+
+

एक्लाहरूको भीड

ऋतेश ऋतेश
२०७९ पुष ३० गते १८:५८

भीड पो बाटोमा अल्झिरहन्छ, त्यसलाई समय लाग्छ, ‘एक्लो’ त सरासर आउनुपर्ने हो तर त्यसलाई हामीसम्म आइपुग्न लगभग ७ वर्ष लाग्यो ।

पढिसकेपछि थाहा पाएँ, ‘एक्लो’ले हिंडेको बाटो छोटो भए पनि तय गरेको यात्रा ठूलो र फराकिलो रहेछ ।

गाउँबाट शहर पसेको ‘एक्लो’लाई मान्छेको मौनता जोडिएर बनेको कोलाहल सुन्न र शहरको बाटो काट्न वर्षौं लाग्यो । त्यही भएर मैले पनि ‘एक्लो’लाई समय लगाएरै पढेँ ।

‘कर्णाली ब्लुज’ आउँदा बुद्धिसागरले भनेका थिए, ‘लेख्न गाह्रो छैन । आफ्ना अगाडि रित्तो पन्ना फैलाऊ र हृदयलाई तप्किन देऊ, आफैं लेखिन्छ ।’

सायद त्यो बेला उनको मुखले होइन हृदयले बोलेको थियो । मलाई लाग्छ, उनी कवि थिए होइन अहिले पनि हुन् । फरक यत्ति हो, अहिले उनका कविता उपन्यासका रूपमा आउन थालेका छन् ।

‘कर्णाली ब्लुज’ प्रकाशनको एक वर्षपछि नयाँ उपन्यास लेख्न सुरू गरेका बुद्धिसागरले लगभग ६५ हजार शब्दको पाण्डुलिपीलाई डम्प गर्ने साहस गरेँ । किनभने उनी सचेत भइसकेका थिए । उनी ‘कर्णाली ब्लुज’ जन्माउने बुद्धिसागर होइन ‘कर्णाली ब्लुज’ले जन्माएको बुद्धिसागर भइसकेका थिए ।

सचेत हुनु भनेको डराउनु पनि हो । डराएर बाटो हिंड्दा अथवा बाटो काट्दा जे पनि हुन सक्छ । शरीर कसैसँग ठोक्किन सक्छ, पाइला केहीमा ठेस लाग्न सक्छ । लेख्न गाह्रो छैन भनेका बुद्धिसागरलाई यसरी सचेत र सजग भएर लेख्न समय लाग्यो । त्यही भएर लगभग ६ वर्ष लाग्यो ‘फिरफरे’ आउन ।

नाम कमाउनु भनेको डर पनि कमाउनु हो । त्यसैले ‘एक्लो’सम्म आइपुग्दा झन् समय (लगभग ७ वर्ष ) लाग्यो ।

यसरी डराउँदा खुट्टा काँप्छन् । काँपेका खुट्टाहरूले सीधा र सन्तुलित भएर हिंड्न सक्दैनन् । त्यही भएर धेरैलाई लाग्छ, बुद्धिसागर ‘कर्णाली ब्लुज’पछि धर्माराएका छन् । उनको ‘फिरफिरे’ अथवा नवितम कृति ‘एक्लो’ ‘कर्णाली ब्लुज’ जस्तो दमदार छैन । दाँज्नेहरूले बुद्धिसागरको कृति अरू लेखकहरूका कृतिसँग होइनन् उनका आफ्नै कृतिहरूसँग दाँज्छन् । किनभने उनीहरूलाई थाहा छ,  बुद्धिसागरले आफूलाई कुन स्थानमा पुर्‍याएका छन् ।

‘एक्लो’को एक पात्रले भनेजस्तै ‘दिमागले खुट्टालाई सधैं तर्साउँछ । मनको सुन्नु, मनले खुट्टालाई आँट दिन्छ ।’ ‘एक्लो’ दिमागले होइन मनले लेखिएको उपन्यास हो ।

सरल र सरस भाषामा लेख्ने बुद्धिसागरको मिठो र सुन्दर शैली-शिल्पीले गर्दा नै उनको उपन्यास ‘एक्लो’ कविता जस्तै लाग्छ । जुत्तामा पोलिस लगाएर ब्रसले दलेजस्तै उनले शब्दहरू, वाक्यहरू, परिच्छेदहरूलाई बिम्ब, उपमा, रूप अलङ्कार राखेर मज्जाले पोलिस गरेका छन् । ‘एक्लो’को लगभग मैले हरेक पन्नामा केही-न-केहीलाई मन परेर अन्डरलाइन गरेको छु ।

काठलाई रन्दा लगाएर चिप्लो, चिल्लो बनाएजस्तै उनले हरेक शीर्षकलाई आफ्नै प्रतिबिम्ब देखिने गरेर टलक्क टल्काएका छन् । त्यही भएर नै त ‘एक्लो’लाई पढ्दा कहीँ रोकिन मन लाग्दैन । सलललल बगेको महसुस हुन्छ । त्यही चिल्लो, चिप्लोपनमा केही मान्छेहरू बग्दैनन् अथवा बग्न सक्दैनन् । उनीहरू चिप्लिन्छन् । म पनि बेलाबेला कहीँ चिप्लिएर लडेँ । मलाई पनि ‘एक्लो’का केही दृश्यहरू, घटनाहरू अस्वभाविक लागेको हो । सबै कथालाई सबैले कहाँ देखेका, बुझेका, महसुस गरेका हुन्छन् र ? सायद त्यसैले होला, अपवाद शब्द पनि छ शब्दकोशमा ।

कन्भिक्सनका साथ लेखिएको ‘एक्लो’लाई पुरै पढिसक्दा म मात्रै होइन धेरै कन्भिन्स भइसक्छन् । च्याप्टरभरि हसाउँदै-हसाउँदै अन्तिमको एउटा सानो वाक्यले रूवाइदिए जस्तै ।

मैले पहिलेका उपन्यासहरूमा जस्तै ‘एक्लो’मा म पनि लेखकलाई र उनको लेखनीमा डिटर्मिनेसन, डिसिप्लेन, अनि डिटेलिङ पाएको छु ।

एउटा पहाडबाट अर्को पहाडसम्म दृश्यलाई अवलोकन गर्दै, बतासको कथालाई सुन्दै, थकानलाई महसुस गर्दै, थकाइ मार्दै, हिंडेर जान रूचाउनेहरूलाई ‘एक्लो’ मन पर्छ । केबलकार चढेर छिटो जान खोज्नेहरूले सायद ‘एक्लो’लाई नरूचाउलान् ।

डिटेलिङले गर्दा नै दृश्यलाई अझै स्पष्टसँग देख्न सकिन्छ । पात्रहरूका संवेदनाहरूलाई गहिरोसँग महसुस गर्न सकिन्छ ।

त्यसैले त म सिरीको कोठाको ‘सिलिङमा झरीले बनाएको चित्र’ होस् अथवा ‘आँसुले सिरानीमा बनाएको टाटा’ होस् म देख्न सक्छु । ‘पानी भरिएर ऐनाजस्तै टल्किने खेत’मा आफ्नो अनुहार देख्न सक्छु । केही दिनसम्म ‘कचौरामा रहेको बासी भातमा उम्रिएको ढुसीको काँडा’लाई देख्न सक्छु । ‘जङ्गलमा अलपत्र परेको बेलामा टाढाटाढा ढलेको रूख पनि मलाई बाटो’ जस्तै लाग्छ ।

सूर्यबहादुरको ‘ट्याक्सीको सिटको गन्ध’ होस् अथवा उनको बा’को ‘सिनो जस्तै गन्हाउने जुत्ता’ होस् न सुँघ्न सक्छु । ‘आदिको नाथ्री फुटेको आवाज’ सुन्न सक्छु । ‘ढोकामा लात्तीले हान्दा घरबेटीको अनुहार कसरी कुच्चिएको’ थियो, म भन्न सक्छु । भोक लागेको बेला ‘पाइपमा पानी बग्दा आउने आवाज’ जसरी पेट कराएको म सुन्न सक्छु ।

‘प्यासले जिब्रो बिजुलीको तारमा अल्झिएर मरेको पन्छी जस्तै सुख्खा’ भएको महसुस गर्न सक्छु । ‘घरबेटीको डरले कुकरको सिठ्ठी बम झैं लागेको सिरीको डर’लाई महसुस गर्न सक्छु । ‘पहिलोपल्ट चुरोट किन्दाको लाज’ भोग्न सक्छु । सिरी जस्तै म पनि समिराको कल्पना गर्दै आफ्नो मस्तिष्कपटमा उनको आकृति कोर्न सक्छु ।

केही समयअघि पोखरामा सम्पन्न भएको साहित्यिक महोत्सवमा नेता ‘गगन थापा’ले बुद्धिसागरलाई सोधेका थिए, ‘सहर कसको हो ?’

जवाफ आएको थियो, ‘सहर घर हुनेहरूको हो । घर नहुनेहरूको पनि हो । डेरा हुनेहरूको हो । नहुनेहरूको पनि हो । सपना देख्नेहरूको हो । बिहानदेखि साँझसम्म पसिना बगाउनेहरूको हो ।’

‘एक्लो’ ठ्याक्कै तिनै पात्रहरूको कथा हो । तपाईं, हाम्रो कथा हो । यदि तपाईंले आफू अथवा आफ्नो कथालाई भेट्नुभएन भने पक्कै आफ्नाका कथा भेट्नुहुनेछ । केही नभेटे तपाईंले त्यो समयको आँसु भेट्नुहुनेछ जसको रङ तपाईंको आँखाबाट झर्ने आँसुको जस्तै छ ।

‘संसारको सबैभन्दा एक्लो मान्छे कहिल्यै एकान्तमा भेटिदैन भीडमा भेटिन्छ ।’

‘एक्लो’मा ठूलो कथा छैन । ‘फिरफिरे’को तुलनामा पात्रहरू पनि कम छन् तर तिनीहरूले कयौँ आफू जस्ताहरूका प्रतिनिधित्व गरेका छन् । ‘एक्लो’ शहरको कथा पनि हो जुन शहर मान्छेहरूले भरिए पनि ‘एक्लो’ देखिन्छ । कति भयानक र रित्तो देखिन्छ त्यो ‘सिरी’लाई झनै थाहा छ ।

मान्छे, शहर मात्रै होइन सपना र सम्भावनालाई समात्न अथवा द्वन्द्वले विस्थापित भएर शहर पसेकाहरूले गर्दा ‘मीनबहादुर’ले भनेजस्तै ‘गाँउ समुन्द्रबीचको टापु’ जस्तै भएको छ । ‘एक्लो’मा ‘मलामीको लहरो छोटो छोटो हुँदै’ गएको एक्लो गाँउको पनि कथा छ जहाँ ‘बन्दुक र भोक’ मात्रै छन् ।

‘एक्लो’मा एक्लो परिवारको कथा पनि छ जसले टाढा रहेको आफ्नै सन्तानलाई ‘कुहिन थालेको औंलोझैं च्वाट्टै काटेर’ फालेका छन् तर पनि हरेक रात त्यही सन्तानको चिन्ताले छट्पटाइरहेका छन् । ‘हजार-हजारका नोटका माला बनाएर बाउको घाँटीमा झुन्ड्यादिने हो भने पुन: आफ्नो सन्तानलाई ब्युँताउने’ परिवारको कथा पनि ‘एक्लो’मा छ । एउटै ओछ्यानमा सुते पनि ब्रह्माण्डको वल्लो र पल्लो किनारमा भएको परिवारको कथा पनि छ । विदेशमा सन्तानले अर्कै भगवानलाई अंगालेर स्वदेशमा एक्लिएको परिवारको कथा छ ।

सबैलाई भरोसा दिन बसेका तर पनि मुर्ति-चोरदेखि डराउने शहरमा रहेका मन्दिरभित्रका भगवानहरू पनि एक्ला छन् । बरू उनीहरूलाई सुरक्षा गरिरहेका न घर न डेरा भएका मागेर हिंड्ने भीमसेनहरू जस्ताका कथा पनि छन् ‘एक्लो’मा ।

‘एक्लो’ शब्द जति सुन्दर र काव्यिक सुनिन्छ ‘एक्लो’ हुनु वास्तवमै भयानक हो । ‘एक्लो’ एक्लाहरूको कहानी हो । कोही नभएर एक्लो हुनु र सबै भएर पनि एक्लो हुनुमा फरक छ । ती सबै एक्लाहरूको कथा ‘एक्लो’मा अटेको छ ।

बुद्धिसागरका किताबहरूमा कथा होइन संवेदनाहरू हुन्छन् । खुसी भन्दा ज्यादा वेदनाहरू हुन्छन् । ‘एक्लो’मा पनि छ । र ‘एक्लो’मा एक्लो भएर पनि उनीहरू एक्ला छैनन् । डेरा नभएका एक्लाहरूले भन्ने गर्छन्, ‘ज्यान नै यो धरतीको सबैभन्दा मीठो डेरा हो ।’

घर नभएकाहरूले भन्छन्, ‘घर पो छैन, शहरमा डेरा त कति छन् कति ।’

सबै भएर पनि एक्ला भएकाहरू भन्छन्, ‘म सहरमा एक्लो हुँला तर संसारमा एक्लो छैन । आफूसँग कथा हुनेहरू कहिल्यै एक्लो हुँदैनन् ।’

‘एक्लो’ भीरमौरीको महभन्दा मिठासको रसले भरिएको कल्पनिक प्रेम कथा हो । टुक्रिदै गइरहेको जिन्दगीलाई जोड्दै गइरहेको आसको कथा हो । पखेटा फैलाएर आकाश उडेको पन्छीजस्तै उड्ने सपनाको कथा हो ।

संसार जित्न हिंडेको तर नसकेर अथवा नचाहेर बरू आफ्नै सपनाको थाँक्रो हाल्न र बरफ भएको मन पगाल्न सुरू गरेको आत्मबोधको कथा हो । थाकेका तर नहारेका मान्छेहरूका कथा हो । वर्षौं लामो दुरी हिंडेर पेटीबाट मूल सडकतिर आएकाहरूका कथा हो । युद्धमा मारिएकाहरू, बिस्थापित भएकाहरू, हराएकाहरूका कथा हो । प्रेम, उदासी, छट्पटी, घृणा, रहर, आँसु, हाँसोका कथा हो । भाषा नजान्नेहरूको कथा हो । मनको कुरा अरूलाई भन्न नसक्ने अन्तरमुखीहरूका कथा हो । भागेर होइन आफैंलाई चिनेर शहरबाट गाउँ फर्किनेहरूका कथा हो ।

ती घरहरूका कथा हो जसका कोठाहरूमा कहिल्यै घाम पसेनन् । परिवारका सबै सदस्यहरूलाई मारेको भनेर झुठो आरोप बोकेका दिपेन्द्र कति एक्ला भएको थिए ? आफू भएर पनि दन्त्यकथा झैं भएर बाँचेका दीपेन्द्रको कथा हो ‘एक्लो’ ।

‘एक्लो’ले स्टोभबाट ग्यास-चुल्हो, बाँसको र्‍याकबाट काठको दराज, रेडियोबाट टिभीसम्म आइपुगेको समयको कथालाई देखाएको छ ।

‘एक्लो’ पढिरहँदा बेलाबेला मेरा आँखा रसाएका र ओठ हाँसेका साक्षी भए- सूर्यबहादुर, सिरी, समिरा, भीमसेन, आदि, टोप, घरबटी बा-आमा, निल, पर्शुराम सबै-सबै ।

‘एक्लो’ले दरबार हत्याकाण्ड, युद्धकालीन समय, त्यो बेलाका जनजीवनलाई मात्रै देखाएको छैन । मान्छेहरूका संवेदनाहरूलाई प्रतिबिम्बित गरेको छ । यसले उज्यालो गुमाइरहेका एक्लाहरूलाई हौसला, उर्जा, हिम्मत, साहस, बाटो दिएको/देखाएको पनि छ ।

 

‘एक्लो’लाई मैले कहिले बिहान, कहिले दिउँसो, कहिले राति पढेँ । कहिले ब्रेकफास्ट, कहिले लन्च, कहिले डिनर त कहिले डेजर्टको रूपमा लिएँ । तर पनि पढिसक्दा न मेरो भोक मर्‍यो न त प्यास । म झन् व्याकुल भएँ । म एक्लो र रित्तो भएँ ।

 

जो सँग केही, कोही छैन जो एक्लो छ त्योसँग आज स्मृतिहरू छन् र स्मृति भएकाहरू कहिल्यै एक्ला हुँदैनन् । ‘एक्लो’ अनुभवको, आत्मविश्वासको, आत्मग्लानीको, आत्मबोधको कथा हो ।

मलाई ‘एक्लो’ मन पर्‍यो ।

कुनै दिन म फेरि कलि क्याफे जानेछु समिरालाई खोज्दै !

अझैं लेख्न चाहेको थिएँ तर मेरा ‘शब्दहरू पुतली बने र उडे’ । मैले तिनीहरूलाई समात्न सकिनँ ।

‘एक्लो’ सकेपछि मैले बुद्धिसागरको यो कवितालाई एकदमै सम्झिएँ ।

हिँड्नुअघि’

के गरूँ यी ठाउँठाउँमा धब्बा बसेका

ढुसी गन्हाएका सिरक

छाला झैं जड्यौरी बनेका छन् ।

कता फालूँ यी टाँकघर उध्रिएका

रङ खुइलिएका सर्ट र पाइन्ट

सपना झैं साँघुरिएका छन् ।

के गरूँ भित्तामा झुन्डिएका

तहतह धमिला दिन भरिएका क्यालेन्डर

उमेर झैं पुराना भएका छन् ।

कता फालूँ, यी कुनामा थुपारिएका, धुलो भरिएका

अखबार र म्यागेजिन

स्मृति झैं च्यातिँदै गएका छन् ।

कसलाई दिऊँ, पलङमुन्तिर उल्टिएको

खिया भरिएको स्टोभ

यौवन झैं भर्भराउन छाडेको छ ।

कता मिल्काइदिऊँ, भर्खरै भेटिएका

अप्रकाशित कविताका पन्नाहरू

आत्माझैं टुक्राटुक्रा बनेका छन् ।

 

आज

साँझको मौका पारेर

वर्षौँसम्म गुम्सिएको जीवनको चिसो छिँडीबाट

सुटुक्क डेरा सर्नु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?