+
+
अनुभूति :

जब आफू चढेको जहाज हल्लिन थाल्यो

डा. अच्युतशाली घिमिरे डा. अच्युतशाली घिमिरे
२०७९ माघ २ गते १६:१८

स्वास्थ्यको आधारभूत तालिममा सहभागीको रुपमा धनगढी जानुपर्ने भएपछि कोल्टी बाजुराबाट तारा एयरको टिकट काटें । जहाज चढ्न उति डराउने मान्छे त होइन म । तर त्यस दिनको हवाई यात्राले मेरो मुटु थर्कमान बनाइरह्यो ।

तीन–चार दिनयता लगातार पानी परिरहेको थियो । मुसलधारे पानी । आसपासमा केही देखिंदैनथ्यो । जब जहाजले धवनमार्ग छाड्यो, खै किन हो मेरो हृदय चिसो भयो । अग्ला डाँडाहरु पार गर्दै जहाज कालो बादलभित्र छिर्‍यो । बादलसँगको घर्षणले गर्दा त्यो सानो जहाज हल्लिन थाल्यो ।

म सोचिरहेको थिएँ, यतिबेला कुनै अग्लो पहाडमा ठोक्कियो भने ? जहाजको इन्जिन खराब भयो भने ? कुनै भवितव्य आइपर्‍यो भने ?

जिन्दगीको के भर छ र ?

मैले इमर्जेन्सी ढोका हेरें । दायाँ–बायाँ टाउको घुमाएँ । आसपासका बुढाबुढीहरु ढुक्कले बसिरहेका थिए । म भने पसिनाले निथ्रुक्क भइसकेको थिएँ ।

डरको ब्यारोमिटर उकालो लाग्दालाग्दै जहाजले धावनमार्ग टेक्यो । र, त्यो आफ्नै गतिमा क्रमशः धर्तीमा अवतरण गर्‍यो । मैले फेरि सबैको अनुहार हेरें । विमान परिचारिका उही शान्त मुद्रामा मुस्कुराइरहेकी थिइन् । यात्रुहरु प्रसन्न देखिन्थे । म पो किन यति धेरै डराएँ ?

के म वास्तवमै काँतर छु ? के मलाई मृत्युसँग औधि डर लाग्दो हो ?

म कार्यरत कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विष खाएर आत्महत्याका प्रयास गरेका धेरै व्यक्ति ल्याइन्छन् । कतिपय गलपासो लगाएकाहरु पनि ल्याइन्छन् । यिनीहरुलाई देख्दा मेरो मनमा कम्पन पैदा हुन्छ, आखिर कस्तो वैराग्यले छोपेर मान्छे मृत्यु रोज्छन् होला ? किन मान्छेलाई जिन्दगी छोट्याउन हतार हुन्छ होला ? किन मान्छेलाई बाँच्न भन्दा मर्न सहज लाग्छ होला ?

खैर, निस्सार जिन्दगीमा सार खोज्न नसक्नु पनि एउटा भूल हो कि जस्तो लाग्छ । मलाई त मृत्यु शब्द नै भयंकर लाग्छ । मलामी र आर्यघाट सम्झँदा अत्यास लाग्छ । आर्यघाटबाट उठ्ने धुँवाको कालो मुस्लोले मलाई पीडावोध गराउँछ । म निस्सासिन्छु ।

अनि म त्यहाँबाट जतिसक्दो भाग्न खोज्छु । भाग्दै भाग्दै यस्तो ठाउँमा पुग्न चाहन्छु, जहाँ जिन्दगीको उत्सव मनाउनेहरुको भीड होस् । मलाई मृत्युको शोकधुन मन पर्दैन । मलाई उमंगको पाश्र्वधुन मन पर्छ । किनभने मलाई प्रकृतिको यो अमूल्य चोला सार्थक भोग गर्नुछ । जीवनलाई सुख र आनन्दसाथ बिताउनुछ ।

एउटा कहिले नसकिने दौड छ जिन्दगीको । जहाँ जितेर नै न केही पाइन्छ न हारेर नै केही पाइन्छ । मात्र शुभचिन्तकले ताली बजाउँछन् वा मन खिन्न पार्छन् ।

हाँस्ने, खेल्ने, रमाउने, काम गर्ने, साथ सहयोग गर्ने जीवन मलाई प्यारो छ । किनकि जीवन फेरि फेरि मिल्दैन ।

मान्छे मरेपछि के हुन्छ ? पुनर्जीवन कति सत्य छ ? भूतकालमा हामी के थियौं ? अर्को जुनीमा हामी के हुन्छौं ? यसप्रति मेरो खास सरोकार छैन । किनभने वर्तमानमा मलाई बाँच्नु छ । त्यसरी नै बाँच्नु छ, जसरी प्रकृतिले हाम्रो रचना गरेको छ । म जीवनमा पूर्णता खोज्छु । र, पूर्ण जीवन भोग गर्छु । थाहा छैन, भवितव्यले के गर्छ ?

मैले मान्छेको दुःख देखेको छु, अभाव देखेको छु, वेदना देखेको छु, विलौना देखेको छु । र, मान्छेको जिजीविषा देखेको छु । आखिर मान्छे जसरी पनि बाँच्न चाहन्छ । म त्यही मान्छेहरुको पंक्तिमा मिसिन चाहन्छु ।

म कुनै साधक होइन, चिन्तक होइन, ध्यानी र सन्त पनि होइन । तर मलाई जीवनको सारभूत अर्थ खोज्न मन लाग्छ । अनि मन लाग्छ जीवनलाई आफ्नै ढंगले बिताउन पनि ।

सुदूरपश्चिममा आएर केराको पातमा मार्सी चामलको खीर खान पाउनुको सौभाग्य लिन चाहन्छु । देउडाको भाकामा नाच्न चाहन्छु । यस्ता चाहना अनगिन्ती छन् । र, ती क्रमशः पुरा हुँदै जान्छ भन्ने मनोकांक्षा छ । म त्यो आशाको दियो बालिरहन चाहन्छु । किनभने उत्साह, खुसी र आशाले नै त हो हामीलाई बाँच्न सिकाउने । एक दिन मर्नु त छँदैछ । त्यो जीवनको एउटा विसर्जन हो ।

मलाई मान्छेहरुको मूल्य थाहा छ । मलाई जीवनको मूल्य थाहा छ । मलाई खुसीको मूल्य थाहा छ । सन्दुक रुइतले कुनै दृष्टिविहीनलाई दृष्टि दिलाउँदा उनको अनुहारमा देखिने खुसीको रंग मलाई मन पर्छ । महावीर पुनले कुनै नयाँ आविष्कार गरेपछि फेर्ने आनन्दको सासको अनुभूति गर्न चाहन्छु म । अमृत गुरुङले खेतका गह्रामा धान रोप्दै गर्दाको सुसेलीमा जीवन संगीतको धुन खोज्न चाहन्छु म । किनकि मलाई जीवनको सप्तरंगी संसार सयर गर्नुछ ।

एउटा कहिले नसकिने दौड छ जिन्दगीको । जहाँ जितेर नै न केही पाइन्छ न हारेर नै केही पाइन्छ । मात्र शुभचिन्तकले ताली बजाउँछन् वा मन खिन्न पार्छन् ।

आफ्नो हुने भनेको त समयको नष्ट मात्र हो । समय खोज्दै हिंड्नेहरुलाई जिन्दगी विरोधाभास लाग्न सक्छ । तर समय भनेको नै थाहा नभएकाहरुलाई यो स्वभाविक लाग्छ । जीवन यथार्थ बुझ्नेहरुलाई त ओहो यो त जादू नै हो जस्तो लाग्छ । एउटा अग्लो डाँडा उक्लिएपछि अर्को अग्लो डाँडा आउँछ आउँछ । तर के हामीले हाम्रो जिन्दगीमा आउने डाँडाहरुलाई अग्लो वा होचो भन्दा पनि बस् एउटा निरन्तरताको श्रृंखलाका रुपमा मात्र हेर्न सकेका छौं त ? एउटा गीत छ नि ‘कहाँ आउँछ घुमेर यो बालापनको उमेर’ जस्तै जिन्दगी पनि कहाँ फेरि घुमेर आउँछ र ? अनि फर्किएर नआउने जिन्दगीको कति प्रतिशत तपाईंले मस्तसँग बाँच्नुभयो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?