+
+

प्रदेश खारेजी पक्षधरलाई नै प्रदेशसभाको चाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १५:०४

२९ पुस, काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार प्रदेशसभामा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक ६२ मतका साथ निर्वाचित भएका हुन् ।

पाठक राप्रपाका निर्वाचित महामन्त्री समेत हुन् । राप्रपा त्यही दल हो, जसले प्रदेश खारेजीको माग गर्दै चुनावमा मत मागेको थियो ।

प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ गरी १३ सिट जितेको राप्रपा ११० सदस्यीय प्रदेशसभामा सरकार गठनमा निर्णायक बन्यो । केन्द्रमा एमाले–माओवादी गठबन्धनलाई साथ दिएको राप्रपाले प्रदेशको मुख्यमन्त्री नै मागेको थियो ।

२७ सिट जितेको एमाले र २१ सिट जितेको माओवादीले मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गर्दा राप्रपाले सभामुख पायो । र, पाठक सभामुख भएको उम्मेदवार बने । नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सयजु पनि उम्मेदवार थिए ।

तर प्रदेशसभामा प्रष्ट बहुमत भएको सत्ता गठबन्धनका उम्मेदवार पाठक ६२ मतका साथ निर्वाचित भए । उनको विपक्षमा ४९ मत खसेको छ भने ७ जना तटस्थ बसेका छन् । सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीका ७ प्रदेशसभा सदस्य सभामुखको निर्वाचनमा भने तटस्थ बसेका हुन् ।

संघीयता खारेजी, हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको मुख्य एजेण्डा बोकेको पार्टीमा आफ्नो उर्बर समय ब्यतित गरेका पाठकले अब प्रदेशसभालाई प्रभावकारी बनाउन समन्वयनकारी भूमिका खेल्नुपर्नेछ ।

सभामुख निर्वाचित भएपछि पाठकले अनलाइनखबरसँग भने, ‘म पूर्ण तटस्थताका साथ आफ्नो भूमिका निर्वाह गर्छु, प्रदेशसभा सबै राजनीतिक दलको साझा थलो हो, म कुनै पक्ष विपक्षीमा नलागी राजनीति भन्दा माथि उठेर काम गर्छु ।’

उनले आफू राजनीतिबाट मुक्त भएर काम गर्ने र प्रदेशसभाको गरिमा बढाउने, जनताको पीरमर्का र जनजीविकाको आवाज उठाउने थलोको रुपमा प्रदेशसभालाई अघि बढाउने पनि बताए ।

को हुन् पाठक ?

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला उनी शिक्षा सहायक मन्त्री भएपनि भुवन जननिर्वाचित थलोमा पुगेको पहिलो पटक हो । उनलाई राप्रपाले समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य बनाएको थियो ।

बागमती प्रदेशसभा राप्रपाबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये महामन्त्री पाठक नै सबैभन्दा वरिष्ठ थिए । तर उनी संसदीय दलको नेता बन्न सकेनन्, उद्धव थापा सर्वसम्मत नेता चयन भए ।

त्यसपछि उनको सरकारमा जाने बाटो करिब बन्द भयो । तर सत्ता साझेदार दलहरुबीच पद भागवण्डामा बागमतीको सभामुख राप्रपाको भागमा प¥यो र भुवनले अवसर पाए ।

२०३६ सालको जनमत संग्रहका बेला भुवन पञ्चायत समर्थक विद्यार्थी संगठन नेपाल राष्ट्रिय छात्र संगठनको अध्यक्ष थिए । त्यहीँबाट राजनीति अघि बढाएका उनी पछि पञ्चायत समर्थक युवक संगठनको सचिव बने ।

२०४६ सालको जनआन्दोलनपछि पञ्चायत पक्षधरले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेपछि उनी सोही पार्टीको युवा संगठनको अध्यक्ष बने । २०५९ सालमा राप्रपाको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

२०६४ सालमा कमल थापाले राप्रपा नेपाल गठन गरेपछि उनीसँगै रहेका पाठकले २०७८ सालको राप्रपा महाधिवेशनमा थापाकै प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिए ।

अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भए पनि पाठक भने निर्वाचित भए । थापाले पार्टी छाडेर गए पनि पाठक राजेन्द्र लिङ्देनलाई सहयोग गरेर बने । ‘जहाँ रहे पनि उहाँको नेतृत्वको निकट भएर काम गर्ने गुण छ’ राप्रपाका एक नेताले भने ।

राप्रपाको सहायक महामन्त्री, प्रवक्ता र संगठन विभागको प्रमुख भएर काम गरिसकेका उनी अहिले महामन्त्रीसँगै अन्तर्राष्ट्रिय विभागको प्रमुख रहेका छन् ।

कुनै बेलाका फुटबल खेलाडी भुवन पाठकले ज्ञानेश्वर युनाइटेड र मैतीदेवी ११ बाट राष्ट्रिय स्तरका खेलहरु खेले । नेपाल केक्युसिन कराते संघको उपाध्यक्ष, बक्सिङ संघको उपाध्यक्ष, नेपाल आर्चरी संघको अध्यक्ष भएर काम गरिसकेका छन् । हाल उनी आइस हक्की संघको अध्यक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?