+
+

दौरा सुरुवालमा प्रचण्डको स्पष्टीकरण : क्रान्तिकारिताको प्रदर्शनले निर्वाचन परिणाम राम्रो देखिनँ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १६:५३

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कहिल्यै दौरा सुरुवाल विरोधी नभएको स्पष्टीकरण दिएका छन् ।

तर आफू जुन राजनीतिक प्रक्रियाबाट आएँ, त्यसमा अरु नै सहज भएको र त्यही लगाएको बताए ।

प्रधानमन्त्री प्रचण्डले ११ पुसमा शपथ लिने क्रममा दौरा सुरुवाल लगाएका थिए । मंगलबार विश्वासको मत लिने दिन पनि उनी दौरा सुरुवाल लगाएर संसदमा गएका थिए ।

विश्वासको मत दिन आफूले राखेको प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले दौरा सुरुवाल लगाउनुको कारण पनि खुलाए ।

शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टीका नेताहरु मन्त्री हुँदा जे रुचि लाग्छ, त्यही लगाउनुस् भन्ने गरेको र आफूलाई पनि उपयुक्त समयमा दौरा सुरुवाल लगाउँछु भन्ने लागेको उनले सुनाए । प्रचण्डले अघि भने, प्रतिस्पर्धाको शान्तिपूर्ण राजनीतिमा आएपछि आमजनताको भावनालाई सम्बोधन गर्न सकिएन भने क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा परिणाम राम्रो पनि देखिनँ मैले ।’

उनले यसो भन्दै गर्दा संसद बैठकमा हाँसो छायो । त्यसपछि प्रचण्डले पनि हाँस्दै भने, ‘लगाउने जतिले जितेका छन्, नलगाउनेले हारेका छन् भनेपछि त …’

प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवाल लगाउने निर्णयमा पनि कसरी पुगें भनेर सुनाए । उनका अनुसार प्रधानमन्त्री हुँदै गर्दा राष्ट्रपतिले दौरा सुरुवालमा हेर्न मन छ भनेकी थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका साथै आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दौरा सुरुवाल लगाउनुपर्छ भनेपछि आफूले विचार गरौंला भनेको उनले सुनाए ।

दौरा सुरुवाल लगाउन सक्ने विषय सञ्चारमाध्यममा आएपछि मानिसहरुको प्रतिक्रिया पनि हेरेको भन्दै प्रचण्डले भने, ‘नेगेटिभ कमेन्ट एउटै देखिनँ, पोजेटिभ मात्र देखेपछि अब मैले यो निर्णय लिनै पर्ने भयो । जनअभिमत अनुसार पनि लगाएको मात्र हुँ ।’

दौरा सुरुवाल लगाउने बानी पार्न प्रयास भइरहेको भन्दै उनले अप्ठ्यारो पर्ने गरी बढी चर्चा नगरिदिन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?