लामो यो ट्रेलको अधिकतम उचाइ ३ हजार १ सय ८१ मिटर र न्यूनतम उचाइ १ हजार ८ सय ३ मिटर रहेको छ । प्रतियोगिता पूरा गर्न धावकलाई अधिकतम ७ घण्टा ४५ मिनेटको समयसीमा तोकिएको छ ।
दौड निर्माणाधीन कोर्कु रङ्गशालाबाट सुरु भएर महभीर, सिलगुडी, कुधम उच्च शिविर र कैलाशनाथ महादेव मन्दिर हुँदै पुनः कोर्कु रङ्गशालामै समापन हुनेछ ।
यात्राका क्रममा धावकले सगरमाथा, कञ्चनजङ्घा, नुम्बुर, थामसेर्कु र मेरा पिकसहितका हिमशृंखलाको दृश्यावलोकन गर्न सक्नेछन् भने ब्लास झरना र महभीरजस्ता साहसिक गन्तव्य पनि ट्रेलको आकर्षण रहनेछन् ।
प्रतिक्रिया 4