+
+

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १६:५६

२७ पुस,  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए ।

६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३,  राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ । सरकारलाई  समर्थन जनाएपनि  भागवण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र  सरकारमा गएको छैन ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै सरकारमा सहभागी नभएको हो । माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गरेका छन् ।

सरकारमा सहभागिताका लागि आलोपालोको अड्को थापिरहेको माओवादी केन्द्रलाई अफठ्यारोमा पार्नका लागि कार्कीले सपथग्रहणका लागि हतार गरेको मुख्यमन्त्री निकट स्रोत बताउँछ । ‘माओवादीले थापेको अड्कोलाई चिर्न सुरुमै विश्वासको मत लिन खोजिएको हो’,  स्रोतले भन्यो, ‘भागवण्डाको समस्याा पनि सामधान भइहाल्छ ।’

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी भने सरकारलाई सहज रुपमा काम गर्नका लागि बेलैमा विश्वासको मत लिने तयारी भएको बताउँछन् । ‘विश्वासको मत लिने विषय संसदको बिजनेश हो,’ उनले भने, ‘संसदको विजनेश चाडै सके सरकारले आफ्नो विजनेशका लागि समय पाउँछ ।’ संसदको विजनेस सकेपछि  केही  दिन प्रदेशसभा बैठक  स्थगित हुने उनले बताए । प्रदेशसभाका लागि चाडै विजनेश दिन  विश्वासको अगाडि नै लिन खोजिएको उनले बताए  ।

प्रदेश १ को सभामुखको निर्वाचन बिहीबार हुँदैछ । सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने र शनिबार उपसभामुखको निर्वाचन गर्ने तयारी छ ।

उपसभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गर्ने कार्यसूची छ । सत्तारुढ गठबन्धनबीच भागवण्डा गर्दा सभामुख माओवादी केन्द्र  र उपसभामुख  नेकपा एमालेले लिने सहमति भएको थियो ।

सभामुख पुरुष भएका कारण  उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ । एमालेबाट  उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको आकाक्षी हुन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९,  माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?