+
+

विमानस्थलको एलिभेटरमा अड्किएर लडेपछि उषा रजकले भनिन्- यात्रुलाई असुरक्षा भयो 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १७:५९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर आफू र छोरी लडेपछि अभिनेत्री तथा टीभी पर्सनालिटी उषा रजकले टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ । यो भिडियोले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु सुरक्षा र सहजतालाई लिएर बहस समेत छेडेको छ ।

सोमबार मध्यराति उक्त एलिभेटरमा अड्किएर आफू लगायतका केही यात्रु सानो दुर्घटनामा परेको भन्दै उषाले भिडियो पोस्ट गरेकी थिइन् । ट्रली र सुटकेसबीच थिचिएर आफूहरुलाई सानोतिनो चोटपटक लागेको समेत उषाले बताएकी छन् ।

‘अबदेखि यस्तो नहोस् भन्नलाई मैले के गर्नुपर्छ, सुझाव पाऊँ’ भन्दै भिडियो पोस्ट गरेकी छन् । आक्रोशित मुद्रामा प्रस्तुत भएकी उनले गलत इन्जिनियरिङको कारण दुर्घटनाको जोखिम बढेको र यात्रुलाई असुरक्षा भएको बताएकी छन् ।

उषाले भनेकी छन्, ‘यो एकदमै खतरनाक एलिभेटेर हो । यो डिजाइनिङ कसले गरेको हो । झण्डै ज्यान लिन लागेको थियो हाम्रो । झण्डै मेरो बच्चा किचेर मर्न लाग्यो । यो एकदम गलत हो । एकदमै करप्टेड । झण्डै खुट्टा भाँचिएको थियो हाम्रो ।’

उषाले यो भिडियो पोस्ट गरेपछि उनलाई समर्थन गर्नेहरुको ताँती लागेको छ । अभिनेत्री करिश्मा मानन्धरले उषाको भिडियो सेयर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा भएको गम्भीर त्रुटीलाई सच्याउनुपर्ने बताएकी छन् भने सम्बन्धित निकायको ध्यानाकर्षण होस् भनेकी छन् ।

उषाको उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अन्य यात्रु र सर्वसाधारणले पनि उक्त एलिभेटरका भिडियो सार्वजनिक गरेका छन्, जहाँ कतिपय यात्रु लडेको देख्न सकिन्छ । टाइमलाइनमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।

यसैबीच, त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कामको कुरा गर्दा अभिनेत्री रजकले कुसुमे रुमाल २, इकु, कथा, कठ्पुतली र वान डे फिल्ममा अभिनय गरेकी छन् । यसबाहेक उनी केही टेलिभिजन कार्यक्रम र रंगमञ्चमा समेत व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?