
२८ पुस, चितवन । वीरगञ्जका मनोज रौनियारले भारतबाट टायल ल्याएर वार्षिक ३०/४० करोड रुपैयाँसम्मको टायल नेपालमा बेच्ने गर्दथे । २०५० सालदेखि नै जय नेपाल सेनेटरी कम्पनीमार्फत उनले सुरु गरेको टायलको ‘मार्जिन’ व्यापार पछिल्लो समयमा निकै फस्टाएको पनि थियो, कारण नेपालमा टायलको प्रयोग अत्याधिक हुँदै गयो । भारतीय टायलको बजारलाई देशभर फैलाउनमा उनको भूमिका छ ।
तर, मनोजलाई मनमा सधैं एउटा कुरा आइरहन्थ्यो । वार्षिक करोडौं मूल्य, टायलका लागि नेपालबाट बाहिर गइरहेको छ यसलाई नेपालमा नै उत्पादन गरेर रोक्न सकिंदैन होला ? नेपालकै माटो प्रयोग गरेर टायल उत्पादन गरेर बेच्न सके सयौं जनालाई रोजगारी दिन सकिन्थ्यो । उनी उपर्युक्त मौकाको खोजिमा थिए । यस्तैमा भरतपुरका हार्डवेयर व्यावसायी शिरिष पन्तले मनोजलाई अर्को हार्डवेयर व्यवसायी शम्भुनाथ झासँग भेटघाट गराइदिए । महोत्तरी घर भएका शम्भुनाथ झाले भारत र चीनबाट हार्डवेयरका सामान आयात गरेर बिक्री गर्न काठमाडौंमा मयुर फोसेस्ट प्रालि खोलेका थिए ।
उनीहरूका बीचमा नेपालमा नै पहिलो टायल उद्योग खोल्ने कुरा सल्लाह भयो । लगानीका लागि आर्थिक जुटाउन समस्या थियो । माछापुच्छे बैंक लिमिटेड उनीहरुको साथी भैदियो । दुवै जना मिलेर बाराको सिमरा उपमहानगरपालिका–८ मा जन्मियो, नेपोभिट टायल, ‘आफ्नै माटो, आफ्नै सान ।’
गत वैशाखदेखि उत्पादन सुरु भएको उद्योगले ५० प्रतिशत नेपाली माटो प्रयोग गरेर टायल उत्पादनको गर्दै आएको छ । बाँकी ५० प्रतिशत माटो भने भारतको राजस्थानबाट ल्याउने गरिएको छ । अबको ६ महिनामा शतप्रतिशत नेपाली माटो नै प्रयोग गरेर टायल उत्पादन गर्ने तयारी गरिएको सञ्चालक मनोज रौनियारले बताए । टायल बनाउन आवश्यक माटो भारतको भन्दा नेपालको उपर्युक्त पाइएको तथा गुणस्तरसमेत राम्रो र बलियो हुने पुष्टि भइसकेको रौनियारको भनाइ छ । भारतबाट ल्याउँदा ८ रुपैयाँ प्रतिकेजीमा आउने माटो नेपालमा ३ देखि ४ रुपैयाँसम्म आउने गर्दछ । एक हजार दुई सय डिग्री तापक्रम दिँदा भारतीय माटो ३२ प्रतिशत पग्लियो भने नेपाली माटो ४५ प्रतिशत पग्लियो । यसले नेपाली माटो टायलका लागि बढी उत्तम देखिएको रौनियारले दावी गरे । भारतीय माटोबाट बनाइएको टायलले तीन सय ५० केजी भार थेगेको भन्दै उनले नेपाली माटोबाट बनेको टायलले चार सय ३० केजी भार थेगेकोले आफूहरु नेपाली माटो प्रति बढी विश्वस्त रहेको उनको भनाइ छ । तर, माटो ल्याउन भने सरकारले सहजीकरण गरिदिनुपर्ने सञ्चालकहरु बताउँछन् ।
उद्योगले महिनामा सात हजार दुई सय टन माटो खपत गर्दै आएको छ । उद्योगले बारा, मकवानपुर, दोलखा लगातयतका जिल्लाबाट माटो ल्याउने गरेको छ । अहिले टायल उत्पादनका लागि आवश्यक १० प्रतिशत मात्रै कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने अवस्था छ । त्यसमा रंग, ग्लेज र अन्य केही केमिकलहरु पर्दछन् । टायल बनाउन चाहिने पेभेल्स चीनबाट ल्याउने गरिन्छ ।
५ बिगाहा १२ कठ्ठा जमिनमा फैलिएको उद्योगमा १ अर्ब ६० करोड रुपैयाँको लगानी छ । पूर्ण स्वाचालित अत्याधुनिक प्रविधिबाट सञ्चालित उद्योगको मेसिन इटालियन प्रविधिको छ । सेक्मी ब्रान्डको स्वचालित अत्याधुनिक मेसिनलाई मात्रै ७० करोड परेको रौनियारले जानकारी दिए ।
उद्योगमा ४ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, ती मध्ये केही गुराजराती छन् । क्रमशः भारतीय कामदारहरुलाई विस्थापन गर्ने नीति उद्योगको छ । पूर्ण स्वचालित हुँदा मानवीय स्रोत साधानको कम प्रयोग भएको हो । एक ठाँउबाट सुरु भएको प्रोसिङमा टायल उत्पादन हुँदासम्म कहीं पनि प्रत्यक्ष रुपमा कामदार बस्नुपर्दैन । उद्योगले अहिले ३ सय ५० प्रकारका २४×२४ इन्च र १६×१६ इन्चका फ्लोर टयाल उत्पादन गर्दै आएको छ । अब चाँडै नै २४×४८ इन्चको टायल उत्पादनको लक्ष्य राखिएको छ । भित्तामा लगाउने टायलको निर्माण गर्ने तयारी पनि छ ।
उद्योगको नाम किन राखियो नेपोभिट ?
नेपाली माटोबाट उत्पादन हुने टायल भएकोले यसलाई नेपोभिट नाम दिइएको टायल निर्माण गर्ने नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिका अध्यक्ष शम्भुनाथ झा बताउँछन् । NEPO को अर्थ नेपाल र VIT को अर्थ इटालियन भाषामा सुन हो । त्यसैले नाम नेपोभिट अर्थात नेपालको सुन राखिएको हो । नेपाली माटोबाट नै नेपालमा टायल उत्पादन गर्न हुने कुरा पुष्टि भएपछि अन्य लगानीकर्ताहरुले पनि टायल उत्पादन गर्ने उद्योगहरु सञ्चालनको तयारी गरेका छन् ।
रौतहटमा टायल उत्पादन गर्ने उद्योग सञ्चालनको अन्तिम तयारीमा छ । नेपाली माटो नै सुन जस्तो भएकोले आफूहरुले टायल उत्पादन गरेर बाटो देखाएको झा बताउँछन् । ‘नयाँ नयाँ उद्योगहरु आउनु धेरै राम्रो कुरा हो, हामीले चुनौती पन्छाएर सफल भएर देखाएकोले अरुलाई पनि सहज भएको छ’ अध्यक्ष झाले भने, ‘अब आउनेलाई कम चुनौती छ ।’ झाले नेपालमा टायलको बजारको अभाव नरहेकोले प्रतिस्पर्धा नै नहुने बताए । ‘अझै १० वटा कारखाना आउँदा पनि देशको माग पूरा गर्न गाह्रो हुन्छ’ झा भन्छन् ।
नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक रहेका मनोज रौनियारले अहिले नेपालको कुल मागको १० प्रतिशत मात्रै टायल यहाँ उत्पादन हुन सकेको बताए । अब उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको बताउँदै रौनियारले भने, ‘अबको ५/७ वर्षमा विदेशबाट टायल ल्याउन नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ ।’
सरकारले कच्चा पदार्थ आयातमा लाग्दै आएको ५ प्रतिशत भन्सार शुल्क घटाउन सके अझै स्वदेशी उद्योगहरु फस्टाउने उनले बताए । नेपालमा हरेक वर्ष ३० अर्बको टायल विदेशबाट आयात हुँदै आएको छ । यो उद्योग खुलेपछि वार्षिक ३ अर्ब रकम विदेश जान रोकिने उद्योग सञ्चालकहरु बताउँछन् ।
नेपालको कुल माग बजारको झण्डै १० प्रतिशत आयात विस्थापन गर्न उद्योग सफल भएको छ । अहिले उद्योगले मासिक २५ करोड रुपैयाँ हाराहारीका तीन सय ५० डिजाइनका टायल उत्पादन गरेर बिक्री गर्दै आएको छ । देशका सबै क्षेत्रमा टायल पुगिसकेका छन् । विदेशी टायल ल्याएर देशैभरि बिक्री वितरण गर्ने ठूलो सञ्जाल सञ्चालकको रहेकाले बजार पुर्याउन सहज भएको हो ।
स्वदेशी टायल प्रयोग गर्ने नीति सरकारले ल्याउनुपर्छ
स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्न सरकारले हरेक सरकारी कार्यालयमा नेपालमा नै उत्पादन भएको टायल लगाउने नीति ल्याउनुपर्ने उद्योगी रौनियार बताउँछन् ।
‘सरकार नै विदेशबाट टायल किन्न थाल्यो भने, उद्योगीहरु कसरी उत्साहित हुन्छन्’ रौनियार भन्छन्, ‘विदेशबाट ल्याएको भन्दा गुणस्तरको र मूल्य पनि सस्तोमा दिने प्रतिबद्धता हाम्रो छ, तर सरकारले नीति स्वदेशी टायल नै लगाउन बनाउन सक्नुपर्दछ ।’
उनले सरकारी कार्यालय र संरचनाहरुमा अझै पनि विदेशी टायलको प्रयोग भइरहेको भन्दै त्यसलाई घटाउने र क्रमशः हटाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ । रौनियारले नेपालमा उत्पादन भएको टायललाई भारतसहितका तेस्रो देशमा बेच्न सक्ने गरी उत्पादन र गुणस्तरमा ध्यान दिइएको बताए ।
भरतपुरको उत्सव हार्डवेयरका सञ्चालक शिरिष पन्तले भारतबाट आउने टायलको भन्दा नेपालमा उत्पादन भएको टायलको गुणस्तर राम्रो भएको बताउँछन् । भारतबाट २×२ को टायल प्रति पेटी ल्याउँदा २३ सय पर्न आउँछ जबकी नेपालमा सोही साइज र अझै गुणस्तरको टायलको मूल्य प्रति पेटी १६ सय ५० पर्न आउँछ । उनले नेपाललाई टायलमा आत्मनिर्भर बनाउन सके वार्षिक अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने बताए ।
कसरी बन्छ टायल ?
४० टन माटो, ४० टन पेभेल्सका डल्ला र २० हजार लिटर पानीको अनुपात मिलाएर ट्याङ्कीमा हालेर ६ घण्टा घुमाइन्छ । त्यसपछि माटोमा भएको आइरन फाल्ने काम हुन्छ । त्यो लेदोलाई १८ फिट गहिरो ६ वटा ट्याङ्कीमा त्यसलाई राखिन्छ । लेदोलाई डायरमा सुकाएर धुलो बनाउने काम गरिन्छ ।
धुलोलाई फेरी ट्याङ्कमा राखेर चिस्याउने काम हुन्छ । त्यसपछि ५२ सय टनले थिच्ने, साइजिङ्ग गर्ने र डायरमा २ सय डिग्री सेन्टिग्रेडमा सुकाउने काम गरिन्छ । पछि तापक्रम घटाउने र ग्लेज, वेस प्राइमर लगाउने, लेभल चेक गर्ने जस्ता कामहरु गरिन्छ । खराब आएको भए फुटाउने काम त्यहीँ हुन्छ । डिजिटल रुपमा लेमिनेसनल लिड गर्ने गरिन्छ ।
कम्पनसेटर प्याचिङ्ग गरिन्छ । ६० मिनेट जति ग्याँस फायरिङ अटोमेटिक मेसिनमा हुन्छ । १२ सय डिग्रीसम्मको तापक्रममा सुकाए पछि चिसो बनाएर निकाल्ने गरिन्छ । त्यसको गुणस्तर जाँच लगायतका प्रकृया हुन्छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4